• २०८१ फागुन १ बिहीबार

क्याप्टेन वेद उप्रेतीको भूस्वर्गको परिकल्पना सुदूरपश्चिम लोकार्पण

काठमाडौँ–

क्याप्टेन वेद उप्रेतीको कृति ‘दुर्गम विस्मयलोक/भूस्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’को लोकार्पण गरिएको छ। शनिबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुस्तकको लोकार्पण गरेका हुन् । पुस्तक लोकार्पण गर्दै कांग्रेस सभापति देउवाले क्याप्टेन उप्रेतीद्वारा लिखित पुस्तकले सुदूरपश्चिमको विकासको खाका चित्रण गर्नुका साथै सिंगो नेपालको पर्यटन तथा पूर्वाधार विकासमा सहयोग बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा लेखक उप्रेतीले १० वर्षको प्रयासपछि सुदूरपश्चिमको वास्तविक चित्रण गर्ने पुस्तक पाठकसामु ल्याउन सफल भएको बताए । आफूले पुस्तकमार्फत सुदूरपश्चिम समग्र विकासका लागि भावी योजना निर्माण, अध्ययन अनुसन्धान तथा भव्य सम्भावना बोकेको क्षेत्र हो भनेर चिनाउने प्रयास गरेको उनको भनाइ थियो ।

पुस्तकमा सुदूरपश्चिमलाई समृद्ध र प्रगतिशील क्षेत्रका रूपमा विकास गर्न सकिन्छ भन्ने सन्देश दिने तस्वीरसहितका विवरण प्रस्तुत गरिएका छन् । १२० पृष्ठको पुस्तकमा लेखक उप्रेतीले विभिन्न समयमा कैद गरेका ९४ रंगिन तस्वीर समावेश छन् । पुस्तकमा सुदूरपश्चिमको भौगोलिक अवस्था विकट भए पनि आफैँमा भव्य रहेको चित्रण गरिएको छ ।

यस्तै, पुस्तकले सुदूरपश्चिममा अल्पकालीन र दीर्घकालीन उद्देश्य तथा ठोस योजना बनाई पर्यटन, रोजगारी तथा औद्योगीकरणको राम्रो विकास गर्न सकिने प्रचुर सम्भावनालाई केलाएको छ । पुस्तक अध्येता, अनुसन्धाता, पर्यटक, विद्यार्थी तथा योजनाकारलाई मात्रै नभएर राजनीतिज्ञ, उद्योगपति र सामाजिक कार्यकर्तालाई समेत उपयोगी हुने लेखक उप्रेतीको विश्वास छ ।

नेपाली र अंग्रेजी दुवै भाषामा विषयवस्तुको वर्णन गरिएको यो पुस्तक बिक्रीबाट प्राप्त रकम वेद उप्रेती ट्रस्टमार्फत सुदूरपश्चिमका क्यान्सर बिरामीलाई सहयोग गरिने लेखक उप्रेतीले जानकारी दिए ।