समाचार

हामी बागलुङ पुग्दा ११ बजेको थियो ।
सबैभन्दा पहिले भगवतीकै दर्शन गर्ने सल्लाह गरेर हामी मन्दिर पुग्यौँ ।
जङ्गलबीचको त्यो सुनसान ठाउँमा अवस्थित मन्दिरमा आज शनिबार नभए पनि चहलपहल नै थियो । सायद सार्वजनिक बिदा भएको करणले पनि होला । यो मन्दिर मात्र होइन मलाई यहाँको सराउन्डिङ् पनि खुब मनपर्छ । पोखरा आइपुगेको बेला वासु र म प्रायः यहाँ आएकै हुन्छौँ । आज फरक यत्ति थियो– बिनी पनि हाम्रो साथमा थिई । किन थिई ? मेरो मनले अझै उत्तर खोजेर भेट्टाएको थिएन ।
वासु र म आउँदा हामी पूजा–सर्दाम नकिनी माता भगवतीसामु शिर झुकाउँथ्यौँ र वरपरको रमणीय वातावरणको रसास्वादन गरेर, घुमेर फर्कन्थ्यौँ । तर आज बिनीले फूलमाला र पूजा–सर्दाम किनी ।
पुजारीलाई विधिपूर्वक पूजा–अर्चना गर्न लगाएर मातासामु हात जोडेर उभिई । मैले घुँडा टेकेर, प्रार्थना गरेँ । निहुरिएर ढोगेँ ।
म ढोगेर उठ्दा बिनी घुँडा टेकेर मेरै छेउमा बसेकी थिई । उसका आँखा बन्द थिए, तर ओठ बिस्तारैबिस्तारै हल्लिरहेका थिए । म मन्त्रमुग्ध, हात जोडेर भगवानसामु अपार श्रद्घाका साथ टाउको झुकाइरहेकी उसैलाई हेरिरहेँ ।
यति निष्ठापूर्वक कसका लागि प्रार्थना गरेकी होली उसले ? मेरो मन खुलदुल भयो ।
मैले देख्दादेख्दै मन्दिरभित्र पसेको एउटा मोटोमोटो ज्यानको मानिसले ढोगेर उठ्दा बिनीतर्फ फर्केर हेर्यो अनि निःसङ्कोच उसको पिठ्यूँमा धाप मार्दै भन्यो– ‘लौ हेर ! हाम्री मैयाँ पनि यहीँ रै’छिन् ।’
बिनीले हडबडाएर आँखा खोली । आफ्नो काँधभन्दा तल सलबलाई रहेको उसको हातसँग असहज हुँदै उसले त्यो मान्छेलाई वितृष्णापूर्वक हेरी । त्यसपछि उसका आँखा मतिर उठे । उसले सङ्कोच मान्दै त्यो हात आफ्नो काँधबाट हटाउने कोसिस गरी ।
‘कस्तो संजोग !’ उसले हात हटाउनुको सट्टा जबरजस्ती बिनीलाई आफूतिर टाँस्ने कोसिस गर्दै उसको कानैछेउ मुख पुर्याएर भन्यो– ‘आज बिदा थियो त्यसैले हामी यहाँ पिकनिक मनाउन भनेर आएको । काठमाडौँदेखि साथीहरू आ’छन्, तर सुराले मात्रै मजै दिएन । सुन्दरीको खोजीमा बागलुङ बजार घुमेर आइसक्यौँ, कोही भेट्या होइन । अब बल्ल मजा आउने भो ।’ उसले मूर्तितिर फर्केर तटस्थ उभिएको मलाई पुलुक्क हेर्यो अनि अलि सानो स्वरमा भन्यो– ‘बुक त छैनौ नि ?’
