• २०८१ माघ ९ बुधबार

स्रष्टा कुमार काफ्लेको सपना कतिपय को परिचर्चा सम्पन्न

सिर्जना अभियान समाज भक्तपुरको आयोजनामा कथाकार कुमार काफ्लेको लघुकथा कृति सपना कतिपय माथि परिचर्चा सम्पन्न भयो । कार्यक्रममा कृतिभित्र सङ्गृहीत चवन्नवटा लघुकथाहरू, लघुकथाका विषय र विशेषतामाथि समीक्षक तथा सर्जक डा. हरिप्रसाद भण्डारी, डा. विदुर चालिसे, दीपक लोहनी, डा. हिम लाल श्रेष्ठ र इन्दिरा चापागाईंले विविध दृष्टिकोणले चर्चा गर्नुभयो ।

कृति विमर्शका प्रमुख वक्ता डा. हरिप्रसाद भण्डारीले स्रष्टा कुमार काफ्लेको सिर्जनात्मक व्यक्तित्व र सपना कतिपय भित्र रहेका लघुकथाहरूहरूको कथानक, प्रस्तुति, उद्देश्य र सन्देशको बारेमा स्पष्ट पार्दै कुमार काफ्लेले लघुकथामार्फत प्रगतिशील विचारलाई मुखरित गरेको विषय सविस्तार चर्चा गर्नुभएको थियो । डा. विदुर चालिसेले पुर्णप्रसाद ब्राह्मणको झिल्का लघुकथासङ्ग्रहमा रहेका लघुकथाको स्मरण गर्दै कुमार काफ्लेले विविध विषयमा सकारात्मक भावका लघुकथा सिर्जना गरेको बताउनुभयो ।

लघुकथा समीक्षक दीपक लोहनीले कथायात्री कुमार काफ्लेका लघुकथाले नवीन समालोचनाको माग गर्ने कुराको सप्रसङ्ग विस्तारमा बताउनुभयो । कुमार काफ्लेले विविध विषयमा लघुकथा, कथा सिर्जना गर्ने गरेको भएपनि प्रेम, प्रणय र यौनमनोविज्ञान विषयक लघुकथा बेजोड रहेका उदाहरणसहित स्पष्ट पार्नुभएको थियो । त्यसैगरी डा. हिम लाल श्रेष्ठ र इन्दिरा चापागाईंले सपना कतिपय भित्र रहेका लघुकथाको सबल र दुर्वल पक्षहरूको विवेचना गर्नुभएको थियो ।

सपना कतिपय का सर्जक कुमार काफ्लेले आफ्नो लेखनयात्रा र लघुकथा सिर्जनाको बारेमा आफ्नो भनाइ राख्नुभयो । अन्तमा सिर्जना अभियान समाजका सचिव ध्रुव मधिकर्मीले नेपाली साहित्यमा सपना कतिपय लघुकथा सङ्ग्रह आउनु खुसीको कुरा हो भन्दै स्रष्टा कुमार काफ्लेलाई शुभकामना तथा बधाई दिनुभएको थियो । सिर्जना अभियान समाजको तर्फबाट कथाकार ध्रुव मधिकर्मीले कथाकार कुमार काफ्लेलाई सपना कतिपय कृतिको सफलताको कामना गर्दै प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।