दूर देशबाट आमा भेट्न जाँदा,
यसपाला, कतै देखिनँ मैले आमालाई
आमाकै जस्तो ढाड कुप्री
ढल्न तयार घर,
आँगन, तुलसीको मठ, कल, दरबज्जा,
गर्मीमा पनि शीतल पूर्बैया चल्ने,
उनकै प्रिय गल्ली,
बरन्डा, खरिहान, गाईगोठ, बारीझारी, परेवाको खोप
सबै यथावत्, यथास्थानमा छन्
अहँ, आमा कतै छैनन् !
कहीँ पनि पो छैनन् !
पीडा मिश्रित अपसोचमा
किंकर्तव्यविमूढ थचक्क बसेँ
उनी सुत्ने धुलौटे भुइँखाटमा
बल्ल बग्न थालिन् आमा
आँखाबाट
अविरल, एकतमास, अनियन्त्रित
मडहा खोलामा बेमौसम आएको बाढीजस्तो
र, आँसुका भेलसँगै तैरिँदै आए
उनीसँगका मीठा पलहरू
अजीर्ण खाएर पखाला लागेको बेला
मध्यरातसम्मको बुहार्तन सकेर
सुत्न लाग्दा सताएको रात
जाडोमा पटपटी फुटेका मेरा गालामा
ताजा मोही पार्दाको चिर्चिर पोल्ने
नौनी दलिएका हात
स्कुलबाट फर्किंदा नुन, प्याज, करुवा तेल हालेर
उनले गजगजी मुछेको
जिब्रोमै झुन्डिएको बसिया भात
आमा कहाँ छौ तिमी ?
अब, न त्यो रात छ
न त तिम्रो हात छ
न कतै स्वादिलो भात छ
आमा !
अब तिमी स्मृति भयौ
तिम्रो त्यही स्मृतिमा रुमल्लिँदै
भित्तामा टाँगिएको
तिम्रो श्याम–श्वेत तस्बिर हेरिरहेछु
तर प्रस्ट देख्न सकिरहेको छैन
आँखाका डिलडिलबाट आँसुको बाढी मडारिएर
सारा दृश्य धूमिल भएका छन्
आमा !
यतिखेर म तिम्रो तस्बिर पनि
प्रस्ट देख्न नसक्ने भएको छ