• २०८१ फागुन १ बिहीबार

ललितकुमार न्यौपानेको मुक्तकसङ्ग्रह ‘मनका तरङ्गहरू’ सार्वजनिक

काठमाडौं

नेपाल प्रज्ञा प्रतिष्ठान काठमाण्डौको पारिजात सभा कक्षमा आयोजित एक कार्यक्रममा साहित्यकार ललितकुमार न्यौपानेको मुक्तकसंग्रह ‘मनका तरङ्गहरु’ सार्वजनिक गरिएको छ । दुबईमा प्रोपर्टी व्यवसाय संचालन गर्दै आएका न्यौपानेको उक्त कृति नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको प्रमुख आतिथ्यमा विमोचन गरिएको हो । न्यौपानेका सम्पादित तीन कृतिहरु सोलुका सुसेली भाग १, सोलुका सुसेली भाग २ र उदयपुर दर्पण यस अघि नै प्रकाशित भइसकेका छन् ।

मुक्तक कविताको लघुतम रूपअन्तर्गत पर्ने सङ्क्षिप्त तर प्रभावकारी काव्यविधा मानिन्छ । न्यौपानेको मुक्तकमा संरचना, भाषा, लय, विचार, भाव वा सन्देश सबै पक्ष बलियो रहेको कार्यक्रमका प्रमुख अतिथिको भनाइ थियो । परदेशको व्यस्त जीवनमा पनि नेपाली साहित्यलाई मन मुटुमा राखेर फुर्सदको समयमा सामाजिक संजालमा पोष्ट गरिएका २२४ ओटा मुक्तकलाई संकलन गरि २२४ ‘मनका तरंग’ मुक्तक संग्रह पुस्तकको रुपमा प्रस्तुत गरेको न्यौपानेले बताए । सामाजिक संजाल तथा मिडियाको सुविधाका कारण मुक्तकको लोकप्रियता चुलिँदै गएको र मुक्तकको आफ्नै विशेषता भएको हुँदा आफू यस विधातर्फ आकर्षित भएको न्यौपानेको उनको भनाइ छ ।

प्रवाशमा रहकोले न्यौपाने भने विमोचन कार्यक्रममा उपस्थित थिएनन् । आफ्नो अमूल्य समय दिएर विमोचन कार्यक्रम सफल पार्न भूमिका निर्वाह गर्ने प्रमुख अतिथिलगायत विशिष्ट अतिथि, समिक्षक तथा आयोजक ‘हातेमालो साहित्य संगम’का अध्यक्षलगायत सिंगो टिम र पुस्तक सम्पादन, प्रकाशन तथा विमोचनमा आ-आफ्नो क्षेत्रबाट योगदान र्पुयाउने सबैलाई न्यौपानेले धन्यवाद दिएका छन् । यसैगरी ‘मुक्तकालय नेपाल’ का अध्यक्ष सुनिल अधिकारी, प्रकाशनमा सहयोग गर्ने वरिष्ठ साहित्यकारररंग कलाकार रमेश पौडेल तथा कभर डिजाइनर सौगात अधिकारीप्रति पनि कृतज्ञता व्यक्त गरेका छन् । सोहि कार्यक्रममा हिमा घर्तीको ‘सपनाको क्षेत्रफल’ समेत विमोचन गरिएको थियो । बेलायत छाडेर न्यौपाने ४ वर्षदेखि युएई दुबईस्थित ‘वी ड्रिम रियल स्टेट’ का प्रमुख कार्यकारी अधिकृत’ को रुपमा प्रोपर्टी व्यवसाय गर्दै आएका छन् ।