समाचार

म त भावुक मान्छे
म हरेक कुरामा भावुक भैदिन्छु
कहिलेकाहीँ मनमा उब्जेका
भावहरू व्यक्त गर्न
सुहाउँदा,उपयुक्त शब्दहरू भेटिँदैनन्
र मन भावुक भैदिन्छ
शब्दको खोजीमा
खोजेजस्तै शब्द भेटिँदा
चाहेजसरी भाव
व्यक्त गर्न पाउँदा
खुसीले मन प्रफुल्लित भैदिन्छ
खुसीले मन भावुक भैदिन्छ ।
भावहरू व्यक्त हुँदा म भावुक भैदिन्छु÷हुन्छु
भावहरू व्यक्त नहुँदा म भावुक भैदिन्छु
प्रेमिकालाई प्रेमप्रस्ताव राख्दा
प्रेमिकाले प्रेमप्रस्ताव स्वीकार गरे
खुसीले मन भावुक भैदिन्छ
प्रेमिकाले प्रेम प्रस्ताव
अस्वीकार गरे
मन झन् भावुक भैदिन्छ ।
सपना टुट्नुको पीरले …
कोही आफ्नो बनिदिँदा म भावुक भैदिन्छु
कोही आफ्नो नबनिदिँदा म भावुक भैदिन्छु
अचानक हिँड्दाहिँड्दै दोबाटोमा,
भूतपूर्व प्रेमिकासँग नजर ठोक्किन्छन्
र विगतको प्रेम सम्झेर मन भावुक भैदिन्छ
ती युगल सपना, बाचाहरू सम्झेर मन भावुक भैदिन्छ
कहिलेकाहीँ
प्रेम–प्रस्ताव राख्न नपाई
छुटेका प्रेमिल मनहरू सम्झेर मन भावुक भैदिन्छ
म त भावुक मान्छे
म हरेक कुरामा भावुक भैदिन्छु ।
म रुखको हाँगाबाट
झरेका पातहरू देखेर भावुक भैदिन्छु ।
वसन्तमा हाँगामा पलाएका
नयाँ पालुवाहरू देखेर भावुक भैदिन्छु
म प्रकृतिको हरेक दृश्यले भावुक भैदिन्छु
सहरमा बसेर पढ्दै गर्दा
कोठा भाडा तिर्न पैसा नहुँदा
बुबालाई पैसा माग्दा
बुबाले केही पीर नगर
पैसा त म यताउता खोजेर पठाऊँला
त बस् राम्रोसँग पढ
भनिदिँदा मन भावुक भैदिन्छ
यसपालि घरमा गाह्रो परेको छ
गोजीमा पैसा छैन
त्यतै कुनै साथीसँग मागेर कोठा भाडा दे
भनिदिँदा मन झन् भावुक भैदिन्छ
म हरेक शब्दहरूमा भावुक भैदिन्छु
समयको वेगसँगै चल्दैगर्दा पत्तै नपाई
छुटेको मेरो स्वर्णिम बाल्यकालका
तीता, मीठा पलहरू सम्झेर मन भावुक भैदिन्छ
समयको रफ्तारसँगै बढिरहेको उमेर,
बढिरहेको जिम्मेवारी सम्झेर मन भावुक भैदिन्छ
म त भावुक मान्छे
म हरेक कुरामा भावुक भैदिन्छु
आमाको स्नेह, प्रेम पाइरहेका
बच्चाहरू देखेर म भावुक भैदिन्छु
सडककिनारमा माग्दै हिँडेका
स्नेह, प्रेमका भोका अभिभावकविहीन
बच्चाहरू देखेर म भावुक भैदिन्छु ।
खडेरीले खेतको सबै बाली नष्ट भई
टाउकोमा हात राखी पीडामा
रोइरहेका किसानहरूको
आँसु देखेर मन भावुक भैदिन्छ
लामो पर्खाइपछिको बर्षातपछि
खेतमा खुसीले नाच्दै गरेका
किसानहरू देखेर मन भावुक भैदिन्छ ।
म त भावुक मान्छे
म हरेक कुरामा भावुक भैदिन्छु ।
घाटमा जलिरहेका
मूर्दालासहरू देखेर मन भावुक भैदिन्छ
भित्रभित्रै जलेको मन लिएर हिँडेका
जिउँदा लासहरू देखेर मन भावुक भैदिन्छ ।
कसैको ओठको हाँसो देखेर मन भावुक भैदिन्छ
कसैको आँखाको आँसु देखेर मन भावुक भैदिन्छ
म सुखमा भावुक भैदिन्छु
म दुःखमा भावुक भैदिन्छु
म हरेक साना कुराहरूमा भावुक भैदिन्छु
म हरेक जटिल कुराहरूमा भावुक भैदिन्छु
म त भावुक मान्छे
म हरेक कुरामा भावुक भैदिन्छु ।
कविता पढ्दापढ्दै भावुक हुन्छु
कविता लेख्दालेख्दै भावुक हुन्छु ।
जीवन तिवारी, देवदह, खैरेनी