काठमाडौँ ।
नेपाल प्रज्ञाप्रतिष्ठानको ६६औँ वार्षिकोत्सवमा आयोजित राष्ट्रिय कविता महोत्सव- २०८० सम्पन्न भएको छ । महोत्सवमा १० जना कविका रचना उत्कृष्ट रहेको घोषणा गरिएको छ ।
प्रतिष्ठानले ‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने नारासहित मुलुकमा बोलिने जुनसुकै मातृभाषामा नेपाली अनुवादसहित रचना आह्वान गरेको थियो । जसअनुसार तोकिएको म्यादभित्र ६ सय ४४ कविले भाग लिएका थिए । तीमध्ये २५ कविले शनिबार आयोजित कविता महोत्सवमा नेपाली, लिम्बू, डोटेली, खाम मगर, नेपालभाषा, चाम्लिङ र थामी मातृभाषाका कविता वाचन गरेका थिए । वाचितमध्ये १० जनालाई उत्कृष्ट घोषणा गरिएको हो ।
१० उत्कृष्टमध्ये नेपाली भाषातर्फ उमेश पुन, कृपाकरुणा पोखरेल, जीवन आरोही, तीर्थराज विश्वकर्मा, नवीन अभिलाषी, प्रकाश दिप्साली राई र राधिका कल्पित छन् । यसैगरी डोटेली भाषातर्फ खिमानन्द जोशी र पूर्णानन्द ओझा तथा खाम मगर भाषातर्फ टङ्कबहादुर झाँक्री मगर (समीप बैरागी) उत्कृष्ट भएको सदस्यसचिव धनप्रसाद सुवेदीले विज्ञप्तिमा जनाएका छन् । उत्कृष्ट १० कविलाई जनही २० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिष्ठानको ६६औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव–२०८० को उद्घाटन गर्दै नेपाली समाजका सूक्ष्म तहमा जरा गाडेर बसेको सामन्तवादी संस्कृति र सुनामीजस्तै बनेर आइरहेको भूमण्डलीकृत उत्तरआधुनिक संस्कृतिको प्रतिरोध गर्न सक्नुपर्ने बताएका थिए । ‘संघीय, समानुपातिक, गणतान्त्रिक युगअनुकूलको संस्कृतिको निर्माण आजको मुख्य दायित्व हो,’ प्रधानमन्त्री दाहालले भने ।
संस्कृतिमन्त्री सुदन किरातीले देश भाषा, साहित्य, संस्कृति र कलाका दृष्टिकोणले समृद्धिको जग थप बसाल्न सक्ने सम्भावना रहेको र यसलाई विश्वभरि पु¥याउन सक्नुपर्ने बताए । प्रतिष्ठानका कुलपति भूपाल राईले यसअघि नेपाली भाषामा मात्र राष्ट्रिय कविता महोत्सव गर्ने परम्परा तोड्दै समावेशी सहभागितमूलक सिद्धान्तका आधारमा नयाँ परम्पराको थालनी गरेको बताए । महोत्सवको कविता मूल्याङ्कन समितिमा कविहरू प्रतिसरा साय्मि, रमण घिमिरे, दीपक सापकोटा, हाङयुग अज्ञात र प्रथा रहेका थिए ।