• २०८१ माघ २ बुधबार

स्नेह सायमी

काठमाडौँ भन्नु मात्र हो
म त गाउँमा जन्मेको मान्छे
माघे संक्रान्ति हो
म जन्मेको दिन
मेरो पहिलो गुरु हुन् – मेरी आमा
नमः वागीस्वरायः बाट
मैले अक्षरारम्भ ग¥या हुँ
अर्थात्, मैले पहिलो अक्षर ‘क’ लेखिनँ
त्यस्तै स्कुल पनि
कक्षा एकबाट सुरु भएन
२, ४, ७, ८ हुँदै १३ वर्षको उमेरमै
मैले एसएलसी दिएँ
स्वाभाविकरूपमा
म आफ्नो उमेरभन्दा जेठो भएँ ।

०००
म कवि हुनुमा
भूपि शेरचनको ठूलो हात छ ।
३४–३५ सालतिरको कुरा हो
म शङ्करदेवमा पढ्थेँ
क्याम्पसको कविता प्रतियोगितामा
प्रथम भएँ
निर्णायक हुनुहुन्थ्यो– भूपि शेरचन
उहाँले मलाई ‘प्रज्ञा’ मा
भेट्न आउनु भन्नुभयो
म गएँ, मलाई ‘कविता’ का लागि
कविता लेख्न भन्नुभयो
लेखेर दिएँ, छापियो
र पचास रुपियाँ पारिश्रमिक समेत पाएँ
त्यहीँबाट सुरु भयो
मेरो कविता यात्रा ।
पछिपछि कथाहरू पनि लेख्न थालेँ
मन पर्छ कथा पनि लेख्न
कवितामा जति खुल्छु
कथामा खुल्दिनँ कि ?
म कथाकारभन्दा कवि नै हुँ ।

०००
मैले व्यापार–व्यवस्थापन पढेको मात्र हैन
व्यापार मैले पारिवारिकरूपमा
पाएको उपहार पनि हो
व्यवस्थापन वंशानुगत आएको हो ।
हाम्रो धान कुट्ने, तेल पेल्ने मिल थियो
मैले पहिलोपटक काठमाडौँमा
तेलको मार्केटिङ् गरेँ
पसलपसलमा डेलिभरी गर्ने
४०–५० जना साइकल ब्वाई राखेर
अब पसलेहरू आफँै मिल जानुनपर्ने भो
यसरी परम्परागत व्यापारलाई
आधुनिक बनाउनतिर लागेँ
यो सब गर्नुभन्दा पहिले
वीरगञ्जमा पद्मज्योतिकहाँ
जागिर खाएको छु
स्कुलमा मास्टर भएर
पढाएको छु
पछि त्यही स्कुलको सञ्चालक समितिको
सदस्य पनि भएँ ।

०००
फरक र अझै गर्ने चाहनाले होला
व्यापार भाइहरूलाई जिम्मा लाएर
(हामी पाँचजना दाजुभाइ)
म नेपाल घरेलु तथा साना उद्योग सङ्घको
महासचिव भएँ
करिब १० वर्षको यस यात्रामा
राजनीतिकरूपमा पनि सक्रिय भएँ
विदेशयात्रादेखि विभिन्न
व्यवस्थापनका कामहरूमा लागेँ
हिमाल मिडिया र नयाँ पत्रिकाको
व्यवस्थापनदेखि लिएर
स्विस संस्थामा संलग्न भएँ ।

०००
यो सब गरिरहँदा पनि
कथा–कविता भने लेखिरहेँ
व्यापार–व्यवस्थापनमा भएका
असन्तुष्टिहरू लेखेर मन बुझाउँथेँ
दिमाग व्यापारी भए पनि
मन त कविको थियो
जहिले पनि देश नै सोच्ने ।
जानी–नजानी म १८ वर्षको उमेरदेखि नै
राजनीतिमा लागेँ–
गाउँमा महिलाहरूको स्थिति
साह्रै नाजुक थियो– विभेद थियो
जुत्ता–चप्पल लाउन पाउँदैन थिएँ
खुट्टाहरू फुटेर रगत बग्थ्यो
मैले मिलमा प्रयोग हुने ‘ग्रिज’ दिन्थँे
त्यो लाउँदा निको हुने
यसो २–४ रुपियाँ ऋण पनि दिन्थेँ
यसो गर्दागर्दै म प्रिय भएँ
मैले भनेको अरूले मान्न थाले
र, म राजनीतिमा लागेँ
हेर्नूस्, हामी कलिलै उमेरमा
राजनीतिमा लाग्छौँ
तर सबै बुझेर होइन
जुन विचारको नेतासँग सङ्गत हुन्छ
त्यसैको विचारमा लाग्छौँ
त्यस उमेरमा बुझेर कोही पनि
कुनै विचारमा लाग्दैन ।

०००
लक्ष्मी मालीसँग मेरो चिनजान
स्कुल पढाउने बेलामै भएको हो
उनी पनि त्यही स्कुलामा पढाउने
हिमचिम बढ्यो, मन मिल्यो
तर जात नमिलेर
बिहे गर्न ठूलो सङ्घर्ष गर्नुप¥यो ।
अहिले छोरा–छोरी हुर्किसके
बिहे पनि भइसक्यो
तर पनि जीवनमा सङ्घर्ष अनवरत छ
खानैका लागि होइन
आफ्नो सम्पदाको, संस्कृतिको
आफ्नोपनको माया लाग्छ
र, त्यही आफ्नोपन जोगाउन
अहिले पनि सङ्घर्ष जारी छ ।

बस् यस्तै केही गरेर
गतिलो लेखक बनेर मर्न पाए हुन्थ्यो ।