• २०८१ भाद्र २४ सोमबार

छ स्रष्टा पुरस्कृत

२४ जेठ काठमाडौँ

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले सङ्गीत तथा नाट्य क्षेत्रका छ जना स्रष्टाहरूलाई ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा–पुरस्कार–२०७८’ प्रदान गरेको छ ।
सोमबार प्रतिष्ठानद्वारा राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्रष्टा सर्जकहरुलाई पुरस्कार समर्पण गरिन् ।

पुरस्कृत हुनेहरूमा वरिष्ठ रङ्गकर्मी ऋद्धिचरण श्रेष्ठ, वरिष्ठ जलतरङ्ग वादक मोहनप्रसाद जोशी, वरिष्ठ नृत्यनिर्देशक वीणा राजभण्डारी जोशी, वरिष्ठ नाट्यकर्मी मनबहादुर मुखिया, वरिष्ठ सङ्गीतज्ञ मोहनकृष्ण कार्की ढली तथा वरिष्ठ लोकसङगीतज्ञ अमर विरही गुरुङ छन् । पुरस्कृतहरू प्रत्येकलाई एक लाख एक रुपैयाँसहित ताम्रपत्रद्वारा सम्मान गरियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाली मौलिक कलाको खोजी गर्दै तिनलाई अन्तर्राष्ट्रियस्तरसम्म पुरयाउनु प्रतिष्ठानको दायित्व रहेको बताइन् । ‘सम्मानित स्रष्टा तथा सर्जकलाई बधाई तथा शुभकामना छ । राष्ट्रका यस्ता गहनालाई सम्मान गर्न पाउँदा हर्षको अनुभूति गरेकी छु’ उनले भनिन् ।

प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन)ले प्रतिष्ठानले गरेका गतिविधिबारेमा जानकारी दिएका थिए ।