• २०८२ मंसिर ८, सोमबार

दृश्य

बालकृष्ण कट्टेल

बालकृष्ण कट्टेल

कतै जाँदै थिएँ
बाटो बिर्सिएर तिम्रो आँगनमा पुगेँछु
मेरो जुत्ताको आवाज सुनेर
तिमी बार्दलीमा निस्कियौ
र सोध्यौ- को हो ? कता हिँडेको ?
तिम्रो बोली सुनेपछि
मैले ह्याट खोलेँ
र तिमीतिर हेरेँ
तिमीले अनुहारतिर लर्किएको
कपाल सम्यायौ र मलाई हेर्‍यौ
हामीले एक अर्कालाई हेर्‍यौँ
बोलेनौँ,
तर नबोली नबोली पनि बुझ्यौँ !

कस्तो मीठो हुन्छ है
नसोधी नसोधी भनिएको कुरा
नबोली नबोली बुझिएको कुरा ।

मलाई त आजकल
घरबाट निस्कने बित्तिकै
आफू हिँड्न लागेको बाटो
बिर्सुँ  बिर्सुँ  लाग्छ
हिँड्दाहिँड्दै बिर्सिएको बाटोले
जाउँ जाउँ लागेको ठाउँमा पुर्‍याउँदो रहेछ ।

त्यो दिनको हेराइपछि
मेरो आँखामा बसेको तिम्रो त्यो दृश्य
मेरा आँखाबाट
कहिल्यै नहराओस् जस्तो लाग्छ
र, म त सुतेको पनि छैन
निदाएको बेला
त्यो दृश्य
सपना भैदियो भने
ब्युँझदा त हराइ हाल्छ नि !


बालकृष्ण कट्टेल