• २०८० असोज ६ शनिवार

जिन्दगी

इन्द्रेणी शर्मा जलद

इन्द्रेणी शर्मा जलद

रूपकले सम्झाउँदै भने- ‘सम्झना हेर ! हामीले यसरी बसेर हुँदैन । घरको अवस्था तिमीलाई थाहा छ । घरबार भएको पनि वर्षौं भयो । सन्तान साथमा रहेनन् । सबै परदेश लागे । बुढेसकालमा केही आर्थिक जोहो गर्नुपर्छ ।’

‘के भन्न खोज्नुभएको हजुरले ? कतै घरजग्गा बेच्न खोज्नुभएको त होइन ? के भन्लान् छोराहरूले । तिनीहरूको बारेमा सोच्नुपर्छ नि ! हामी त डाँडामाथिका घाम हौँ । हामीलाई दुई छाक टार्न पाए पुगिहाल्यो नि !’

‘सम्झना तिमी बिरामी छ्यौ । म पनि कमजोर हुँदै गएको छु, जीवनको के भरोसा ? जति वेला पनि ढल्न सकिन्छ । कालले हामीलाई एकैचोटि लग्ला र ? एकल जीवन बिताउँदाको कष्ट कति हुन्छ छिमेकीलाई हेरेकी छैनौँ ? एकल जीवन बिताउँदाको दुःख कसले देख्छ र ?  केही राहत पाए कोही कसैले हेला गर्दैनन् !

बूढाबूढीको गन्थन चलिरहेको थियो । झल्याँस्स रूपकले आफ्नो डायरी हेरेँ आफैँ छक्क भए उनले करिब करिब भुलिसकेका रहेछन् । जागिरे जीवनमा राखेको बिमाको हकदार रूपकले सम्झनालाई राखिदिएका थिए । अचानक रूपक सामान्य रूघाखोकीबाट अस्पताल जान नपाउँदै यस दुनियाँबाट विदा भए ।

बाबा वितेको खबर पाए पनि छोराहरू घर फर्केनन् । कोरोनाको महामारी फैलिएको थियो । उतैबाट बाबाप्रति श्रदाञ्जली अर्पण गरे । आमाको मायाको संसार कति फराकिलो थियो । दिनरात सम्झिन्थिन् । गुँडबाट उडेका बचेराहरू आकाशको अर्को कुनामा रमाएका थिए । बल्ल सम्झिन् पतिको गतिलो माया जति वेला पनि बेवास्ता गर्नु, कुराले हेप्नुको आत्मग्लानि देखिन्थ्यो । स्वर्गीय पतिको तस्बिरमा हेरिन् । दुई थोपा आँसु खसे ।

बाहिर हुलाकीले बिमाको चिठ्ठी दिए । खोलेर हेरिन् । मन भक्कानियो । जिन्दगीको यात्राले धेरै कुरा सिकाएको बल्ल बुझिन् । ‘हे परमेश्वर पतिदेव मलाई माफ दिनोस् । म पापिनीलाई दुःखबाट बचाउन के के गर्नुभयो ? मेरो जिन्दगीलाई कुन बाटोमा हिँडाए ?’

‘सन्तान पनि साथ नहुदा पतिको तस्बिरमा हेरेर जीवनको अर्थ खोज्दैछु ।’ सम्झनाको अन्तर्आत्माले भनिरहेको थियो । छोराहरूको आगमनमा आफ्नो बुढेसकालको ढुकढुकी धानेर बसेकी छिन् । खै कहिले फर्केलान ?
दिन बित्दै जान्छन्……


(लन्डन बेलायत)
[email protected]