समाचार

हरेक जन्मसँगै
सालनाल जस्तै जोडिएर आउँछ मृत्यु
हाम्रो हरेक मोडमा
ऊ छायाँ भएर पछ्याइरहन्छ
र पनि हामी आफैँलाई ढाँट्न लालयित छौँ
माया, प्रेम, तृष्णा, भोग
जति भोगे पनि अघाउँदैन मान्छे
भरिन्न लोभको भीमकाय भकारी
आकाङ्क्षा, उत्तेजना र अभिलाषाको
मायावी साङ्ग्लोले
जब बाधिन्छ मान्छे
विशाल सुन्दर धर्ती- आकाशको अनन्तता र
स्वतन्त्रताको निर्विघ्न खुल्ला राजमार्ग पनि
साँघुरो र अप्ठ्यारो लाग्न थाल्छ।
यस धरतीका असङ्ख्य जीवहरूको पङ्क्तिमा
बस्, यौटा जीव न हो मान्छे
तैपनि यो मरणशील जीवनमा
किन राख्छ अमरत्वको लालसा मान्छे ?
किन खोज्छ अविचलित स्थायित्वको ग्यारेन्टी ?
अत्याधुनिक हतियारले सुसज्जित भएर पनि
किन विवश छ सुन्न खतराको कर्कश घन्टी पटकपटक ?
मान्छेले के मात्र गरेन आजसम्म
सक्ने भए मृत्युलाई नै फ्रड गथ्र्यो
या
गथ्र्योे मृत्युकै बन्ध्याकरण ।
आफैँलाई ढँंटीढाँटी
जीवनको अकाट्य सत्यसँग
हरेक मान्छे भाग्न खोजिरहेछ
र पनि समानान्तर भएर पछ्याइरहेछ मृत्यु हामीलाई
एक दिन हुनु नै छ आम्नेसाम्ने
तैपनि हामीलाई आफ्नै जिजीविषा प्यारो छ
हामी द्विविधाग्रस्त भय बाँचिरहेछौँ ?
या
लेखिरहेछौँ जीवनकै बारेमा कन्फेसन ?
(टेक्सस, अमेरिकानिवासी सुमन चर्चित कवि हुन् ।)
[email protected]