विश्वव्यापी गजल प्रतियोगिताको लागि मोती पाठशालाले गजल आव्हान गरेको छ । नेपाली वाङमयको लोकप्रिय विधा गजलको उन्नयन र पूर्णताको निमित्त समर्पित ”मोती पाठशाला”ले ‘मोती गजल प्रतियोगिता २०८१’गर्नेभएको हो । पाठशालाले देश–विदेशमा रहनुभएका सबै गजल स्रष्टा साधकहरूलाई सहभागिताका लागि आह्वान गरेको हो ।
प्रतियोगिताका विजेताहरूले पुरस्कारका रूपमा पहिलो, दोस्रो र तेस्रोलाइ क्रमशस १५ हजार ५ सय ५५, रु ८ हजार ८ सय ८८, र ५ हजार ५ सय ५५ नगद पुरस्कार दिने जनाइएको छ । त्यसैगरि सान्त्वना पुरस्कारका रूपमा दुई जनालाई ३ हजार ३ सय ३३ प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन प्रतियोगीहरूले निम्न नियम पालना गर्नुपर्ने जनाइएको छ ।
१. प्रतियोगितामा सहभागी हुन चाहनुहुने गजलकारहरूले गजलको साथमा आफ्नो पूरा नाम, ठेगाना र सम्पर्क नम्बर उल्लेख गरी २०८१ माघ १५ गतेसम्म निम्नलिखित ई–मेल ठेगाना [email protected] मा पठाइसक्नुपर्नेछ। गजल पठाउँदा गजलको साथमा कुनै पनि भूमिका, आग्रह तथा अनुरोध समावेश पाइने छैन ।
२. प्रतियोगी गजल शुद्ध नेपाली भाषा ‘देवनागरी लिपि’मा टाइप गरिएको कम्तिमा ५ शेर र बढीमा ७ शेर ‘मतला सहित’ को हुनुपर्नेछ । कुनै पनि शेरमा गजलकारको नाम तथा तखल्लुस् प्रयोग गर्न पाइने छैन ।
३. गजल पूर्णतः मौलिक, कुनै पनि छापा तथा अन्य कुनै माध्यमबाट प्रकाशित÷प्रसारित नभएको, कुनै पनि प्रतियोगितामा सहभागी नभएको हुनुपर्नेछ । प्रतियोगी गजलको कुनै अंश वा पूरा भाग चोरिएको, छापिएको, प्रसारित भएको वा अन्य कुनै पनि प्रतियोगितामा सहभागी भएको पाइएमा यस प्रतियोगिताका लागि अयोग्य मानिनेछ । विजयी गजलमा यसप्रकारको दाबी विरोध भई त्यसको पुष्टि भएमा उक्त गजललाई खारेज गरी उत्कृष्टता क्रमको अर्को गजल विजयी मानिनेछ ।
४. बुँदा नम्बर १ मा दिइएको ठेगानामा प्राप्त भएका गजलहरू मात्रै प्रतियोगी गजल मानिनेछन् । एकजना प्रतियोगीले एउटा मात्र गजल पठाउनुपर्नेछ । एउटै गजलकारको एक भन्दा बढी गजल सहभागिताका लागि प्राप्त भएमा पहिलोपटक प्राप्त एउटा गजललाई मात्र प्रतियोगी गजल मानिनेछ ।
५. गजल मूल्याङ्कनका आधार विचार, शिल्प, शैली, व्याकरण र भाषा हुनेछन् । गजलका सबै आधारभूत मर्यादाहरूको पालना गरी रचना गरिएको एउटा पूर्ण गजलमात्र प्रतियोगिताको लागि योग्य मानिनेछ ।
६. गजल मूल्याङ्कनका लागि ३ जना गजल मर्मज्ञ निर्णायकहरूको गोप्य निर्णायक समिति रहनेछ । निर्णायक समितिको निर्णय नै अन्तिम निर्णय मानिनेछ । माथि ३ नं बुँदा सित सम्बन्धित विषय बाहेक निर्णायक समितिको निर्णयमाथि अन्य कुनै पनि खालका दाबी विरोध वा उजुरी लाग्ने छैन ।
७. ‘मोती पाठशाला’ व्यवस्थापन समितिका सदस्यहरू बाहेक विश्वको जुनसुकै देश तथा क्षेत्रमा रहनुभएका इच्छुक नेपाली भाषी गजलकारहरूले प्रतियोगितामा सहभागिता जनाउन पाउनुहुनेछ ।
प्रतियोगिताको नतिजा २०८१ फाल्गुन ५ गतेका दिन उत्कृष्ट ५ गजलहरू सहित साहित्यपोस्टमार्फत सार्वजनिक गरिनेछ ।