• २०८१ माघ १० बिहीबार

‘द पोएट आइडल’को दोस्रो सिजन माघ २२ देखि हिमालय टिभीमा प्रसारण हुने

नेपालकै पहिलो कवितासम्बन्धी रियालिटी शो ‘द पोएट आइडल’को दोस्रो सिजन माघ २२ देखि हिमालय टेलिभिजनमा प्रसारण हुने भएको छ । पहिलो सिजन एपी–वान टेलिभिजनबाट प्रसारण भएको पोएट आइडलको दोस्रो सिजन हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको हो ।

माघ २२ बाट प्रसारणका लागि हिमालय टेलिभिजन र पोएट आइडलका निर्देशक अमनप्रताप अधिकारी बिच यसबारे सहमति भइसकेको आइडल टिमले जनाएको छ । डिजिटल अडिसन चरण सकिसकेको पोएट आइडल प्रत्येक सोमबार र मङ्गलबार राति ९ बजेबाट कार्यक्रम प्रसारण हुने छ । पहिलो चरणको फिजिकल अडिसन राउण्डबाट १४ जना प्रतिस्पर्धीसमेत छनोट भइसकेका छन् । १४ प्रतिस्पर्धीमा सिक्किमबाट दुई, दार्जिलिङ र सिलिगुढीबाट एक–एक जना तथा बाँकी नेपालबाट रहेका छन् ।

अडिसन राउण्डका चार एपिसोड प्रसारण हुने भएको छ । पाँचौँ एपिसोडबाट पर्फमेन्स राउण्ड सुरु हुनेछ । यो चरणमा सात–सात जनाको ए र बी समूह बनाएर पर्फमेन्स गर्न लगाइनेछ । त्यसपछि वाइल्ड कार्ड र मर्ज एपिसोड राउण्ड हुनेछन् ।प्रतिस्पर्धीले संगीत, प्रप्स र मान्छे राखेर समेत एक्ट पर्फमेन्स दिनुपर्नेछ । निर्देशक अधिकारीले दोस्रो सिजन सांगीतिक रुपमा विशेष समेत हुने बताएका छन् । ‘यो सिजनमा पहिलोभन्दा अधिक म्युजिकल पर्फमेन्स हुनेछ,’ उनले भने, ‘यसपटक म्युजिकल टिमलाई बृहत् बनाउने प्रयास गरेका छौं ।’

दोस्रो सिजनमा कुल ३१ एपिसोड हुनेछ । फिनाले जेठमा गर्ने तयारी रहेको अधिकारीले जनाएका छन् । यो सिजनको निर्णायकहरूमा उपेन्द्र सुब्बा, अनुप बराल र विप्लव प्रतीकलाई निरन्तरता दिइएको छ । नयाँ एक महिला निर्णायकको भने घोषणा गरिएको छैन । यसअघि महिला निर्णायकको रूपमा अभिनेत्री सुरक्षा पन्त रहेकी थिइन् ।

शोलाई दिव्यदेवले होस्ट गर्नेछन् । उनी पहिलो सिजनमा स्रोताहरूले रूचाएका होस्ट हुन् । पहिलो सिजनको पोएट आइडल सिक्किमकी कवि नीलम गुरूङ बनेकी थिइन् । पहिलो सिजनबाटै साहित्यपोस्ट (इ) दैनिक पोएट आइडलको साहित्यिक पार्टनका रूपमा आबद्ध छ ।