• २०८१ माघ ९ बुधबार

आफ्नो खुशी अरूका लागि

ज्ञानेन्द्र विवश

ज्ञानेन्द्र विवश

जीवनका प्रत्येक पलहरूमा, हामीले खुशीको खोजी गर्छौं । तर खुशी के हो र कहाँ भेटिन्छ ? भन्ने प्रश्नले हामीलाई बारम्बार सोँच्न बाध्य बनाउँछ । के खुशी आफ्नै लागि मात्र सीमित हुन्छ वा अरूलाई खुशी दिएर पनि हामीले यसको सच्चा स्वरूप महसुस गर्न सक्छौं ? यही प्रश्नको उत्तर खोज्दै गर्दा, एउटा सत्यले हामीलाई झक्झक्याउँछ । त्यो हो, आफ्नो खुशी अरूका लागि बाँड्न सक्नु नै सच्चा सुख हो ।

खुशीको भावना व्यक्तिपिच्छे फरक हुन सक्छ । कसैका लागि ठूलो सम्पत्ति खुशीको कारक बन्न सक्छ । कसैका लागि सानो सहयोग नै अपार खुशीको स्रोत बन्न सक्छ । जे होस् खुशी बाँडेर मात्र यसको वास्तविक महत्व महसुस गर्न सकिन्छ । हामी आफ्नो साना–तिना इच्छाहरूलाई थाँती राखेर अरूको हितका लागि केही गर्छौं, तब त्यो क्षण विशेष बनिन्छ । खुशीको यो स्वरूप बजारबाट किनमेल गर्न सकिँदैन । कसैले उपहार स्वरूप दिएर हुँदैन । यो हाम्रो आन्तरिक भावना र परोपकारको अभिव्यक्तिमा निर्भर गर्छ ।

खुशी पाउने सन्दर्भमा जीवनका धेरै उदाहरणहरू छन् । मानिसले आफ्ना व्यक्तिगत स्वार्थलाई त्यागेर समाजलाई सुख र सन्तुष्टिको अनुभव दिलाएका छन् । त्याग र निःस्वार्थ सेवाको माध्यमबाट लाखौंको जीवनमा परिवर्तन ल्याउने समाजमा केही आदर्श व्यक्तिहरू हुन्छन् । त्यस्ता प्रेरणादायक व्यक्तित्वहरूले खुशी बाँड्नुको महत्वलाई समाज र देशदेखि संसारभरि फैलाउन सक्छन् । यस्तो भावना सिर्जना गर्न ठूला कार्यको आवश्यकता पर्दैन । दैनिक जीवनका साना कामहरूले पनि ठूलो प्रभाव पार्न सक्छ ।

हामीले देख्ने एक साधारण दृश्य–सडकमा भोकले छटपटाइरहेको बालकलाई एक टुक्रा रोटी दिने हातहरूको खुशी– यस्तो सानो कर्मले धेरै मनमा अमिट छाप छोड्न सक्छ । आफूसँग भएको समय, सम्पत्ति वा माया अरूसँग बाँड्दा त्यो खुशी दोगुना मात्र होइ कि चौगुना भएर हामीकहाँ फर्किन्छ ।

तर, यस्तो भावना जन्माउन, आफ्नै ईगो र स्वार्थलाई नियन्त्रण गर्नुपर्छ । मानिस अक्सर आफ्नै इच्छाहरूको परिधिभित्र सीमित रहन्छ । यस्तो सोचले खुशीको साँचो स्वरूपलाई ओझेलमा पार्छ । आत्मकेन्द्रित विचारधाराबाट मुक्त भएर, अरूलाई प्राथमिकता दिन सक्ने क्षमताको विकास गर्नुपर्छ । यसैले हाम्रो जीवनलाई अर्थपूर्ण बनाउँछ । हाम्रो संस्कृति र परम्परामा पनि अरूका लागि केही गर्न सिकाइन्छ । हाम्रो समाजमा सहयोग, सहकार्य र परोपकारको परम्परा लामो समयदेखि जरा गाडेर बसेको छ ।

