समाचार

पर्समा रहेको आधा प्रेमपत्र पूरा गर्यो
जो विधवा प्रेमिकासम्म पुर्याउनु थियो
चश्माको सिसाबाट देखिने
मखमली सपना च्यात्यो
जो दैलामा उभिएर बा- आमाको आँखामा
हरेक वर्ष फुलिरहन्थ्यो
अटोग्राफमा
वर्षौंँ अगाडि लेखेको आफ्नै नाम झुटो थियो भने
पुरानो याद ताजा गर्यो
ता कि साथीले मरेको खबर नसुनोस्
भित्तामा टाँगिएको
सादा फोटोबाट रङ्गीन हाँसो मेटायो
जसले कुनै ठेगानासम्म पुग्न नपरोस्
जूनको अँगालोमा बाँधिएर
स्वर्गको नदीमा बग्दाबग्दै घाटसम्म पुग्नु थियो
ता कि बिहानको घामलाई जुठो नलागोस्
जल्लादको दायाँतिर लर्किएको डोरीसम्म पुग्दा
समयलाई आफूभित्र तानेर भन्नुथियो
आवाजहरू लाटा हुँदा रहेछन्
ध्वनिहरू बैरा हुँदा रहेछन्
दृश्यहरू अन्धा हुँदा रहेछन्
यात्राहरू लङ्गडा हुँदा रहेछन्
र यो पनि भन्नु थियो
कृपया
मेरो मृत्युपत्रको ‘औँठाछाप’ चौतारीमा टाँसिदिनु
अक्सर
मेरी आमाको बिसौनी हो त्यो ।।
(परियार चर्चित साहित्यकार हुन्)
[email protected]