मेरो धैर्यले साथ छोडिदियो । मैले पछाडिबाट उसको गर्दन समातेर उसलाई जबरजस्ती उभ्याएँ ।
‘ए… ए ! को हो, के गरेको यो ?’ ऊ करायो । उसको हात बिनीबाट अलग्गियो । बिनी अलि पर सरेर उभिई । मैले त्यो मान्छेलाई आफूतिर फर्काएँ अनि उसको छातीमा हात राखेर उसलाई पछाडि धकेल्दै, दाँत किटकिटाउँदै भनेँ– ‘भगवानको दरबारमा टाउको झुकाएर उभिएकी वेश्या नै भए पनि, भगवानको भक्त मानेर सम्मान गर्नुपर्छ भन्ने विवेकसम्म नभएका पशुहरू मन्दिर किन आउँछन्, आश्चर्यकै कुरा छ ।’
‘… तिमी ? तिमी को ?’ उसले यताउता हेर्दै सोध्यो ।
‘म ? म भगवतीको भक्त ।’ मैले उसको कठालो समात्दै भनेँ– ‘भगवतीलाई बलि दिनलाई केही ल्याउन भ्याएको थिइनँ, तर संजोगवश यहीँ भेटेँ ।’ मैले अलि पर उभिएको वासुलाई लक्ष्य गर्दै भनेँ– ‘ए वासु काट्ने हतियारको व्यवस्था गर त !’
त्यो मान्छेको अनुहार नीलोकालो भयो । ऊ लगातार मबाट फुत्कने कोसिस गरिरहेको थियो ।
वासु र बिनीले अघि बढेर हस्तक्षेप गर्न थालेपछि मैले उसलाई छोडिदिएँ । ऊ ‘साले, तँलाई थाहा छैन, तैँले कसमाथि हातहालेको छस्, पख तँलाई’ भन्दै बाहिरतिर दगुर्यो ।
‘अनि तँलाई थाहा छैन तैँले कसको अपमान गरेको छस् ?’ म भुतभुताएँ– ‘बास्टर्ड…।’
‘ह्वाट्स रङ् विथ यु म्यान ? किन त्यसै जाइलागेको विचरामाथि ?’ वासुले मलाई आफूसँगै बाहिर तान्दै भन्यो ।
‘बिचरा ? त्यो पशु कहाँको बिचरा ?’ म कराएँ– ‘सालेलाई कोसँग कहाँ, कस्तो व्यवहार गर्नुपर्छ भन्नेसम्म त सोमत छैन अनि…!’ म बोल्दाबोल्दै चुप लागेँ किनभने वासु कम्मरमा हात राखेर विचित्र भावले मलाई नै हेरिरहेको थियो । हो त, म त्यसरी आवेशमा आउने मान्छे कहाँ हुँ र ? एकछिन मलाई के गरौँ कसो गरौँ भयो तर फेरि आफूलाई सम्हाल्दै मैले मसिनो स्वरमा भनेँ– ‘सरी, तर म यस किसिमको ‘नन्सेन्स’ सहन सक्तिनँ …।’
‘मजस्तालाई साथमा लिएर हिँड्यो भने योभन्दा खराब स्थितिको सामना गर्नुपर्छ ।’ बिनीले बिस्तारै भनी ।
‘प्लिज, अब तिमी सुरु नगर !’ वासुले हात जोड्दै भन्यो– ‘एउटैलाई चुप गराउन नसकिरहेको बेलामा…।’ त्यसपछि निक्कैबेर हामीमध्ये कसैले कोही बोलेनौँ । केवल म भुतभुताइरहेँ । दाह्रा किटिरहेँ । त्यहाँ सिर्जित भएको स्थितिसँग त असन्तुष्ट भएकै थिएँ, आफैँसँग पनि खसी थिइनँ म । किन मेरो मन–मस्तिष्क मेरैविरुद्ध हुँदैथियो यसरी ?
