समाचार

उत्साहको लिङ्गेपिङ खेल्दै
मालसिरीको मिठो धुनसँगै
आउँछ दशैँ
जमराझैं उमारेर खुसी
पखेटा लागेर उडेका बचेराहरू
फर्किन्छ्न् आआफ्ना गुँड
बर्सौंदेखि उजाड उदास
देउराली र भञ्ज्याङहरूमा
फुल्छ्न् उल्लासका फूल
जसको मिठो सुवास र अनुपम सौन्दर्यले
सुवासित हुन्छ गाउँ
केही समय छरिएका मनहरू
माला बनेर उनिने संस्कृति र परम्पराको
नवीकरण गरेर
अनुभूत गर्छौ
न्यानो पारिवारिक सामीप्य
निधारमा टाँसेर राता टीका
थाप्छौं आशीर्वाद
केही क्षण पाहुनाजस्तै टुप्लुक्क आएको दशैं
थाहै नपाई खुसुक्क गएपछि
फेरि हराउँछ खुसी
फेरि रित्तिन्छ गाउँ
क्षणिक खुसी बोकेका कलेटी परेका ओठ र
आँखामा
बिछोडको पीडा थपेर
रित्तिन्छ घर
त्यति बेला यस्तो लाग्छ
न आइदिए हुन्थ्यो यो दशैँ
आए पनि नखोसी दिएहुन्थ्यो
फर्किएको खुसी ।
तारा सुवेदी