कविता-हिन्दी

आमा !
सुन्न चाहन्नँ म
तिमीले नारी भएर भोगेका
अनगिन्ति विभेदहरू
शोषणले दबाएका क्रन्दनहरू
सहनै सक्दिनँ म
नेपथ्यका चित्कार
नारी र पुरुषबीचका
असङ्ख्य विभेदहरू
म भोग्न सक्दिनँ
नारी हुनुमै
दमन थिचोमिचो
बाँधिन सक्दिनँ निरङ्कुश बन्धनमा
हेर्न सक्दिनँ,
विकृत मनस्थितिमा बाँचेका
आफ्नै छोरीमाथि
कुदृष्टि राखने बाबुहरू
विद्रोही हुँ संस्कारको
जसले नारीलाई बोक्सी मान्छ र
चोखिएको अभिनय गर्दै
असामाजिक बुजुर्गहरु
आफ्नै घरका
छोराछोरीमाझ विभेद गर्छन्
स्वीकार छैन मलाई
युवती बन्न नपाउँदै
आमा बन्न विवश चेपाङे युवतीका पीडाहरू
उपचार गर्दा जित्न सक्ने हजारौँहजार
जनकलाका दुःखद मृत्युहरू
म
बन्न सकूँ
समाज बदल्ने अभिभारा
छोरीको चेतना
नयाँ युगको आवश्यकता
विचारको क्रान्ति गर्दै
निर्बाध आफू बाँच्ने सग्लो आकाश
आफैँले उघार्न सकूँ
अगुवाइको मसा ले नयाँ युग जन्माउँदै
विभेदको विरुद्ध आफैँ बल्न सकूँ