• २०८१ माघ ९ बुधबार

स्मृतिमा बालापन २

गोविन्द सुवेदी

गोविन्द सुवेदी

“बुवाको महत्व बुझ्नु छ भने, बुवा नभएकाहरुलाई सोध” भन्ने भनाइले बुवाको अनमोलता र असामान्य महत्वलाई स्पष्ट पार्छ । बुवा नहुने व्यक्तिहरूले यसको वास्तविक मूल्य र अभावलाई अनुभव गर्छन जसले गर्दा उनीहरूको मूल्यांकन गर्न कठिन हुन्छ । वास्तवमा, मातापिता हाम्रो जीवनका आधार स्तम्भ हुन् उनीहरूको निस्वार्थ प्रेम, समर्थन, र बलिदानले हामीलाई जीवनका विभिन्न पाटोहरूमा मार्गदर्शन गर्दछ । उनीहरू बिना, जीवनका धेरै कुराहरू- जस्तो कि सुरक्षा, प्रेम, र स्थिरता- असाध्यै कठिन र असुरक्षित लाग्न सक्छ । हुनपनि मातापिताको जस्तो निस्वार्थ प्रेम कसैबाट प्राप्त हुन्न् । आर्थिक रुपले सम्पन्न र पैसाले नै सबथोक खरिद गर्छु भन्ने घमण्ड राख्नेले पनि अन्त्यमा भन्ने गर्दछन् ‘मैले कमाएको पैसाले सबै थोक किने तर, मेरो जन्मदिने बुबाआमा कतैं पाइँन ।’
‘बुबा’ यो सम्बोधनले तपाईं हाम्रो मानसपटलमा कस्तो आभास हुन्छ ? ‘मेरो आदर्श’, ‘मेरो पथप्रदर्शक’, ‘मेरो प्रगतिको कारक’, ‘मेरो हौसलाको स्रोत’, ‘मेरो असल साथी’‘यस्तै यस्तै धेरै । तपाईंले अहिले सिक्नु भएको सबै श्रेय आफ्नो बुबालाई नै जान्छ । आमाको ममताबाट हुकिर्ने बालक बुबाको संर्घष हेर्दै अघि बढ्छ । त्यसैले त बुबाको अर्थ यो ‘ब्रम्हाण्ड’भन्दा व्यापक छ । एक सन्तानका लागि, आमाबुवाको भुमिका समान हुन्छ । ममतामा बाँधिएका हामीले आमालाई भन्दा कम प्राथमिकतामा राखेको हो कि भन्ने भान पनि हुनेगर्छ । संस्कृत शब्द ‘पितृ’बाट बनेको पिताको रुप एक शब्द अनेक छन् । बुवा, बा, बापु, बाप, बाबा, अब्बा, पापा, ड्याडि, फादर पिता आदी शब्दबाट पुकारिन्छ । पिताबाटै हरेक ब्यक्तिको नाम र पहिचान पुर्ण हुन्छ । पिता ती अनमोल रत्न हुन् जसको आर्शिवाद विश्वको सबैभन्दा ठुलो सफलता प्राप्त गर्ने आधार बन्छ ।
उता बाग्लुङ्ग, कुस्मिसेरामा छँदा एकातिरबाट ठेउले खोला अर्कोतिर बाट टिमुरे खोला बग्दथ्यो । त्यसको संगमस्थल सेरा नै थियो । २०३३ साल असार १५ गतेको कुरो हो ठूलो असिना पानी परयो । अनि पहिरो जान थाल्यो । यो रातको करिब ११, १२ बजेतिरको समय थियो हामी सबै जना सुतिरहेका थियौ बुबाले उठाउनुभो अनि झ्यालबाट दोभानतिर देखाउनुभयो बिजुली चम्किादाको उज्यालोले खोलामा धमिलो पानी र घरका भग्नावशेष बगिरहेको देखिन्थ्यो । हाम्रो भन्दा उत्तरतर्फ रहेका घरसम्म सबै पहिरोले बगाइसकेको रहेछ । बुबाले मलाई र बहिनीलाई लिएर निस्कनुभो भाई जन्मिसकेको थिएन, आमा र दिदी सुशीला लाई अगाडि लगाउनुभयो । अनि हामी त्यहि शान्ति प्रा.