• २०७९ मंसिर २१ बुधबार

वरिष्ठ साहित्यकार कृष्ण गौतमलाई बीपी साहित्य सम्मान पुरस्कार प्रदान गरिने

काठमाडौं ।

जननायक बीपी कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष बीपी जयन्तीका अवसरमा बीपी साहित्य सम्मान पुरस्कार र बीपी सेनानी सम्मान पुरस्कार प्रदानगर्दै आएको छ । यस वर्षको बीपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार कृष्णप्रसाद गौतमलाई प्रदान गरिने भएको छ ।

भदौ २४ गते १०९ औँ बीपी जन्मजयन्तीका अवसरमा ट्रष्टले काठमाडौंमा विशेष समारोहको आयोजना गरेको छ । सोही समारोहमा यस वर्षको साहित्य सम्मान पुरस्कार- २०७९ वरिष्ठ साहित्यकार गौतमलाई प्रदानगर्न लागिएको हो । गौतमलाई प्रदान गरिने पुरस्कार राशि एक लाख एक हजार रहेको छ ।

ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्यहरू डा. धुब्रचन्द्र गौतम र सुशीलमान शेरचन समेतको सिफारिस समितिको सर्वसम्मतिबाट यो निर्णय गरिएको हो । त्यसरी, ट्रष्टले प्रतिवर्ष प्रदानगर्ने बीपी सेनानी सम्मान पुरस्कार-२०७९ यस वर्ष प्रजातन्त्र स्थापनाको संर्घषमा महत्त्वपूर्ण योगदान पुर्याउने ९१ वर्षीया श्रीमती शान्ति कार्कीलाई दिने निर्णय गरेको छ । पुरस्कारको राशि ५१ हजार रहेको छ ।

यसअघि विसं. २०७१ मा बीपी साहित्य सम्मान वरिष्ठ साहित्यकार स्व. रत्नशम्शेर थापा र बीपी सेनानी सम्मान पुरस्कार नृतन थपलिया, २०७२ मा साहित्यकार गोपाल पराजुली र सेनानी सम्मान स्व. तारानाथ कोइराला, २०७३ साहित्यकार भुवन ढुङ्गाना र सेनानी सम्मान श्यामलाल श्रेष्ठ, २०७४ मा साहित्यतर्फ प्रा.डा.अभि सुवेदी र सेनानी सम्मान दाङका तीर्थराज चैत, २०७५ मा साहित्यतर्फ रोचक घिमिरे र प्रजातन्त्र सेनानी सम्मान स्व. चक्रप्रसाद बास्तोला, २०७६ माबीपी साहित्य सम्मान तिलविक्रम नेवाङलाई (वैरागी काइँला) र प्रजातन्त्र सेनानी सम्मान मधुकान्त सिंहलाई प्रदान गरी सकिएको छ ।

यसैगरी, विसं. २०७७ सालको वरिष्ठ साहित्यकार तथा इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिएको थियो । यसैगरी, बीपी सेनानी सम्मान पुरस्कार- २०७७ प्रजातन्त्र स्थापनाको संर्घषमा महत्त्वपूर्ण योगदान पुर्याउने होमनाथ दाहाललाई प्रदान गरिएको थियो । त्यस्तै, विसं. २०७८ को साहित्य सम्मान कवि मदन रेग्मी र सेनानी सम्मान भक्तपुर जिल्लाका प्रजातन्त्र सेनानी तिलकप्रकाश कायस्थलाई प्रदान गरिसकेको छ ।