काठमाडौँ ।
आख्यानकार प्रकाश तिवारीको औपन्यासिक कृति ‘(६ गड्डी’ माथि विमर्श गरिएको छ । पुतली सडकमा मङ्सिर ८ मा आयोजित एक कार्यक्रममा साहित्यिक समूह ‘कलमको साथी’ ले उनको कृतिमाथि विमर्श गरेको थियो ।
कार्यक्रममा रेडियोकर्मी हेम भण्डारीले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा कवि एवम् समीक्षक भारती न्यौपाने र आख्यानकार एवम् समीक्षक अनिता कोइराला तिवारीको कृतिमाथि बोलेका थिए ।
निजामती पृष्ठभूमिका लेखकले आफ्नो नयाँ कृतिमा निजामती क्षेत्र, प्रशासनका विकृति चिरेको न्यौपानेले बताएकी छिन् । यसमा तिवारीले महिला कति सशक्त हुन सक्छ भन्ने देखाएको पनि उनले बताइन् । सङ्गत र परिस्थितिले मान्छे कसरी घुसखोरी बन्छ ? भन्ने चित्रण गर्ने क्रममा लेखकले पैसा हुने र नहुनेबिच समाज अनि आफन्तले गर्ने भिन्न भिन्न व्यवहार पनि छर्लङ्ग पारेको न्यौपानेले बताइन् । समाजमा छरिएका कयौँ विषयलाई उपन्यासले सम्बोधन गर्ने प्रयास गरेको उनको भनाइ थियो ।
उपन्यास हाम्रो प्रशासन भित्र के छ ? भन्ने जवाफ भएको वक्ता अनिता कोइरालाले बताइन् । उपन्यासले सरकारी जागिरमा छिरेपछि किन सबै जना भ्रष्टाचारको जालोमा फस्छन् भन्ने उत्तर दिएको उनी बताउँछिन् । व्यक्ति कर्मचारी मात्रै दोषी छैन । हामी सबै यसमा उत्तिकै दोषी भएको उनको भनाइ छ । उपन्यासले घुस खान विवश कर्मचारीको स्थिति चित्रण गरेको, महिलाको वस्तुकरण कसरी हुन्छ भन्ने देखाएको पनि उनले बताइन् । विमर्शमा सुधा मैनालीले कृतिमाथि पाठक प्रतिक्रिया दिएकी थिइन् । पैरवी बुक हाउसले निकालेको यो कृतिको मूल्य ५०५ रुपैयाँ रहेको छ । यो तिवारीको चौथो कृति हो । यसअघि पाठकसामु उनले ‘परित्यक्त’, ‘निलोफर’ र ‘निहारिका’ गरी तीन उपन्यास ल्याइसकेका छन् ।