• २०८१ माघ २७ आइतबार

यस्तो किन हुन्छ

डिल्लीराम शर्मा संग्रौला

डिल्लीराम शर्मा संग्रौला

यस्तो किन हुन्छ कि
सफलता तिमी हासिल गर्छौ
तर आनन्दानुभूति मलाई हुन्छ ।

यस्तो किन हुन्छ कि
शिखर तिमी चढ्छौ
तर गौरवान्वित म हुन्छु ।

यस्तो किन हुन्छ कि
फाइदा तिमीलाई हुन्छ
तर हर्ष मलाई लाग्छ ।

यस्तो किन हुन्छ कि
प्रसिद्धि तिम्रो फैलिन्छ
गर्वले छाती मेरो फुल्छ ।

यस्तो किन हुन्छ कि
इज्जत तिम्रो बढ्छ
तर सन्तुष्टि मलाई मिल्छ ।

यस्तो किन हुन्छ कि
उपाधी तिमी चुम्छौ
तर गर्व मलाई लाग्छ ।

यस्तो किन हुन्छ कि
मान्छे तिमीसँग जल्छन्
तर पीडा मलाई हुन्छ ।

यस्तो किन हुन्छ कि
मान्छे तिमीलाई गाली गर्छन्
तर अपमान मलाई हुन्छ ।

यस्तो किन हुन्छ कि
मान्छे तिमीसँग झगड्छन्
तर रिस मलाई उठ्छ ।

सायद तिमी असल मान्छे भएर होला ।
सायद तिमीले मेरो मन छोएर होला ।
सायद तिमी न्यायप्रेमी भएर होला ।
सायद तिम्रो व्यवहार राम्रो लागेर होला ।
शायद तिम्रो सत्कर्मबाट प्रभावित भएर होला ।
सायद म प्रति तिम्रो सद्भाव भएर होला ।


डिल्लीराम शर्मा संग्रौला