• २०८१ माघ ९ बुधबार

किन दुख्छ-प्रेम गर्ने मानिसहरूको मन ?

ईश्वर पोखरेल

ईश्वर पोखरेल

‘लभम्यारिज हो- दिलिपसंग मेरो । पहिले लभ अनि म्यारिज ।’ सरलाले भनी ।
‘एकल महिला समूह’ले हाम्रो नगरमा आयोजना गरेको थियो- ‘किन दुख्छ-प्रेम गर्ने मानिसहरूको मन ?’ शीर्षकको गोष्ठी । यही गोष्ठीमा आफ्नो अनुभव सेयर गर्दै थिई- सरला । ‘एउटै कलेजमा पढेका हौं- हामी । उसैले राखेको हो- प्रेम प्रस्ताव । लगभग तीन वर्षजति रह्यौं- हामी प्रेमसम्बन्धमा । अनि मन्दिरमा म्यारिज गर्यौं ।’ सरलाले आफ्नो विगतलाई संझिई ।

‘दिलिप मेरो साथी थियो । म्यारिजपछि भने ऊ साथी रहेन; लोग्ने भयो । साथी हुँदा ऊ जति सरल थियो; लोग्ने भएपछि त्यत्तिक्कै जटिल भयो । साथी हुँदा हामी एउटै धरातलमा थियौं; लोग्ने भएपछि ऊ शासक भयो र म शासित ।…’ सरला बोल्दाबोल्दै रोकिई । ‘ऊ फेरि साथी होला भनेर मैले सात वर्ष पर्खिएँ । मैले उसलाई साथीको रूपमा पाउनै सकिनँ । अनि पारपाचुके भयो ।’ सरलाले स्पष्ट पारी ।

‘दिलिपले मलाई साथी हुन उक्सायो र मालिकमा रूपान्तरण भयो । यो रूपान्तरण धोका हो । दिलिपहरू सरलाहरूलाई सधैं धोका दिदैं आएका छन् ।’ सरलाले गम्भीर आरोप लगाई । ‘हाम्रो सम्बन्ध बिहेपछि बिग्रिदैआयो । कहिलेकाँही सोच्छु- बिहे नगरेको भए अहिले पनि म दिलिपसंगै हुन्थे कि !’ सरलाले विवाहलाई एक जटिल प्रश्नका रूपमा उभ्याएर आफ्नो कथन टुंग्याई । हाम्रो पनि लभम्यारिजै हो । मेरो सामु पनि आत्ममूल्याङ्कनको पाठ दिएर गई- सरला ।


ईश्वर पोखरेल