• २०८१ मंसिर १७ सोमबार

‘पोषण पाण्डे–तीर्थ सदन पुरस्कार’ साहित्यकार भुपिन खड्कालाई

साहित्यकार पोषण पाण्डेको स्मृतिमा स्थापित ‘पोषण पाण्डे–तीर्थ सदन पुरस्कार साहित्यकार भुपिन खड्कालाई प्रदान गरिएको छ । चितवनमा बसेर साहित्य साधना गरिरहेका बागलुङका कवि एवं आख्यानकार भुपिनलाई नेपाली साहित्यको श्रीवृद्धिमा योगदान र्पुयाएको भन्दै सदनले पुरस्कृत गरेको हो। साहित्यकार पोषण पाण्डेको स्मृतिमा स्थापित सो पुरस्कार उनकै ३१औँ स्मृति दिवसको अवसर पारी प्रदान गरिएको हो ।

३१ औँ स्मृति दिवस भए पनि यो पुरस्कार भने पहिलो रहेको आयोजकले जनाएको छ । सदनले यसै वर्षदेखि लागू हुने गरी ३० हजार राशिसहितको उल्लिखित पुरस्कार दिने निर्णय गरेको हो । प्रा.डा. गोविन्दराज भट्टराईको संयोजकत्वमा छनोट समिति गठन गरी समितिले थुप्रै स्रष्टाहरूमध्येबाट योग्य पात्रका रूपममा भुपिनलाई छनोट गरेको जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि डा। कुमार कोइरालाले पाण्डेको जीवनी र कृतित्वबारे प्रस्ट्याए । ‘साना कुरालाई सरल भाषामा संप्रेष्य गराउने काम पाण्डेले गर्नुभएको छ,’ उनले भने, ‘विशेष गरी यौनमनोवैज्ञानिक कथामाथि उहाँको कलम प्रखर देखिन्छ ।’ सम्मानित भुपिनले मन्तव्य राख्दै पोषण पाण्डेजस्ता अग्रज स्रष्टाका नाममा स्थापित पुरस्कार ग्रहण गर्न पाउँदा आफू खुसी भएको बताए ।

‘लेखकले पुरस्कार पाउनकै लागि कदापि लेख्दैन,’ उनले भने, ‘तर, लेखन यात्रामा सत्नियत राखेर स्थापना गरिएका पुरस्कार तथा सम्मानले स्रष्टालाई पुनर्बल प्रदान गर्छ ।’ यस्तै, सभापति विजयराज चालिसेले दिवंगत पाण्डेको स्मरण गर्दै उनको योगदानबारे बताए । संस्थालाई पाण्डेपुत्रीस ज्ञानु, रन्जु, बिन्दु पाण्डेलगायतले हाँकिरहेका छन् ।