अनुराधा !
मुटुबाट सबथोक खन्याएर
सबै कुरा मेटाएर
रित्तो भएपछि
लुकाउन मन छ तिमीलाई
मुटुमा
चसक्क बिझ्ने ठाउँ नै नछोडेर
पीडाका सोलाहरूले
घोच्ने ठाउँ नै बाँकी नराखेर
अटाउनु मन छ तिमीलाई
परन्तु
चाहनाहरू कसरी पूरा होलान्
गलामा हारहरू कहिले सजिएलान्
अक्सर
कालो आकाशतिर फर्किएर
एक्लैएक्लै टोलाइरहन्छु
आँखामा ढकमक्क फुलेको कैदी दृश्य
मनोरम छ
पिलपिलाउँदै छन् ताराहरू
अर्धाकारमा झुल्किएर
लुकामारी खेल्दैछ चन्द्रमा
म पर्खिरहेछु
फुत्त फिलुङ्गोजसरी
गगनबाट खस्ने तारालाई
सोध्न मन छ
उसले छोडेका रिक्त स्थानहरू
कसरी भरिन्छन ?
उज्यालो कहाँ छरिएर बिलाउँदैछन्
र
हराउनुअघि
अञ्जुलीमा थामेर हेर्न मन छ
आफ्नै रागले जलेको अनुहारमा
तारा टुटेको मुटुभित्र
रातो रगत हुन्छ कि हुँदैन !
मेरोजस्तै मुटु
छटपटि गर्छ कि गर्दैन !
काठमाडौ