निकै बेर लाग्यो मलाई सामान्य हुन तर मेरा आँखाबाट त्यो दृश्य मेटिन सकिरहेको थिएन । ‘त्यो मान्छेले पनि बिनीलाई अँगालेको थियो होला, चुमेको थियो होला अनि…।’ म अगाडि कल्पना गर्न डराएँ । आफ्नो मनबाट त्यो वाहियात कुरा निकाल्न चाहन्थेँ तर मेरो मन त्यही र त्यस्तैत्यस्तै कुराको वरिपरि घुमिरहेको थियो । ‘जेसुकै होस्, जोसुकैसँग, जस्तोसुकै सम्बन्ध होस् उसको, मलाई के ?’ म आफ्नो मनलाई सम्झाउन आफैँसँग भन्थेँ तर जबजब मेरा आँखा बिनीमाथि पर्थे मेरो मनमा सुनामी उर्लन्थ्यो, पहिरो जान्थ्यो । मलाई मनले भन्थ्यो– म अहिल्यै गएर त्यो मानिसलाई खोजौँ, त्यसलाई मात्र किन, बिनीलाई छुने ऊजस्ता हरेक मान्छेलाई खोजेर कठोरभन्दा कठोर सजाय दिऊँ ।
यस्तैयस्तै चाहिँदानचाहिँदा सोचहरूसँग लड्दै मैले त्यो पूरा दिन बिताएँ । त्यसबेला मभित्र मानौ कैयौँ ‘म’ जन्मिएका थिए र ती सबैको झुकाव बिनीतिरै थियो । म त्यो झुकाव, उसको संसर्गको त्यस चाहलाई झुटो सावित गर्न मनसँग प्रतिवाद गरिरहेको थिएँ । तर मभित्र यति कोलाहल व्यप्त थियो, मेरो विरोध कमजोर सुनिन्थ्यो या सुनिँदैसुनिन्थेन । एक्लो भएर पनि कोलाहलमा घेरिरिएको त्यो पहिलो अनुभव थियो । आफ्नै मन आफ्नोविरुद्ध उभिएको पनि पहिलोपटक नै थियो ।
राती निक्कै अबेर हामी पोखरा फर्कियौँ । बाहिरैबाट खानासाना खाएर हामी होटल पुग्यौँ । त्यो रात पनि मैले वासुलाई त्यहीँ रोकेँ । आफैँमाथिको भरोसा जो उठ्दैथियो बिस्तारैबिस्तारै ।
मान्छे तबसम्म बिग्रँदैन, जबसम्म उसको नियत बिग्रन्न ! त्यो अर्को नयाँ कुरा थियो–जिन्दगी र परिस्थितिले मलाई सिकाएको ।
भोलिपल्ट बिहानैदेखि म काममा बिजी भएँ तर यसपटक मैले उसको खानेपिउने व्यवस्था मिलाएर गएको थिएँ । साँझ कामबाट फर्कंदा ऊ मलाई कुरेर ढोकैमा बसेकी थिई । मलाई अनौठो खुसी अनुभूत भयो ।
खुसी हुनका लागि सम्हालिनसक्नुको बिजनेस र सम्पत्तिको रास होइन, मनलाई छुने स–साना कुराहरू नै काफी हुने रै’छन्– यो कुरा मैले पहिले किन जानिनँ ?
