• २०८१ श्रावाण ११ शुक्रबार

तिम्रो स्पर्श

दिनेश अधिकारी

दिनेश अधिकारी

एकैछिन् अगाडिसम्म
शान्त थियो फूलको बगैंचा
रूखको पात र हावाको पद्चाप
एकाएक अहिले
सुसेली काढ्न थालेको छ बताशले
र, कम्मर मर्काउँदै
नाच्न थालेका छन्
रूखको पातसंगै फूलका थुँगाहरू

भर्खरै
भुर्रर उडेर
बताशसँग बहकिन गयो गुँडको गौंथली
र, छिन् मै रूप बदलेर
आकाशले खेल्न थालेको छ
पानीको फिरफिरी

म देखीरहेको छैन यहाँबाट
तर अंदाज छ
पक्कै पनि गीत गाउँदै गरेको हुनुपर्छ खोलाले
र, डुबुल्की मार्दै रमाई रहेको हुनुपर्छ जलचर
बजेको हुनु पर्छ मंदिर–मन्दिरमा घण्ट
र, सिंदूरे रङ्गमा बदलिएको हुनुपर्छ
हिमालको सेतो अनुहार

के तिमीलाई थाहा छ –
यो सब किन एकाएक यस्तो भईरहेछ ?
छैन भने बुझिराख !
तिमी अत्यन्तै शक्तिशाली छौ मेरी प्रियतमा !
( शायद तिमीलाई यसको अंदाज छैन )
तिम्रो एउटै स्पर्शले
सधैँ –सधैँ मेरो धरती
यसरी नै डगमगाउने गरेको छ
सधैँ –सधैँ मेरो आकाश
यसरी नै थरथराउने गरेको छ ।


दिनेश अधिकारी
[email protected]