वि. को एउटा कक्षा कोठामा संयुक्त रुपमा व्यवस्थापन गरियौं । हामीलाई एउटा कक्षा कोठामा संयुक्त रुपमा व्यवस्थापन गरिसकेपछि बुबा बाहिर सहयोगका लागि निस्कनुभयो । बिहान हामी उठ्दा त लस्करै पाँच  वटा लास सेतो तन्नाले ढाकेको तथा कयौं मान्छेहरूलाई उपचार गर्दै बुबा देखिनुहुन्थ्यो । रातको समयमा ठूलो पानी र पहिरोका कारण भएको विपत्ति, र त्यसको समाधानमा बुबाले जुन साहस र प्रतिबद्धता देखाउनुभयो, त्यो केवल एक अभिभावकको भूमिकामा सीमित थिएन, बरु समाज र मानवता प्रति गहिरो लगाव र उत्तरदायित्वको भावना पनि थियो । बुबाले देखाएको सक्रियता र जिम्मेवारी, यो घटनाले बुबाको समर्पण र सेवाभावलाई प्रस्ट पार्दथ्यो । यस प्रकारको घटनाले परिवार र समुदायको एकता र सहयोगको महत्वलाई अझ स्पष्ट बनाउँथ्यो । उपचार गर्ने उहाँ एक्लो चिकित्सक हुनुहुन्थ्यो भने घाइतेहरु धेरै थिए केही दिन विद्यालयको बसाइपछि हामी पुन तेहि घरमा बस्न थाल्यौं ।
कुस्मिसेरा शान्ति प्रा.वीमा पढ्दा पानीसँग खुब पौठी जोरी खेलियो । ठेउले खोला, टिमुरे खोला, तिनले बनाएको रह अनि बिजुली निकाल्न बनाएको टंकी यी सबैमा पौडी खेल्ने प्रयास हुन्थे । पानी खाइन्थ्यो बुबा अङ्कल दाजुहरूले उद्धार गर्नुहुन्थ्यो । नजानी नजानी डुबुल्की मार्ने लक्ष्मण, देवी बहिनी, प्रेमदाई, हरि आदि कैयौ साथीहरु हुन्थ्यौं । यता गैंडाकोट आएपछि नारायणी नदी भेटिईन । पौडी सिक्न निकै मेहनत गर्नुपरर्यो । विष्णु, टिकाराम, शालिग्राम, गोविन्द, नारायण, दर्शन, राम, कालिदास आदि भएर पौडी खेल्थ्यौ । लामो प्रयासपछि जानियो पनि । अनि नारायणी नदी वारपार पनि गरियो पौडेर । एकपटक हामी सबै पौडेको देखेर भाइ दीपकका साथीहरु जनबन्धु, राजेन्द्र र ऋषभ पनि नदीमा पसे । पौडी खेल्न नआउने रहेछ । नदीमा छटपटाएको जस्तो देखे, नजिकै म थिए अन्त के थियो बचाउन भन्दै हाम फाले । एक हिसाबले म पनि बच्चा दुश्साहस गरें तर त्यो दुश्साहस फलदायी भयो । मैले समात्न त सकिन तर मेरो मोटो जनैमा तिनै जनाले समात्न भ्याए अनि बाहिर निकालें । पहिला त डर लाग्यो पछि भने गर्वले छाती फुलेर आयो । पौडी खेल्न जानेको फाइदा त्यही नै भयो ।
जनक मा.वि.मा पढिन्थ्यो, २०३६ सालमा हामी जस्ता फुच्चाहरूले भने स्वबियुको निर्वाचनमा कक्षा ४ देखि १० सम्मका विधार्थीले मत राख्न पाउने चलन थियो । घरमा एक हिसाबको राजनीतिक माहोल थियो बुवा दिदी राजनीति गर्नुहुन्थ्यो कहिलेकाहीँ भित्तामा लेख्न तथा पम्प्लेटहरु वितरण गर्न म पनि साथी राघव, शान्ता, टङ्क आदिसँग हिँडिन्थ्यो । मलाई पनि छोएछ राजनीतिले एउटा सुनेको कविता लेखेर साथी बाबुराम