• २०८१ चैत १ शनिवार

अस्तित्व

राधिका कल्पित

राधिका कल्पित

कल्पन्छु एकछिन
मनभित्रको यो धूमिल आकृति
प्रकट भएर आओस् मेरो सामुन्ने सूर्य बनेर
म कुन्ती बनेर आँखा चिम्म गर्दै
भाग्य परीक्षण गरिरहेको वेला
‘तथास्तु’ भन्दै मेरा अनपेक्षित विचारशून्यतालाई
गर्भिणी बनाएर प्रमाणित गरिदियोस्
पूर्वजन्मका अवशेषहरूले भेट गराएका रहस्यहरू ।

हाम्रो भेट संयोग मात्र थिएन
हाम्रो प्रेम भावावेश मात्र हैन
इन्द्रिय सुखभन्दा धेरै पर एकाकी ध्यानमुद्रामा
जसरी भेट्छ एक योगीले विनासंभोग सुखानुभूति
कुनै तपस्वीले अर्को जन्मका लागि मागेको वरजस्तै
जसरी द्वापरयुगमा कृष्ण अवतारमा विष्णु धर्तीमा आउँदा
सँगै जन्मेकी थिइन् लक्ष्मी, राधाको रूप धारण गरेर
तिमीलाई लाग्दो हो
या अरू कसैलाई लाग्दो हो
कुनै स्वार्थले वशीभूत भएर म तिमीमा जोडिएँ
या वासनाले तृषित भएर तिमीमा लुटपुटिएँ
म त छुटेको आत्मासँग भेटिएकी मात्र पो हूँ
जसरी ‘आदम’ का लागि जन्माइएकी थिइन् ‘ईभ’
जसरी सतीको अस्तित्वपछि जन्मिएकी थिइन् पार्वती
जसरी मुटुबाट छुटेको रगत मुटुमै फर्कंन्छ
जसरी वीजबाट हुर्केको वृक्षले फेरि वीज फर्काउँछ
त्यसरी नै प्रेमको अनवरत चक्रमा
पृथ्वीले सूर्यलाई परिक्रमा गरेजस्तै
म तिम्रो अक्षमा घुमिरहन्छु
मानौँ कुनै अदृश्य शक्तिले तानिरहेको छ
र त वायुमण्डलमा वायु अडिरहेको छ ।

कुनै पुरानो नाटक मञ्चन हुँदैगर्दा
अर्केस्टामा ‘क्लासिकल कोरस’ बिर्सेजस्तो
हिँड्दाहिँड्दैको बाटो हराएपछि
नयाँ बाटो खन्दैजाँदा तिम्रै आँगनमा पुगेपछि न हो
तिमीसम्म आएर रोकिएको मेरो यात्रा
जसरी सिलिन्डरको बिर्को खोलिदिएपछि
वायुमण्डलमै विलय हुन्छ सङ्कुचित हावा
त्यसरी नै हराएकी हुँ म तिमीमा
जसरी हरेक नदी बग्दै गएर सागरसँग मिलन हुन्छ
भलै हरायो होला मेरो एकल अस्तित्व
तर भेटिएको हो जीवनको सार तिमीमा हराएपछि
सागरको विशालतामा मिसिनु
या आकाशको उचाइमा अग्लिनु
जसरी एक–एक धागोबत्ती
लक्षबत्ती भएर बल्नुको महिमा छ
जसरी एक–एक धाराको पानी
सहस्रधारा भएर बग्नुको गरिमा छ
त्यसरी नै तिमीमा समाहित भएर आफूलाई हराउनु
जून उदाउँदा तारा मलिन बन्नुजस्तै हो
कम्तीमा
जूनलाई हेर्न खोज्नेहरूले
शिर उठाएर हेर्दा देख्न पुग्नेछन् मलाई
तारालाई मात्र कसले खोजीखोजी हेर्छ र ?
…………………………………………………………………
(अङ्गे्रजी साहित्यमा स्नातक कल्पित समाजशास्त्रमा स्नातकोत्तर हुन्)
[email protected]