• २०८१ फागुन ७ बुधबार

युवराज कँडेल स्मृति पुरस्कार प्रा. डा. जयराज आचार्यलाई

भरतपुर ।

युवराज कँडेल स्मृति पुरस्कार २०८१ (सन् २०२४) प्रा. डा. जयराज आचार्यलाई प्रदान गरिएको छ । भिलेज अफ इङ्लिस राइटर्स- चितवन (भिउ- चितवन) को आयोजनामा आइतबार भ्याली स्टेट कलेज हाकिमचोक भरतपुरमा भएको कार्यक्रममा नेपाली एवम् अङ्ग्रेजी साहित्यका स्रस्टा आचार्यलाई उक्त पुरस्कार प्रदान गरिएको हो । आचार्य पूर्व राजदूतसमेत हुन् ।

डाक्टर केशवराज चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि डाक्टर चूडामणि बन्धुले आचार्यलाई पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशी ताम्रपत्रसहित २५ हजार रुपैयाँ छ । कार्यक्रममा गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी, चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनाललगायतले शुभकामना मन्तव्य र उदय अधिकारीले स्वागत मन्तव्य राखेका थिए । भ्याली स्टेट कलेज प्रमुख बाबुराम खनालले सम्मानित स्रस्टाका बारेमा बोलेका थिए ।

कार्यक्रममा विभिन्न स्रस्टाहरूले नेपाली एवम् अङ्ग्रेजी भाषामा कविता सुनाएका थिए । कार्यक्रमलाई चेतराज रेग्मीले सहजीकरण गरेका थिए । कवि ईश्वर कँडेलले आफ्ना पिताको नाममा स्थापना गरेको यो पुरस्कार पहिलोपटक महाकवि लक्ष्मीप्रसाद देवकोटालाई दिइएको थियो । देवकोटालाई मरणोपरान्त प्रदान गरिएको कवि कँडेलले बताए । त्यसैगरी दोस्रोपटक प्राध्यापक डाक्टर श्रीधरप्रसाद लोहनीलाई दिइएको उनले बताए ।