आचार्यलाई पढ्न दिएँ । उनले पढे अनि अरुलाई पनि पढ्न दिएछन् । गर्दै गर्दै विद्यार्र्थी नेता प्रेम तिवारी र बामदेव घिमिरे दाजुको हातमा परेछ । हस्ताक्षर निरीक्षण गर्दै विद्यालयभरी हिड्नु भो । मेरोमा आएपछि मिल्यो अनि त के थियो ? म फुच्चे ती दुई एमानका दाजुहरूले हप्काउने दप्काउने गर्दा सातो पुत्लो उड्यो । पछि हरिहर आचार्य गुरुले मध्यस्थ गर्नुभयो अनि बाल बाल बचियो । त्यही विद्यालयमा पढ्दा साथीहरु बुद्धि, शरण, रोशन, सालिक, विष्णु, गोविन्द, टिकाराम, बिन्दु, डोलराज, राम आदि धेरै थियौँ । दिउँसोको खाजा भुटेका मकै हुन्थे डोलराजले निबुवा ल्याउँथे साथसाथै नुन खुर्सानी पनि अनि बिन्दु सानैदेखि उद्यमी थिए । लेयर्स कुखुराको फार्म बुबाले राखिदिनुभएको थियो अनि अण्डाको खाजा ल्याउँथे । गोविन्दको घरमा बेलौतीको रुख थियो । धेरै फल्थ्यो, बाह्रै मास फल्थ्यो । उनले बेलौती (अम्बा) ल्याउँथे । बाडीचुडी खाइन्थ्यो । अनि कसैले पैसा लिएर आउँथे । एक मोहरको चटपट, बटारे मिठाई “लाले” दाईले विद्यालय बाहिर बेच्थे त्यही किनेर पनि खाइन्थ्यो ।
विद्यालयमा राजकुमार सरसँग खुबै डर लाग्थ्यो । सँगसँगै चन्द्रकान्त सरसँग पनि उहाँहरुले सम्पूर्ण विद्यार्र्थीलाई अनुशासनमा राख्नुभएको थियो । विद्यालयमा आँपका रुखहरु थिए । सडकमा दुर्घटना भएको कुकुर अथवा त्यस्तै जनावरको सहादत भयो भने राजकुमार सरले डोरीले बाँधेर ल्याउनु हुन्थ्यो अनि लालु दाईलाई आँपको रुखमुनि खाडल खन्न लगाई गाडनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो अबको वर्ष लटरम्म आँप फल्छ । हुन्थ्यो पनि त्यस्तै । विद्यालयमा अलि माथिल्लो कक्षामा गएपछि पूर्व व्यावसायिक विषय पढ्नुपथ्र्र्यो । हामीले व्यवहारिक ज्ञानका लागि विद्यालय हाताभित्र सागसब्जी, मुला, गाजर आदि लगाउँथ्यो । अनि प्रथम द्वितीय हुनेले पुरस्कार पनि पाउँथ्यौ । एकपटक पिकनिक गयौं घरबाटै दुध, चामल, चिनी, आलु आदि अनि थाल, कचौरा र गिलास बोकेर पकाउने भाडा सहित गएका थियौं । सरले हामीलाई ७ समुहमा विभाजन गर्नु भो अनि खिर बनाउन लगाउनु भो राम्रो मिठो पकाउनेलाई पुरस्कृत गर्नुभयो । त्यसपछि सबैले बाँडीचुडी गरेर खाइयो । खुब रमाइलो भो ।
शुक्रबार शनिबार बिदाको समय जङ्गलतिर गइन्थ्यो । अहिलेको जस्तो खाना पकाउन ग्यास थिएन । दाउराको भर गर्नुपथ्र्र्यो । त्यो दाउरा जंगलबाट प्राप्त हुन्थ्यो । हामी दाउरा लिन जंगल जान्थ्यौ दिदी भाई, छरछिमेक आदी सबै मिलेर । जंगलमा जामुन एक प्रकारको फल पाइन्थ्यो त्यो सँगसँगै अमला, पानी अमला, असारे, कुसुम, काफल आदि प्रशस्त फलहरू पाइन्थे । त्यो