• २०८१ माघ ९ बुधबार

राम्रै राम्रो !

धनराज गिरी

धनराज गिरी

बा, यहाँ पनि साहित्यिक माहौल छ, जानुपर्छ । तर…जेठी छोरी करुणा प्रेमोपाध्यायको सङ्केत । हा हा हा, हे मेरी सुपुत्री, लगाम हो यो तर ! हेर, मैले यता आउने भनेपछि नै आफू नयाँ गौतम बुद्ध बन्ने अठोट गरेको छु, स्वमानको मूल्य थाहा छ, वास्तवमा म त्यति खतरनाक बौद्धिक पनि होइन, सर आएपछि रमाइलो हुन्छ, यहीँ भनाइले मलाई अलि बढी बहिर्मुखी बनाएको हो । पीर नमान्नू ! तर … हा हा हा ! बा समझदार र विवेकी हुनुहुन्छ, सकियो । भाइले पनि भनेको थियो, सिड्नी र क्यानबेरामा बा रौनके महेफिल हुनुभयो ! इतिहास दोहोरिने पक्का, विना धक्का ! छोरी ।

आयो डिसेम्बर सात, समयमा आउनुभयो देवी लीना मानन्धरजी, लिन । प्रोफेसर हितेश्वर आशुतोष सरीश्री प्रतीक्षामा । कान्छी छोरी कल्याणी रूपोपाध्याय टिकटकेश्वरीको निवासबाट, सवा दुईमा । सबै नयाँ । भलाद्मी बन्यो, हो नै । मर्यादा र अनुशासनको पाठ पढाएको एक गुरु, गोरु होइन । विमानकाजी सेना, अति प्रशन्न । अरू सबै नयाँ । छोरीहरू र दामादश्रीहरूको भाया परिचय भयो । गौरवको कुरा । नारायणगोपाल, नारायणगोपाल । पालो आयो । हजुरहरू सबैलाई नमन । म हजुरहरूलाई चिन्दिन, हजुरहरू मलाई चिन्नुहुन्न । आहा, यो हो आनन्द, आज सबै राम्रै राम्रो यत्ति हो, मनमनै बोट यस्तो, तब न फलहरू सुन्दर र उत्तम ! यो भावना मनमा आयो होला । म भलाद्मी देखिएको मात्र, बकबके, नेपालमा । यहाँ केही बेर बोलिन । देखिने भलाद्मी, वास्तवमा भलाद्मी नहुन पनि सक्छ । समय कम छ । आजै बदनाम हुन चाहन्न । नाम भएपछि बदनाम हुने पक्का, यो नियम हो जीवनको । त्यसपछि सुनायो कविता । राम्रै राम्रो ! ताली, पररररर ।

धीत मरेन, हजुरको एकल साँझ हुन्छ ! पाका, यहाँका साहित्यिक पितामह । म आएको छु, मनोज गजुरेलको काका, ताली माग्दैन, केही माग्दैन, अनुरोध गरे ठूलो मान्छे बन्दैन ! राम्रै,राम्रो ! यसरी राम्रै राम्रो विम्व बोकेर प्रोफेसर घर ल्याइयो । सोच्यो, राम्रै, राम्रो हुन, वास्तवमा अति चिनिन हुन्न । नयाँ नयाँ अनुहारहरू, दोहोरो आनन्द ! बा, कमाल गर्नुभएछ त ! कान्छी छोरी । राम्रै राम्रो ! प्रोफेसर । अँ त नि, रमाइलो गर्नुपर्छ । राम्रै राम्रो । मनमा एउटा कुरा आयो प्रोफेसरको, मन पवित्र राखे, वास्तवमा जहाँ पनि राम्रो ! राम्रै राम्रो ! सम्झियो नेपाल र आफ्नो केन्द्र, गम्भीरध्वज नन्दनलाई ! दाजी, कन्ट्रोल, राम्रै राम्रो ! अनुज आलोकनाथ गोर्खालीले कानमा साउती मारेजस्तो लाग्यो ।


धनराज गिरी