• २०८१ श्रावाण ११ शुक्रबार

नारी ! तिमी कहाँ छौ ?

प्रवासी सुमन

प्रवासी सुमन

हरेक बिहान
घाम उदाउनुपूर्व नै
खोलेर मनका झ्याल- ढोका
सल्काएर आशाको मगमगाउँदो धूपबत्ती
उदाउँदो सूर्यसँग बात मारिरहेका
तिम्रा नै हुनुपर्छ यी सुन्दर एक जोर आँखा
लहरै गमलामा फक्रिएका फूलका बोटहरूमा

मगमगाइरहेछ तिम्रै पसिनाको सुगन्ध
घामको उज्यालो सँगै
आँगनमा जम्मा भएका यी
परेवा र भँगेराका बथान
चारो खोज्न आएका हुन्
या आएका हुन्
तिम्रो उदात्त मातृत्वको न्यानो घाम ताप्न ?
भान्साबाट हरर्र मगमगाइरहेको मीठो बासना
तिम्रै जादुमय कलाको विस्तारित तरङ्ग हुनुपर्छ
कार्यालयको फ्रन्ट डेस्कमा
आगन्तुकलाई स्वागत गरिरहेको हँसिलो अनुहार र
कि- बोर्डमा बिजुली- वेगमा नृत्यरत ती मसिना औँलाहरू
तिम्रा नै हुन्, नितान्त तिम्रा ।

दिन रात नभनी
अस्पतालका शय्यामा रोगीका चहराइरहेका घाउहरू
स्नेहको शीतलताले मुसारिरहेका
ती गुनिला हातहरू
तिम्राबाहेक अरू कसका हुन सक्छन् र ?
ए नारी !
तिम्रो सौन्दर्य र शिल्पले स्पर्श नगरेको
कुन ठाउँ छ र बाँकी यो धर्तीमा ?

तिम्रो हृदयको विशालतासामु
स्वयम् विशाल धर्ती पनि
आफ्नो सीमाको लघुताभासले झुक्दछ
तिम्रो प्रेमको न्यानो अँगालोले बाँधिन्छ
आकाशको अनन्तता
प्रतिस्पर्धा गर्ने आँटै गर्दैनन्
छङछङ बग्ने झरनाहरू
तिम्रो संवेदनाको बहावसँग
तिमीबाट नै सिकेको हुनुपर्छ हिमालले
जस्तोसुकै प्रतिकूलतामा पनि दृढ आत्मविश्वासले उभिन
तिम्रै भरभराउँदो सुन्दरताको आभाले
उज्यालिन्छन् फूलहरू
हरेक घरमा तिमी
उषा भएर उदाउँछ्यौ र
धर्ती बनेर अँगाल्छ्यौ जीवनका सुख- दुःखलाई
चुक घोप्टिएजस्तो अँध्यारो रातमा पनि
शीतल जून बनेर छर्दछ्यौ प्रेम
र त सम्भव भएको हो धर्तीमा-
सिर्जनाको लहलहाउँदो सुन्दर खेती
अजस्र प्रेमको अङ्कुरण र
उदात्त मानवताको सीमाहीन विस्तार ।

ए नारी !
तिमी जीवनका प्रत्येक अप्ठ्याराहरूमा छ्यौ
मानव सभ्यताका कठिनतम क्षणहरूमा
तिम्रै संयमता र विवेकले
सम्भव तुल्याएको हो सहजताको बाटो
विगतदेखि वर्तमानसम्म
तिमी जताततै छ्यौ
र पनि तिमी कतै छैनौ
तिमी राजनीतिको केन्द्रमा छैनौ
तिमी प्रशासनको धुरीमा छैनौ
तिमी न्यायलयको निसाफमा छैनौ
तिमी सुरक्षाको किताबमा छैनौ
सबैभन्दा पीडादायक त यो छ कि
जननी भएर पनि
तिमी आफ्नै सन्तानको नागरिकतामा छैनौ ।


(टेक्सस, अमेरिका निवासी सुमन चर्चित कवि हुन् ।)
[email protected]