• २०८१ माघ ३० बुधबार

साहित्यकार चटौतको अभिनन्दनग्रन्थ लोकार्पण

काठमाडौं ।

‘आर.डी. ‘प्रभास’ चटौत अभिनन्दनग्रन्थ’ एक समारोहबीच लोकार्पण गरिएको छ । साहित्यकार चटौतको ८८औँ जन्मदिनको अवसर पारेर राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरलगायत व्यक्तिहरूले यस ग्रन्थको लोकार्पण गरेका हुन् ।

काठमाडौंमा एन.डी. ‘प्रकाश’ चटौत स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष मगरले भाषासेवी साहित्यकार चटौतलाई अभिनन्दन पनि गरे । सो अवसरमा अध्यक्ष मगरले लेखक–कविले जस्तो चाहन्छन, त्यस्तै संसार निर्माण गर्नसक्ने उल्लेख गर्दै चटौतले आफ्नै संसार निर्माण गरेको बताए ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति कवि बैरागी काइँलाले साहित्यकार चटौतले डोट्याली शब्दकोशको अनुसन्धान र निर्माणमा दिएको योगदान उल्लेख्य रहेको बताए । प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले उक्त ग्रन्थमा पाठकले आठ दशकको इतिहास फेलापार्ने उल्लेख गरे ।

कवि तुलसी दिवसले भाषासाहित्यमा चटौतको योगदानको चर्चा गरे ।डोट्याली भाषाका कोशकार, भाषासेवी एवं महाकाव्यकार चटौतले पुराना दिन स्मरण गर्दै डोट्याली भाषामा काम गर्दाको क्षण सम्झना गरे । कार्यक्रममा ग्रन्थका प्रधानसम्पादक डा. पुष्करराज भट्ट र यज्ञप्रसाद उपाध्यायले पनि आफ्नो मन्त्व्य राखेका थिए ।