साथमा बसेर चिया–खाजा खाइसकेपछि मैले चेस खेल्ने प्रस्ताव राखेँ– जसलाई उसले सहर्ष स्वीकार गरी । एकपटक चेस खोलेर बसेपछि समय चिप्लिएको पत्तै भएन ।
खाना मगाएर खाइवरी हामी टीभीअगाडि गएर बस्यौँ ।
एकपटक कुराको सिलसिला सुरु भएपछि मैले बडो सहजताका साथ आफ्नोबारेमा उसलाई सबै कुरा सुनाएँ । यहाँसम्म कि श्रेयाको मप्रतिको उच्छृङ्खल, आमन्त्रणपूर्ण व्यवहारका बारेमा समेत मैले उसलाई सुनाएँ । ऊ ध्यानपूर्वक सुनिरही । उसले मेरो कुरामा चाख देखाएकै कारण होला– आफ्ना कुनै कुरा ऊसँग सेयर गर्न पटक्कै हिचकिचाइनँ म । म, जो अड्कलेर बोल्थेँ । अड्कलेर हाँस्थेँ । आफ्ना कतिपय व्यक्तिगत र बिजनेसका कुराहरू सुप्रियासँग समेत सेयर गर्थिनँ– धाराप्रवाह बोलिरहेँ । ऊ हत्केलामा चिउँडो अड्याएर, मेरो अनुहारमा आँखा टिकाएर यसरी मेरा कुरा सुनिरही– मानौँ त्योभन्दा महत्वपूर्ण, त्योभन्दा चाखलाग्दो अर्को कुनै कुरा हुनै सक्थेन । पूरै रात हाम्रो गफ चलिरह्यो । साथमा टीभी पनि चलिरह्यो तर हामी हाम्रै कुरामा मग्न रह्यौँ । बिहानीपख, थाहा छैन कति बेला हामी दुवै त्यहीँ टीभीअगाडि नै निदाएछौँ ।
म ब्यूँझँदा ऊ मेरो दाहिने पाखुरालाई सिरानी बनाएर मस्त निदाइरहेकी थिई । म हलचल नगरी उसको त्यो अबोध अनुहारमा एकटकले हेरिरहेँ । कति सुन्दर थिई ऊ ? तर उसको यो सुन्दरता घरको लागि नभएर बजारको लागि थियो । यही सोचीसोची कुँडिइरहेको थियो मेरो मन । अनि यो बजारका लागि सजिएको सुन्दरताप्रति पलपल आसक्त हुँदैथिएँ म । एक पल ऊभन्दा टाढा बस्ने अठोट गर्थें, अर्को पल म उसको सम्मोहनमा यस्तरी लठ्ठिन्थेँ, ऊभन्दा टाढाको कल्पना कठिन लाग्थ्यो । सधैँ मेरो अधीनमा रहने मेरो मन यति अटेरी भएको थियो– मलाई आफ्नै मनसँग डर लाग्न थालेको थियो । यतिबेला मेरो अँगालोमा निदाइरहेकी उसको अबोध अनुहारले मभित्र यौटा हलचल मच्याइरहेको थियो ।
उसको तातो सास मेरो गर्धनमा ठोक्किइरहेको थियो, जसले मेरो शरीरलाई बिस्तारैबिस्तारै सल्काइरहेको थियो । म सबै मर्यादा तोडेर उसको शरीरसँग मनमानी गर्न चाहन्थेँ । चुम्न चाहन्थेँ उसलाई, अँगाल्न चाहन्थेँ तर कहीँ भित्र अन्तरआत्मामा एउटा द्वन्द्व चलि नै रहेको थियो, जसले गर्दा म अघि बढ्न सकिरहेको थिइनँ । अचानक ऊ निद्रामै सुस्तरी मुस्कुराई । उसका गुलाबी ओठ मानौँ मलाई चुनौती दिँदै सुस्तरी फक्रिए । अब मैले आफूलाई अझै रोकिरहन सकिनँ । म आफ्ना सारा मर्यादा, सारा आदर्शलाई अलग पन्छाएर उसलाई चुम्न झुकेँ तर मेरो ओठले उसको ओठलाई स्पर्श गर्न नपाउँदै तीखो स्वरमा बजेको मेरो सेलफोनको घन्टीले मेरो ध्यान भङ्ग भयो । ऊसमेत हडबडाउँदै उठेर बसी । यस क्रममा उसको टाउको मेरो निधारमा ठोक्कियो । मैले निधार सुमसुम्याउने बहानाले आफ्नो कानसम्म रातो न रातो भएको अनुहार ऊबाट लुकाउने कोसिस गरेँ ।
फोन मेरो लिगल एडभाइजर कमलको थियो । एउटा अत्यावश्यक काम भएकोले मैले अहिल्यै काठमाडौँ पुग्नु जरुरी भयो ।
