काठमाडौँ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा वरिष्ठ निबन्धकार युवराज नयाँघरेको निबन्धसंग्रह ‘आगोको बिउ’ लोकार्पण गरिएको छ । नयाँघरेले यसपटक भने अन्य पुस्तक भन्दा कडा र नयाँ शैलीको पुस्तक पाठकबीच ल्याउनु भएको छ । उहाँले पाठकहरूलाई यो पुस्तक दशैंको कोशेली भन्दै परिभाषित पनि गर्नुभएको छ ।
निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको यो १९ औं कृति हो ‘आगोको बीउ’ । वरिष्ठ आख्यानकार, निबन्धकार, कवि तथा समालोचक कृष्ण धारावासी निबन्धकार कुमारी लामा, समालोचक ज्ञानु अधिकारी, समालोचक अनिता कोइराला, समालोचक भारती न्यौपानेलगायतले लोकार्पण गरेका हुन । धरावासीले आफूलाई सबैभन्दा बढी मनपर्ने विधा नै निबन्ध रहेको र ‘आगोको बीउ’ पढ्दा आफुलाई एकदमै आनन्द महशुस भएको बताए । आख्यानकार तथा निबन्धकार अनिता कोइरालाले कृतिको नाम आगोको बीउ भएपनि पुस्तकभरि यो शब्द बिम्वकोरूपमा प्रयोग भएको बताइन । यस्तै कवि, आख्यानकार तथा समालोचक भारती न्यौपानेले नयाँघरेका निबन्धहरू मा विचारको बिस्कुन देख्न सकिने भन्दै यो संग्रह पढिसकेपछि सारा संसारमा आगोको बीउ सनसनी फैलिने बताइन ।
निबन्धकार तथा समालोचक कुमारी लामाले आफूलाई यो कृति अत्याधिक मन परेर नै भूमिका लेखेको बताइन । ‘जीवन र मृत्युको दोसाधबाट अगाडि बढेका तथा अनुभव, अनुभूति र ज्ञानले खारिएका दार्शनिक चेतानायुक्त कुराहरू समेटिएको निबन्धकृति आगोको बीउ हो’ उनले भनिन । समालोचक ज्ञानु अधिकारीले ‘आगोको बीउ’ शिर्षकले नै तरंगित पार्ने बताउदै यसले मानवभित्र रहेको संवेदनालाई संयमित बनाउने बताइन । कार्यक्रममा बोल्दै कृतिकार नयाँघरेले आफू निबन्ध र नियात्रा लेखनको क्षेत्रबाट बाहिर जानै नसक्ने बताए । उनले भने ‘निबन्ध मेरा लागि यात्रा गर्दा टेक्ने दह्रो लठ्ठी हो । हिँड्दा आवाज आउँछ त्यो आवाज मेरो नियात्राका बान्की हुन् भने पुग्ने गन्तव्य मेरो निबन्धको आधार हो ।’
२०६५ सालमा आत्मपरक निबन्धसंग्रह ‘एक हातको ताली’मा मदन पुरस्कार पाएका उनका यसअघि ९ वटा नियात्रासंग्रह र १९ वटा निबन्धका कृति आएका छन् । ‘आगोको बीउ’ कृतिमा २६ वटा आत्मपरक निबन्धहरू समावेश गरिएको छ । निबन्ध लेखेरै आफ्नो भिन्न पहिचान बनाएका नयाँघरेको यो संग्रह रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो । आफूलाई निबन्ध र नियात्रा लेखनमा समानान्तर रूपमा उभ्याउने नयाँघरे नयाँ शिल्पी, लेखन र कथ्य कलामा विशेष छवि बनाएका लेखकका रूपमा परिचित छन् । यो निबन्धसंग्रह रत्न पुस्तक भण्डारले पाठकको हातहातमा पु¥याउने संकल्प लिएर दशैँ अगाबै प्रकाशन गरेको हो ।