समाचार

चित्रकार विष्णु परियारले ‘सर्वोत्कृष्ट चित्रकार अवार्ड- २०२४’ प्राप्त गरेका छन् । एबीएम र नेपाल कल्चर एण्ड फिल्म सेन्टरको संयुक्त आयोजनामा सम्पन्न ‘ग्लोबल एक्सिलेन्स अवार्ड २०२४’ मा परियारलाई यो प्रतिष्ठित अवार्डले सम्मानित गरिएको हो ।
परियार तैल चित्रणमा विशेष दक्षता राख्ने कलाकार हुन् । उनले विगत १५ वर्षदेखि काठमाडौंलाई आफ्नो सिर्जनात्मक केन्द्र बनाउँदै पूर्वराजा वीरेन्द्रदेखि समाजका थुप्रै प्रमुख व्यक्तित्वहरूको मुहार चित्रण गरेका छन् ।
उनका चित्रहरूले न केवल अनुहारको सौन्दर्य झल्काउँछन् साथै नेपाली जनजीवनको गहिरो अनुभूतिलाई पनि समेटेको हुन्छ ।
परियारको कलाले दृश्य चित्रमार्फत नेपाली समाजको विविधता र वास्तविकतालाई क्यानभासमा जीवित पारेको छ । कलाका बारेमा परियार भन्छन्, ‘कला भनेको मनको गहिराइलाई क्यानभासमा खुला रूपमा उतार्नु हो । जीवनभर यो क्यानभास र कुचीसँगै बाँधिएर बाँच्ने मेरो इच्छा छ ।’