खाइन्थ्यो । कहिलेकाहीँ पाकेको भलायो पनि टिपिन्थ्यो । त्यसको झुसले एलर्र्जी बनाउँथ्यो । हामी भलायो उछर्यो भन्थ्यौं । घाउ हुन्थ्यो कैयौं दिन बिरामी परिन्थ्यो । अनि त्यही भलायोसँग मित लायो भने सन्चो हुन्छ भन्ने चलन थियो । मैले मित लगाउन त परेन तर मान्छेहरु मित लगाउँथे । कहिलेकाहीँ दाउरा खोज्दै मौलाकालिका मन्दिर सम्म पनि पुगिन्थ्यो । त्यतिबेलाको मन्दिर अहिलेको जस्तो थिएन टिनले छाएको सानो, धमीरा लागेको मौलो अगाडि रहेको देखिन्थ्यो । मन्दिरमा बाघ दैनिक ढोग गर्न दर्शन गर्न आउँछ भन्ने गर्थे मानिसहरु अनि हामी मन्दिरमा धेरै बेर बस्दैनथ्यो  डर लाग्थ्यो । त्यतिबेलाको समय सबैको घरमा वस्तुभाउ हुने नै गथ्र्यो । कसैकोमा गाई कसैकोमा भैँसी कसैकोमा दुवै आदि कसैकोमा बाख्रा कुखुरा आदि हुन्थे । हाम्रो घरमा पनि पार्वती भन्ने गाई थिइन् तिनको सेवा गर्नुपथ्र्र्यो । एउटा भैँसी पनि थियो तिनको सेवा विशेषत आमाले नै गर्नुहुन्थ्योे । घाँस पानी सरसफाई दुहुने आदि कहिलेकाहीँ हामीले पनि घाँस काट्नुपथ्र्र्यो । दिदी सुशीला र म भएर घाँस काट्थ्यौं । बेलुकाको भाग समेत बिहान नै तयार पारेर बेलुकाको खेल्ने समय निकालिन्थ्यो ।
अनि साँझको बेला सबै मिलेर ओल्लो घर पल्लो घर मकैको झोता बनाउने चलन थियो । मकैको झोता बनाउन सुत्ला निकाल्नु पथ्र्यो । हामी केटाकेटी त्यही काम गथ्र्यौं । भने पाकाहरूले झोता बनाउँथे । काम गर्दा गर्दै निन्द्रा लाग्थ्यो, त्यस्तो बेला बुबाले अकबर बिरवल लगायत अन्य साहसी कथाहरु भन्नुहुन्थ्यो त्यस्ता कथाले बाल मनमा एक प्रकारको साहस भर्ने रहेछ र त्यो अमिट बन्ने रहेछ । उमानन्द माइलाबा डिलीप्रसाद बुवा जय नारायण दाई नानीदाई, भुवानी दाई, बुबा यी सबैले आफूले बुझेको जानेको र भोगेको देश विदेशका साहसका कथाहरु भन्नुहुन्थ्यो । हामी दङ्ग परेर सुनिरहन्थ्यौ अनि दुई तीन साँझमा मकै बनाएर पनि सिद्धिन्थ्यो । त्यसपछि सुली हालिन्थ्यो । कसको कति जग्गा छ भन्ने मकैको सुली र परालको टौवाबाट मान्छेहरु अड्कल काट्थे ।
विद्यालय बङ्क गरेर फिल्म हेर्न जाने पनि गर्दथे साथीहरु । त्यतिबेला गणेश हल् र टाणीमा रहेको चलचित्र भवन मात्र थिए । विशेषगरी शालिग्राम, कालिदास, राम दाईहरु विद्यालय बङ्क गरेर पनि नयाँ फिलीम हेरिहाल्थे । शुक्रबार दुई घण्टी पढ्ने अनि फिलीम हल जाने एकपटक म पनि शालिग्राम, कालीदास, गोविन्दसँग फिलीम हेर्न गएको छु । साँझ ३ बजे डराई डराई घर आइन्थ्यो । कहाँ गएको भनेर बुवाआमाले झपार्नुहुन्थ्यो अनि एकछिन पछि आमाले सम्हाल्नु हुन्थ्यो त्यसपछि बल्ल लामो सास तानिन्थ्यो । बुबाले नियमित