भास्करलाई फोन गरेर पहिलो उपलब्ध फ्लाइटको टिकट व्यवस्था गर्न भनेर म बाथरुमभित्र छिरेँ । म निस्कँदा बिनीले मेरा सारा सामान समेटेर ब्यागमा प्याक गरिसकेकी थिई । मैले वासुलाई फोन गरेर हप्ताको अन्त्यमा गाडी काठमाडाँै लिएर आइदिन आग्रह गरेँ । उसले गाडी लिन एयरपोर्ट आउने कुरा गरेपछि मैले फोन राखेँ । म तयार हुँदासम्म बिनी पनि तयार भएर बाथरुमबाट निस्की । उसको शरीरमा त्यही कुर्था–सुरुवाल थियो, जुन उसले बागलुङ जानुअघि किनेकी थिई । म ऊसँग धेरै कुरा भन्न चाहन्थेँ तर मसँग त्यसका लागि समय बाँकी थिएन ।
उसले आफ्नो ह्यान्ड ब्याग टिपेर खोली अनि त्यसबाट गुटुमुटु पारी कोचेर राखेका केही नोटहरू झिकेर मतिर बढाई ।
‘के हो यो ?’ मैले सोधेँ ।
‘तिम्रो पैसा ।’
‘मेरो कसरी ? यो त अब तिम्रो पैसा हो । राख यसलाई !’ मैले आफ्नो वालेटबाट झिकेको पैसा उसको हातबाट लिएका नोटहरूमा मिसाएर पुनः उसको व्यागमा राखिदिँदै भनेँ ।
‘तर.. तर प्रत्यूष ! मैले त यो पैसा चुक्ता हुनेजस्तो केही गर्दै गरिनँ, फेरि कसरी…।’
‘बिनी…!’ मैले उसको हात थाम्दै भनेँ– ‘तिमीले यो पैसाको मूल्यभन्दा कैयौँ गुणा ठूलो साथ दियौ मलाई, त्यसको लागि धन्यवाद । तिमी कसरी सोच्छ्यौ त्यो त मलाई थाहा छैन तर मेरो दृष्टिकोणबाट सोच्ने हो भने यु डिजर्भ मोर द्यान द्याट…।’
उसको अनुहारको भाव एकै पलका लागि बदलियो । उसले बिस्तारै आफ्नो हात मेरो हातबाट छुटाई अनि मतिर पिठ्यूँ मोडेर भनी– ‘हिँड…नत्र तिमीलाई ढिलो हुन्छ ।’ ऊ मेरो छेउबाट हटेर अलिपर गएर उभिई ।
त्यसपछि मैले केही भन्न सकिनँ ।
एयरपोर्टसम्मको बाटो हामीले चुपचाप काट्यौँ ।
त्यहाँ वासु मेरो प्रतीक्षामा थियो । मैले गाडीको साँचो उसलाई सुम्पिएँ । बिनीलाई आफ्नो कार्ड थमाउँदै मैले यति मात्र भन्न सकेँ ‘यदि तिमीलाई कुनै पनि बेला केही मद्दत चाहियो भने मलाई सम्झे हुन्छ । सङ्कोच मान्नु पर्दैन । आई विल बि देयर फर यु ।’
उसको अनुहारको भाव एकपटक फेरि बिग्रियो । मलाई लाग्यो, उसका आँखा रसिला भए तर उसले सन्तुलित स्वरमा बिस्तारै भनी– ‘धन्यवाद प्रत्यूष ! आई विल अलवेज रिमेम्बर दिस ।’
मैले वासुसँग हात मिलाएँ । बिनीलाई अन्तिमपटक नियालेर हेरेँ । मेरो मनले चाह्यो– म उसलाई स्पर्श गरूँ, बिस्तारै अँगालूँ, तर म अघि बढ्न सकिनँ ।
‘ढिलो भयो, तँ जा यार अब…।’ वासुले बिस्तारै भन्यो । मैले झुकेर आफ्नो ब्रिफकेस र एयर ब्याग उठाएँ । थाहा छैन किन ऊ दुई कदम मतिर बढी तर त्यही बेला वासुले मेरो पिठ्यूँमा धाप मार्दै अघि बढ्न सङ्केत गर्यो । म उसलाई हेर्दै अघि बढेँ ।
त्यसबेला मलाई लागेको थियो– ऊ पनि मलाई अँगाल्न चाहन्थी । मतिर बढेको उसको कदम यही चाहनाको प्रतीक थियो सायद ।
प्लेनमा चढिसकेपछि पनि निक्कै बेर मेरो उदास मन यता र उता दौडिरह्यो । कमसेकम उसको फोन नम्बर त लिएर राखेको भए हुन्थ्यो ? मेरो मनले मलाई कचकच गरिरह्यो । तर मलाई त त्यो गाउँ जानै थिएन, फेरि ठेगाना सोधेर के गर्थें म ?
