• २०८१ फागुन १ बिहीबार

‘नेपाली नाट्यविमर्श’ पुस्तक सार्वजनिक तथा रंगकर्मीहरूलाई सम्मान

काठमाडौं ।

‘नेपाली नाट्यविमर्श’ पुस्तक सार्वजनिक गरिएको छ । नेपाल नाट्य प्रतिष्ठान पोखराद्वारा राजधानीमा आयोजित एक कार्यक्रमबीच प्रथम राष्ट्रपति रामवरण यादवलगायतले उक्त कृति सार्वजनिक गर्नुभएको हो । उक्त अवसरमा रंगकर्मी अशेष मल्ल, शकुन्तला शर्मा गुरुङ, सुनील पोखरेल र डा।माधव बराललाई सम्मान गरिएको थियो । रंगकर्मी अशेष मल्ल विसं २०३० देखि हालसम्मै नेपाली नाट्य क्षेत्रको उत्थानका लागि सक्रिय हुनुहुन्छ । किशोरावस्थादेखि नै नाट्य लेखन, निर्देशन, प्रशिक्षण र अभिनयका साथै सर्वनाम थिएटरमार्फत नेपाली नाटक जगत्का लागि समर्पित भएबापत मल्ललाई सम्मान गरिएको आयाजकले जनाएको छ ।

यस्तै, ११ वर्षको उमेरमा २०१० देखि अभिनय कर्ममा सक्रिय शकुन्तला शर्मा गुरुङले २०७० सम्मै रंगकर्मलाई निरन्तरता दिनुभएको थियो । नाट्यकर्मी सुनील पोखरलले नेपाल प्रज्ञा- प्रतिष्ठानको नाट्य शाखाबाट कलाकारका रूपमा रंगमञ्चमा प्रवेश गर्नुभएको थियो । सर्वनाम थिएटरमा नाटक अभिनयदेखि निर्देशन सहयोगीको भूमिकामा रहँदै छुट्टै आफ्नै पहलमा आरोहण गुरुकुल स्थापनाको दौरानमा उहाँको यात्रा नेपाली रंगमञ्चमा छुट्टै छाप छोड्न सफल छ । डा.माधव बराल, नेपाली विज्ञान शिक्षा क्षेत्रमा थुप्रै योगदान पुरयाउँदै हाल साहित्यतर्फ झुकाव राख्नुहुन्छ । उहाँले निस्ट फाउण्डेशनमार्फत ‘नेपाली नाट्यविमर्श’ पुस्तक प्रकाशनलाई सहयोग पुरयाउँदै पुस्तक बिक्रीबाट आएको रकम नाट्य क्षेत्रकै लागि खर्च गर्ने बरालको भनाइ छ ।

पुस्तक लोकार्पण पछि आफ्नो मन्तव्य राख्दै प्रथम राष्ट्रपति रामवरण यादवले साहित्य, नाट्य, संगीत, कलाले संस्कृति समुद्र जत्तिकै गहिरो र फराकिलो अर्थ राख्ने बताउनुभयो । उहाँले नेपाली नाटक रंगमञ्चको ऐतिहासिक अवस्थादेखि वर्तमानसम्मका नाटक, लेखक, कलाकारको समूह र भारतका नेपालीभाषी लेखकले लेखेका नाटकसमेतको अभिलेखीकरण गरिएको सो पुस्तकले विश्वभर फैलिरहेको नेपाली डायस्पोरालाई प्रेरित गर्ने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले नेपाल नाट्य प्रतिष्ठान भर्खरै स्थापना भए पनि ‘नेपाली नाट्यविमर्श’ पुस्तक प्रकाशन गरेर नेपाली नाट्य क्षेत्रको अभिलेखीकरण जस्तो स्तुत्य कर्म गरेको बताउनुभयो । प्रा. डा. दयाराम श्रेष्ठले ‘नेपाली नाट्यविमर्श’ पुस्तकलाई नाट्य वेदान्त मान्न सकिने चर्चा गर्दै यस पुस्तकमा समग्र नाट्य विधा केन्द्रित रहेको टिप्पणी गर्नुभयो ।

उहाँले पुस्तकमा समेटिएका नाटकका विषयले नाटकका क्षेत्रमा अध्ययन अनुसन्धान गर्न चाहने लेखक तथा शोधार्थीका साथै साहित्यप्रेमीका लागि गहकिलो र प्रबुद्ध प्रसाद पुस्तकका रूपमा प्रकाशित भएको जिकिर गर्नुभयो । नेपाल नाट्य प्रतिष्ठान पोखराका अध्यक्ष एवं ‘नेपाली नाट्यविमर्श’ का प्रधान सम्पादक प्रा. डा. रामचन्द्र पोखरेलले नाट्य क्षेत्रसँग सम्बन्धित सर्जकको अन्तर्राष्ट्रिय भेलापछि सो पुस्तकको प्रकाशन गर्ने परिस्थिति सिर्जना भएको जानकारी गराउनुभयो । सो अवसरमा प्रतिष्ठानका उपाध्यक्ष एवं पुस्तक सम्पादक डा. अशोक थापा, पुस्तकका डिजाइनर ईश्वर श्रेष्ठ, सम्पादक मण्डलका सदस्यहरू सुन्दर मानन्धर, पुरु लम्साललाई पनि सम्मान गरिएको थियो ।