बिहान ४ बजे उठाउनुहुन्थ्यो। बिहान पढेको दिमागमा अमिट भएर बस्छ भन्नुहुन्थ्यो साँझ पनि १० बजेसम्म अनिवार्य बस्नुपथ्र्यो । सेरा हुँदा बिजुलीको उज्यालोमा पढे पनि यता गैडाकोट आएपछि टुकी तथा लालटिनको भर पर्नुपथ्र्यो । एकपटक टुकी बालेर पढ्दै थियौँ दिदी र म अनि बहिनी र भाइ छेउमै सुतेका थिए । एकछिनपछि दिदी पनि निदाउनु भएछ म भने बसीबसी पढ्दै थिए। निद्राले झकाएछु । कपाल टुकीको रापले जलेछ । अलि तर्केर निदाएछु । एकछिन पछि त टुकी ढलेर सिरक डस्ना जल्न थालेछ । कसो बुबाले थाहा पाउनुभएछ र बाँचिए छ । त्यसपछि केही दिन पढ्दा टुप्पी बाँध्न सिकाउनु भो । यसले झकाउँदा बिउँझाउने हुँदो रहेछ अनि सम्भावित दुर्घटनाबाट बच्न सकिने रहेछ ।
दुनियाँका सबै बैंक खाली भएपनि सन्तानका लागि पिताको गोजी सँधै भरी हुने मान्यता राखिन्छ । जहाँ आवश्यकता भन्दा पहिले इच्छापुर्ति गर्ने क्षमता हुन्छ । एक सन्तानको जीवनमा पिताको स्थान सबैभन्दा महत्वपूर्ण र शीर्ष स्थानमा हुन्छ । आर्दश सन्तान बनाउने पिताको संघर्ष एक विशाल तपस्या हो । सन्तानको पालनपोषण नैतिक मूल्य, मान्यता, अनुशासन, शिष्टाचार र संस्कार सिकाउने प्रथम गुरु नै पिता हो । अधिकांश धार्मिक शास्त्रमा पितालाई उच्चस्थानमा राखी व्याख्या गरिएको हुन्छ ।
बुबाले हाम्रो शिक्षा दिक्षा कसरी राम्रो बनाउन सकिन्छ भन्ने तर्फ चिन्तन मनन गरिरहनुहुन्थ्यो मलाई डाक्टर बनाउने इच्छा भएको पटकपटक व्यक्त गर्नुहुन्थ्यो । त्यस्तै दिदीलाई पनि उच्च शिक्षा हासिल गराउने इच्छा थियो । दिदिको चाँडै विवाह भएका कारण आइ.ए. सम्म मात्र गर्नु भो । भाइ र बहिनीले नेपाल राष्ट्रिय संसेर प्रावीमा पढ्थे । बोर्डिङ पढाउने चलन थिएन । अनि बुबालाई लागेछ भाइलाई बोर्डिङ पढायो भने यसको अंग्रेजी शिक्षाको आधार राम्रो बन्नेछ । प्रेम सापकोटा अङ्कल र टुनीबोटे जेठा मामालाई पनि उत्प्रेरित गर्नुभएछ । अनि भाइ दिपक, गंगा, गणेश संगै सनफ्लावर बोर्डिङ स्कुल चितवनमा पढ्न जान थाले । अहिले भाइले जनक कलेज पढाउँछन् वकिल पनि हुन, गणेशले नेराश माविमा पढाउँछन, गंगा भाइ बीपी कोइराला क्यान्सर हस्पिटलमा डाक्टर छन् ।  बहिनी बिमलालाई पनि नेरास बाट जनक स्कुलमा पढाइ राम्रो छ भनी सारीदिनुभयो उनले लगातार पढिन् समाजशास्त्री भइन अहिले संघसंस्थामा कार्यरत छन् ।