त्यो रिस र रक्सीको झोँकले बिनाकुनै प्लान मेरो जीवनमा घटित यौटा दुर्घटना मात्र थियो भनेर मन बुझाउन कोसिस गरिरहेको थिएँ म तर मेरो मन अझै अघाएको थिएन उसको साथ र संसर्गसँग । त्यसैले यो कुनै पनि बहानाले बहलिन मानिरहेको थिएन । मलाई उसको सुन्दर शरीरको चाहभन्दा उसको साथको प्यास बढी थियो सयद । नत्र आफ्नो अँगालोमा सुतेको त्यो सुन्दर शरीर देखेर म भित्रको पुरुष किन जुर्मुराएर उठेन ? शरीर त मेरो घरमा पनि थियो, मेरो शरीरको भोक मेटाउन तर सायद म साथको, समर्पणको र आफ्नोपनको भोको थिएँ जुन मेरी अर्धाङ्गिनीको शब्दकोशमा कतै थिएन । म सोचीसोची हैरान भैसकेको थिएँ– कता जाँदैथियो मेरो मन ?
०००
म प्रत्यूषमान प्रधान !
नेपालका औँलामा गन्न सकिने धनाढ्यहरूमध्ये एक उद्योगपति । बैङ्कर । धनकुवेर । पैसाले मात्र होइन, इज्जत र सम्मानको दृष्टिले पनि एकदमै प्रतिष्ठित प्रद्युम्नमान प्रधानको एक्लो छोरो । कुवेरमान प्रधानको नाति । एउटा अति साधनसम्पन्न, शक्तिशाली तर आधा–अधुरो व्यक्ति जसको जिन्दगी र मनको एउटा कुना प्रायः उदास, अपूरो र एक्लो रह्यो ।
राणा शासनकालमा मेरा हजुरबुवाको यति नाम, यति धाक थियो कि त्यो आजसम्म मेटिन सकेको थिएन । त्यसमाथि मेरा बुवा प्रद्युम्नमान त्यो जमानामा बेलायतसम्म पुगेर पढाइमा, व्यापारमा आफूलाई चिनाउन सक्ने सीमित नेपालीहरूमध्येमा गनिनुहुन्थ्यो । हजुरबुवा र बुवाको त्यो नाम, त्यो प्रतिष्ठालाई मैले घट्न दिएको थिइनँ, बरू बढाउँदै लगेको थिएँ । उहाँहरूले खडा गरेको यो बिजनेस एम्पायर आज झन् यति फैलिएको थियो, कहिलेकाहीँ सोच्न बाध्य हुन्थेँ– के गर्छु म यो सम्हालिनसक्नु सम्पत्ति र व्यापार ?
