• २०८२ मंसिर २२, सोमबार

गाउँको केटो

कैलासकुमार पाण्डेय

कैलासकुमार पाण्डेय

धुलो, माटी खेल्दै खाँदै
बढेको, हुर्केको
नितान्त पहाडी
गाउँको केटो

धुले पाटीमा
बङ्गाटिङ्गा अक्षर कोरेर
अक्षरको यात्रा प्रारम्भ गरेको

आँगनीमा बुरुक्क उफिर्ने पाठोले
उर्जाशील चेतना सिकायो
चराचुरुङ्गी, बस्तुभाउका
हाउभाउ संगै बामे सरेको
गुलेली, घुएत्रोको प्रविधि सिकेको

लिउडो,ओगल्या,चोच्या
टिप्न खोज्न सिकेको
गाई दुहुनु, महि मथ्नु
मकैवारि गोडन, गोरु नार्ने कार्यमा
अभ्यस्त गाउँको केटो

औपचारिक भाषा आउँदैन
उल्टो सुल्टो बोल्छ
रुखो, अमिल्दो पनि छ
अडबाङ्गे, छुच्चो छ
धेरैलाई मन पर्दैन ।

धेरै चाहान्छन्
यो नदेखियोस
यसले नआइदिए हुन्थ्यो
यो फ़ेरि कताबाट आयोरु
तर हरेक ठाउँ पुगेको हुन्छ
गाउँको केटो

बहादुर टमटाको आरनमा
खलात फुकेको छ
लालु सार्कीको खलडीदानमा
किला ठोकेको छ
गोपी भेरकारको कलको सियोमा
धागो छिराएको छ
उजले लावड संगै
बाँसका चोयाले पथडो बनाएको छ
रामचन्द्र ज्योतिष संगै
पुराणमा पनि सामेल भएकै छ
खेडीझोडी, अर्मपर्ममा सामेल भएकै हुन्छ
गाउँको केटो

आदर्श समाज अभियान चलाए
आदर्शज्योति बिद्यालय बन्यो
आदर्श विद्या बालबिकास केन्द्र खुल्यो
आदर्श सहकारी स्थापित भयो
आदर्श कृषि पशुपालन फर्म बन्यो
आदर्श गाउँ बन्यो
आर्थिक सामाजिक रूपान्तरमा लागेको
गाउँको केटो

ग्रामीण चेतनामा रंग भरेको छ
उत्तर र उत्तर आधुनिकतासंग पनि
हिंडन सक्छ
चलचल्तीका प्रविधिलाई
आत्मसात गर्न सक्छ
कुरुप,ख्याउटे देखिए पनि
हरेक कुरामा सजग र सतर्क छ
गाउँको केटो

गाउँमा जन्मिनु अपराध होइन
गाउँमा बसेर गल्ती गरेको पनि होइन
गरीब परिवार हुनु कमजोरी पनि होइन
जो जहाँ जे जस्तो भए पनि
समाजका प्रति दायित्व र कर्तव्यबोध गर्नु पर्छ
दुरदराज बस्तीमा पनि
परिष्कृत चेतना जागाउँछ
गाउँको केटो

निष्कपट,निष्पाप
आफ्नो कर्तव्य पथमा
अबिचलित, अविच्छिन्न लागेको छ
गाउँको केटो ।


कैलासकुमार पाण्डेय
डडेल्धुरा