सच्चा खुशी आफ्ना लागि मात्र सीमित रहँदैन । यो त त्यो प्रकाश हो, जसले अरूका जीवनमा उज्यालो ल्याउँछ । जब हामी आफ्नो खुशी अरूका लागि खर्च गर्न सिक्छौं, तब हाम्रो जीवनमा एक अद्भुत सन्तोषको अनुभूति हुन्छ । यही नै हाम्रो जीवनको सार हो– आफ्नो खुशी अरूका लागि बाँड्न सक्ने बानी । बाबु र आमाको पीडा बुझ्न बाआमा नै हुनुपर्छ । तर छोराछोरीको पीडा बुझ्न छोराछोरी नै हुनु पर्दैन । प्रेमीप्रेमिकाको माया भेट्न र खुशी साट्न प्रेमीप्रेमिका नै हुनु पर्दैन । कतिपय कुराहरू अनुभवले बताउँछ । व्यवहारले सिकाउँछ । पढाइले बताउँछ । घुमघामले सिकाउँछ ।

अभावको पीडा बुझ्न गरिब नै हुनुपर्छ भन्ने छैन । भोकको पीडा बुझ्न भोकोपेट वा मगन्ते नै बन्नुपर्छ भन्ने छैन । तथापि खुशीको अनुभव सङ्गाल्न, उमङ्गको उत्साहमा रमाउँन केही न केही त्याग गर्ने पर्छ । अलिकति खुशी भेट्नको लागि धेरै दुःख र संघर्ष त गर्नैपर्छ । उपलब्धि पाउन अनुभव सङ्गाल्न वा सन्तुष्टि भेट्नका लागि योगदान आवश्यक हुन्छ । त्याग गर्न सक्नुपर्छ । समर्पित मन हुनुपर्छ । दुःख दिनेहरूलाई सुख दिन सकियोस् । हाँसो दिनेहरूलाई जीवनभरिकै लागि हाँसो उपहार दिन सकियोस् । सुख दिनेहरूलाई दुःख दिन नपरोस् । रिस दिनेहरूलाई पनि हाँसो दिन सकियोस् । मन दुखाउनेहरूलाई मन रिझाउने उपाय अपनाउन सकियोस् । पीडा दिएर तड्पाउनेहरूलाई खुशीको सौजन्य–सौगात दिन पाइयोस् ।

बैगुनको बदला गुनले सन्तुष्टि दिन सकियोस् । गुनको बदला बैगुनी कदापि नभइयोस् । रिसको झटारो हानेर घाइते बनाउनेहरूलाई बदलाको भावले आगोको अगुल्टोले नहिर्काइयोस् । बरु सप्रेम मनको हार्दिकताले अँगालोभरिको खुशी दिन सकियोस् । अनुभवको उज्यालोबाट जीवनको पाठ सकिन्छ सकिन्छ । जीवनले अनौठा मोडहरू देखाउँछ । कहिलेकाहीँ सुखका रङ्गीन पलहरू छरिन्छन् । कहिलेकाहीँ दुःखका कालो बादलहरू मडारिन्छन् । यस्तो यात्रामा, कुनै दिनको एक क्षणले हाम्रो मनलाई जीवनभरिको लागि पाठ दिन सक्छ । यो लेख्दा मेरो जीवनको एउटा साधारण तर गहिरो अनुभूति सम्झिरहेको छु, जसले मलाई पीडाको गहिरो अर्थ, खुशीको सच्चा परिभाषा, र त्यागको मूल्य सिकायो ।

त्यस दिन हिउँदको चिसो बिहान थियो । चिसोले चिमोटेको शरीर लिएर म एक्लै चिया पसलमा उभिएको थिएँ । अगाडि एउटा वृद्ध व्यक्ति फुस्रो पुरानो टोपी लगाएर काम गरिरहेका थिए । उनको आँखा थाकेको थियो । तर मुस्कानमा कुनै कमी थिएन । उनी मेरा लागि चिया बनाउँदै थिए । मैले उनलाई नजिकबाट हेर्दा थाहा पाएँ– ती व्यक्ति जीवनका पीडाहरूलाई मुस्कानले जित्दै आफ्ना छोराछोरीको उज्ज्वल भविष्य बनाउने सपना देखिरहेका थिए ।

