समाचार

वरिष्ठ कवि विमल निभाको पाँचौँ कवितासंग्रह ‘सत्र भोका काग मंगलबार असोज १५ गते राजधानीमा लोकार्पण गरियो । विमल निभाका प्रिय सात साथीहरू नारायण ढकाल, पुरुषोत्तम सुवेदी, शाद्रूल भट्टराई, रेशम विरही, नयनराज पाण्डे, डा. अमर गिरी र मातृका पोखरेल बाट लोकार्पण गरिएको संग्रहमाथि कवि एवं समालोचक पुरुषोत्तम सुवेदीले संक्षिप्त चर्चा गरेका थिए ।
सुवेदीका अनुसार, पुष्पलालले सुरु गरेको आन्दोलनमा निभा १३- १४ वर्षको उमेरदेखि सक्रिय हुन थालेका थिए । २०२६ सालमा पहिलो कविता प्रकाशन गरी आज ५५ वर्ष सम्म वामपन्थी वा प्रगतिशील विचारधारामा अडिग रही कविता लेखिरहेकाले निभालाई जनकवि भन्नुपर्ने सुवेदीको भनाइ थियो । ‘उहाँले कला र विचारलाई कहिल्यै पनि छाड्नुभएको छैन । उहाँले आर्थिक, राजनीतिक र नैतिक अनुशासन सधैँ पालना गर्नुभयो,’ सुवेदीले भने, ‘जनकवि भन्ने शब्द फिट हुन्छ भने त्यो विमलजीमा लागु हुन्छ । मलाई लाग्छ अबदेखि हामीले जनकवि भन्न मिल्छ विमलजीलाई । विमलजीको अवधि पनि पुगेको छ, कृतित्व र व्यक्तित्व दुवै पुगेको छ । त्यसकारण उहाँ अब जनकविको हैसियतमा आइसक्नुभएको छ ।’
निभाले आफ्ना कवितामा कला र विम्बको प्रयोग गर्दा जुन शालीनता र स्तरीयता कायम गरेका छन्, त्यसलाई गैरवामपन्थी वा दक्षिणपन्थी कविले समेत स्विकारेको सुवेदीको भनाइ थियो । कवि निभाका यसअघि ‘आगोनेर उभिएको मानिस २०४०, ‘एउटा बाहुला नभएको बुसर्ट’ २०५९, ‘जोकरको बन्दुक’ २०७६ र ‘डेगेन्द्र राजवंशीको आत्महत्या’ २०७८ कवितासंग्रह प्रकाशित छन् । यस्तै ‘चौथो कालम’ २०४४, ‘छेउको वधशाला’ २०६२ र ‘डाइनोसर ज्युँदो छ’ २०६९ गरी तीन निबन्धसंग्रह प्रकाशित छन् ।