काठमाडौं ।
राष्ट्रिय कविता महोत्सव- २०८१ का विजेता कविलाई पुरस्कार समर्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६७औं वार्षिकोत्सवका अवसरमा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव- २०८१ को पुरस्कार राष्ट्रपति भवन शीतल निवासमा सोमबार समर्पण गरिएको हो ।
पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले भाषिक तथा सांस्कृतिक बहुलता एवं भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव र पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृति भएको धारणा व्यक्त गर्नुभएको थियो । ‘हाम्रा भाषा, साहित्य, संस्कृति तथा हामीसँग रहेका मौलिक एवं रैथाने ज्ञान परम्पराको संरक्षण, संवद्र्धन र विकास गर्नु हाम्रो परम कर्तव्य हो’, उहाँले भन्नुभयो । उहाँले भाषा, साहित्य, संस्कृति, दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको बताउनुभयो ।
राष्ट्रपति पौडलले नेपालमा बोलिने जुनसुकै मातृभाषाका कविताले पनि महोत्सवमा सहभागिता जनाउन सकिने व्यवस्था गरी महोत्सवलाई अझ सहभागितामूलक बनाइएको र यसबाट कविहरूको सहभागितामा उल्लेख्य रूपमा बढोत्तरी भएको थाहा पाउँदा खुशी लागेको बताउनुभयो । ‘मलाई आशा छ, आगामी वर्षहरूमा नेपालका सबै भाषाका कविता राष्ट्रिय कविता महोत्सवमा सहभागी हुनेछन् र राष्ट्रिय कविता महोत्सव नेपाली कविताको विकासका लागि कोशेढुंगा सावित हुनेछ’, उहाँले भन्नुभयो । सो अवसरमा राष्ट्रपति पौडेलले विजयी कविहरूलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।