कान्छा बुबाको घर २०३६ सालमा भाइ प्रकाशको जन्म भो । खुसियाली छायो । विशेषगरी हजुरबुबा र हजुरआमा दङ्ग हुनुहुन्थ्यो तर भाइको खुट्टामा थोरै समस्या देखियो अनि त्यसैको चिन्ता हुने नै भो । हामी केटाकेटी भन्दा पनि पाका सबैलाई । अनि उसको उपचार कसरी, कहाँ गर्ने सन्दर्भमा छलफल सुरु भो । पाटन हस्पिटल, पाटनमा लैजाने निधो भो । २०३९ सालतिर काका काकीले भाइलाई लिएर काठमाडौँ जानुभयो उपचार सुरु भो केही दिनपछि हजुरबाबालाई लिएर बुबा पनि जाने हुनुभयो । मलाई सोध्नुभो जान्छस् ? म पनि उत्साहित भइहालें । काठमाडौँ सहर घुम्न जान । पाटन हस्पिटल गइयो भाइको अप्रेसन भइसकेको थियो डाक्टरले अण्डा, कुखुराको मासु खान लगाउँथे हजुरबुबाले त्यसो गर्न दिनु हुन्थेन अनि हजुरबुबा आराम गरेको बेला बुबा र काका भएर भाईलाई मासु खुवाउनु भएको याद छ । म पनि पहिलोपटक काठमाडौँ सहर पुगेको घुम्ने रहर जो थियो । काकीसँग भाइ प्रकाशलाई छोडेर हामी ३ पुस्ता हजुरबुबा, बुबा, काका र म पाटनमा रहेको बृष्ण मन्दिर लगाउतका स्थानहरु २०३९ सालमै अवलोकन गर्ने अवसर प्राप्त गरेको याद अहिले पनि ताजै छ ।
समाजिक रुपमा पिता सन्तानको सुरक्षा, सहायता, र जिम्मेदारी निभाउने ब्यक्तिको रुपमा परीचित छन् । सन्तान उत्पादन हुन नारीको अतिरिक्त जुन पुरुषको सहयोग हुन्छ, उनैलाई पिता भनिन्छ । तर पिता जैविक रुपमा मात्र नभई पालनहारका रुपमा स्थापित छन् । बालापनमै छदाको अझै एउटा याद ताजै छ । यो पनि उल्लेख गर्नु बान्छनीय ठान्दछु । एकपटक बुबाले एकजना बच्चाको उपचारको क्रममा मलाई बोलाउनु भो । उसलाई पिलो आएको रहेछे । म उहाँको सामुन्ने उपस्थित भएँ । अनि बुबाले त्यो बच्चाको खुट्टामा पिलो आएको थियो हो त्यसको उपचार गर्दै हुनुहुन्थ्यो । अनि त्यसलाई चिर्नुपर्ने थियो । अनि मलाई हेर्न लगाउनु भो । एकछिन पछि नै मैले हेर्र्नै सकिन । मलाई हेर्न उत्प्रेरित गरिराख्नु भो तर मलाई लाग्यो म अब चाहिँ चक्कर आएर ढल्छु । अनि बुबालाई व्यक्त गरें । अनि त्यति नै बेला बुबाले मलाई एक थप्पड मेरो गालामा रन्काइदिनुभयो । त्यसपछि मेरो चक्कर कहाँ गयो कहाँ गयो ? अनि मैले त्यस बच्चाको सम्पूर्ण उपचार हेरें ।
बुबाले सोध्नुभो अब ठिक छ मैले व्यक्त गरे ठिक छ बुवा त्यसपछि जीवनभर आज उपरान्त मलाई चक्कर आउने समस्या कहिले पनि आएन यसरी उपचारको क्रममा बुबाले उत्प्रेरित गरिरहनु हुन्थ्यो । यो घटनामा बुबाको उद्देश्य स्पष्ट थियो मलाई कठिन परिस्थितिहरूमा आत्मनिर्भर र बलियो बन्न प्रोत्साहित गर्नु । जीवनमा विभिन्न चुनौतीहरूको सामना गर्दा बुबाले मलाई सिकाउन खोजेको पाठ यही हो कि समृद्धि र आत्मविश्वासको साथ समस्या समाधान गर्नुपर्छ, र यहि सन्देश जीवनभरको प्रेरणा बनेको छ । यसरी, बुबाको शिक्षाले जीवनभर हामीलाई मार्गदर्शन गरेको छ, र उहाँले गरेका त्यस्ता कार्यहरूले विकास र व्यक्तित्वमा गहिरो प्रभाव छोडेकाछन् ।

नवलपरासी