मेरा हातमा तातो चिया थियो । तर उनको हातमा कामको बोझ । म सोँचमग्न भएँ । के म वास्तवमै उनको पीडा बुझ्न सक्थें ? मैले पढेको ज्ञान र सुनेको सन्देशले त्यसको पूर्ति गथ्र्यो ? थाहा छैन । यद्यपि त्यो क्षणमा मैले महसुस गरेँ– मलाई गरिब बन्नु पर्दैन उनको अभाव बुझ्न । मलाई भोकमरीको कष्ट भोग्नु पर्दैन भोकको व्यथा बुझ्न । उनी मुस्कुराइरहेका थिए । तर त्यो मुस्कानभित्र दुःखको संसार लुकेको थियो । त्यही बेला मेरो छेउमा एउटा बालक आयो । जाडोको याममा फुस्रो कपडा लगाएर, चिसोले निधारमा पसिना बगाउँदै । उसले वृद्धलाई पैसा दियो र चिया माग्यो । वृद्धले उसलाई खुशीपूर्वक चिया दिए ।

यो यौटा सामान्य दृश्य हो । यो दृश्यले मेरो मनलाई हल्लाइदियो । एकजना व्यक्ति जसले पीडा पचाएर मुस्कान दिएको थियो । अर्को बालक उसले जीवनको अभावबीच खुशीको कण खोजिरहेको थियो । यी दुबै पात्रहरूले मलाई एकैसाथ दुःख र खुशीको गहिराइ बुझाए । म एकछिन भावक भएँ । यी दृश्यले म संवेदित बनेँ । म घर फर्कंदा, मनमा ती दृश्यहरू झल्झली आइरहेका थिए । मैले सोँचें– जीवनमा हामी धेरै चीज पाउन संघर्ष गर्छौं । तर खुशी भने हाम्रो आफ्नै दृष्टिकोणमा भर पर्छ । त्यो वृद्ध र बालकले त्याग र सहनशीलताबाट खुशी पाउने पाठ दिएका थिए ।

तत्क्षण मैले आफूलाई सोँधें, ‘के म अरूका लागि त्याग गर्न सक्छु ? के म आफ्ना रिस, पीडा, र बदला गर्ने भावनाहरूलाई प्रेममा रूपान्तरण गर्न सक्छु ?’ त्यस दिनदेखि मैले एउटा प्रतीज्ञा गरेँ– ‘जीवनमा मलाई जसले दुःख दिए पनि, म उनीहरूलाई खुशी दिन कोशिश गर्ने छु । जसले रिस देखाए, म प्रेमको हात फैलाउने छु । जसले पीडा दिए, म उनीहरूलाई शान्ति र खुशीको सन्देश दिन्छु । जो मसग अनायासै मन दुखाएर टाढिन्छन्, म उनीहरूसँग मैले कुनै गल्ती नगरे पनि क्षमाको भाव प्रकट गर्छु ।’

जीवनको अन्त्यमा हामीले भोगेका पीडाभन्दा अरूका लागि गरेको योगदानले हामीलाई सन्तुष्टि दिन्छ । ती वृद्ध र बालक मेरा लागि पाठ बने । कसैको चित्त दुखाउनु, कसैको खुशी खोसिदिनु अथवा कुनै मानिसको मनमा चोट पुरयाउनु भनेको खुशीलाई मेटाउनु हो । हामीले यस्तो खुशी मेटिने काम नगरौं । बरु खुशी भेटिने काममा सधैं संलग्न रहौं ।

यो सामान्य परिदृश्यले मैले बोध गर्न सकेँ कि ‘जीवनमा खुशी अनुभूतिका लागि केवल आँखाले देखिने उपलब्धि होइन, मनको समर्पण पनि चाहिन्छ ।’
यसरी, अनुभव र व्यवहारका सरल पाठहरूले जीवनलाई अद्वितीय बनाउँन सक्ने रहेछ । आखिर खुशीको स्रोत त्यही त हो–अरूका लागि समर्पण, आफ्नो खुशी अरूका लागि र आफूभित्र शान्तिको उज्यालो ज्योति छर्नलाई हुने छ ।


ज्ञानेन्द्र विवश