उसले म कविता हुँ भन्दै
परिचय दियो ।
कहाँ को कविता ?
कुन कविता ?
चिन्नु भएन उहि कविता
जहाँ कविले गुथेका शब्द थिए
जहाँ कविको मुक्त भाव थियो
नवरसलाई पनि कहीं कतै
छोएकै हुन्छ
त्यही कविता हुँ ।
मेरो नाम कविता हो
काव्य्पुर स्थायी ठेगाना हो
गद्य, पद्य थर हुन
गीत, गजल, मुक्तक, हाइकु साथी हुन
साहित्य गोत्र हो
काव्य ,महाकाव्य, फुटकर त्रिप्रवर हुन ।
उहिले देखि
मन मस्तिष्कमा रहन्छु
भावको नदी प्रवाह हुन्छ
छन्द, अलंकार, स्वछन्द
विभिन्न रुप आकार प्रस्तुत हुने
म कविता हुँ ।
मेरा लागि
गाह्रो साह्रो केही हुँदैन
राम्रो नराम्रो पनि हुँदैन
आफ्नो बिरानो
प्रत्यक्ष परोक्ष पनि हुँदैन
स्थुल अनि भावात्म सुष्म पनि छैन
सरल,जटिल भन्ने हुदैन
सबै ग्राह्य र मान्य हुन्छ ।
प्रिय छु धेरैका लागि
हरेकमा छु
जो मलाई मन पराउँदैनन्
मेरो आलोचना गर्छन्
तिनीहरूलाई मन पराउँछु
तिनकै नजिक हुन्छु
मन पराउनेसंग हृदय देखिनै
जोडिएको हुन्छु ।
धेरैले शस्त्र,अस्त्रका रूपमा
प्रयोग गर्छन्
व्यंग्यवाण प्रहार गर्दछन्
मन्त्र साधना गर्छन्
सिद्धी प्राप्त गर्छन्
मन्त्र योग, लय योग, हठ योग, राज योगमा
मेरै सहारामा साधना गर्छन् ।
चाहे इतिहास होस्
चाहे यात्रा वर्णन
चाहे जीवनी
चाहे कथाको सुन्दर वर्णन
मेरै भर पर्छन ।
म त्यही कविता हुँ
जसमा वाल्मीकि ऋषिले रामायण लेखे
ब्यास ऋषिले वेद, पुराण, उपनिषद्
महाभारत लेखे
मन्त्रद्रष्टा ऋषिले मन्त्र बनाए
आकाशका शब्द सापटी लिएर
छन्द भरे
नवरस खोजे
भाव देखे
कवितामा कथा लेखे
इतिहास लेखे
जीवनी लेखे
स्थान परिचय
यात्रास्मरण लेखे
जे देखे त्यही लेखे
जे सोचे त्यही लेखे
जे सुने त्यही लेखे ।
मेरो स्वरुप र बान्की देखेर
हिसी गर्छन
भाव बुझेर नतमस्तक हुन्छन
रसमा डुब्दछन
लय हाल्दै चैतको चङ्गा
उडाउछन्
महाभारत र रामायण होउन्
इलियड र ओडेसी होउन्
ईन्द्रको दरबारमा गाइने
गन्धर्व गीत होस
यतिमात्र होइन
चरीको चिरविर
माहुरीको भुनभुन
मेरै आकृति र प्रकृति हो ।
हो म त्यही कविता हुँ ।
कैलासकुमार पाण्डेय
परशुराम, ५ डडेलधुरा