मानिसहरू भन्ने गर्दथे व्यापारको सुझबुझ र उचनीच चिन्ने, बुझ्ने क्षमता ममा पनि उत्तिकै थियो जति मेरा हजुरबुवा र बुवामा थियो । त्यसैले नै होला म आज एउटा सफल बिजनेस म्यान कहलिएको थिएँ ।
तीन वर्षअघि हृदयाघातबाट मेरा बुबाको अचानक मृत्यु भएको थियो । उहाँको अचानक मृत्युले धेरैलाई स्तब्ध बनाएको थियो । मलाई त आजसम्म पनि उहाँ अब हामीहरू बीच हुनुहुन्न भन्ने विश्वास लाग्नसकेको छैन । हट्टाकट्टा नै हुनुहुन्थ्यो । स्वास्थ्यमा कुनै त्यस्तो कम्प्लिकेसन पनि थिएन । तर जसको मिति आइपुगेको हुन्छ, उसको जाने बहाना यत्तिकै जुटिदिँदो रै’छ ।
बुवाको मृत्युको शोक, बिलौना र आँसु सकिन पाएकै थिएन, हजुरबुवाले पनि डेढ वर्षअघि मलाई एक्लो बनाएर यो संसार छोड्नुभयो । आमा त मेरो सम्झना पनि हुनुहुन्नथ्यो । तर बुवा र आमाको चिनजान, प्रेम, विवाह र छोटो सहयात्राको रोचक कथा मैले पटकपटक सुनेको थिएँ मेरा वरिपरिका मान्छेहरूबाट । खासगरी फुपूबाट ।
मैले सुनेअनुसार बुवा बेलायत पढ्न जाँदा त्यहीँ सँगै पढिरहेकी एउटी युवतीलाई मन पराउन थाल्नुभयो । त्यो मनपराइ एकोहोरो थिएन । तर माया जति नै गहिरो बसे पनि त्यस जमानामा आफ्नो जातभन्दा बाहिर गएर विवाह गर्नु प्रलयकै कुरा थियो । त्यो पनि राणाकी छोरीसँग । त्यसमाथि जातपातको कुरामा एकदमै कट्टर मेरा हजुरबुवा परिवारमा ।
पढाइ सकेर नेपाल फर्केपछि बुवाले डराइडराई हजुरबुवासमक्ष तिनै युवतीसँग विवाह गर्ने इच्छा व्यक्त गर्नुभयो ।
पहिल्यै छोरीको रोजाइलाई अस्वीकार गरेर कटु अनुभव बटुली सक्नुभएका मेरा हजुरबुवाले मेरा बुवाको इच्छाप्रति विरोध जनाउन सक्नुभएन तर विवाहका लागि उहाँको स्वीकृति मात्र पर्यप्त थिएन ।
जतिसुकै पढेलेखेको, धन सम्पन्न भए पनि एउटा नेवारको घरमा छोरी दिने मञ्जुरी त्यो राणा परिवारले सहजै दिने त कुरै थिएन ।
थुप्रै किचलो र धेरै जनाको मध्यस्थतापछि राणा परिवारकी, खुला वातावरण र सम्पन्नतामा हुर्के–बढेकी ती युवती मेरा बुवाको अर्धाङ्गिनी बनेर हाम्रो पुर्खौली घरमा भित्रिइन्, मेरी आमाको रूपमा ।
बेलायतको पढाइ सकेर आएकी राणा परिवारकी छोरीको आगमनले मेरो घरको रवाफिलो वातावरण राजसी हुनपुग्यो । बुवाआमाको त खुसीको कुनै सीमा नै थिएन । हजुरबुवा पनि खुसी नै हुनुहुन्थ्यो तर आमाको माइती कत्ति पनि खुसी हुनसकेन । त्यसमाथि म जन्मेको केही समयपछि नै कौसीबाट खसेर आमाको मृत्यु भएपछि त झन् सबै चीज कुरूप हुनपुग्यो ।
त्यसबेला हामी थापाथलीको पुरानो दरबारजस्तो घरमा बस्थ्यौँ । आमाको मृत्युपछि बुवालाई त्यो घरसँग कहाली लाग्न थाल्यो त्यसैले हामी बालुवाटारको नयाँ घरमा सर्यौं ।
आमाको माइती खलकले उहाँको मृत्युलाई हत्याको आरोप लगाएर झनै विकृत बनाइदिए भने, कतिले त्यसलाई आत्महत्या पनि माने । तर सच्चाइ के थियो, त्यो आजसम्म पनि रहस्यको गर्भमै छ ।
क्रमशः