समाचार

काठमाडौँ–
पारिजात स्मृति केन्द्रको आयोजनामा यही वैशाख ११ गतेदेखि १५ गतेसम्म महिला पुस्तक प्रदर्शनी हुने भएको छ । पारिजातको २१ औं स्मृति दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाको सौजन्यमा राष्ट्रिय सभागृहमा पुस्तक प्रदर्शनी हुन लागेको हो । मंगलबार बिहान ११ बजे उद्घाटन हुने उक्त प्रदर्शनीमा महिलाको लेखन, अनुवाद, सम्पादन रहेका तथा महिलासम्बन्धी विषय र विधाका कृतिहरू राखिनेछ ।
पाठकलाई महिलाका पुस्तकतर्फ आकर्षित गरी महिला लेखनलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रदर्शनी हुन लागेको पारिजात स्मृति केन्द्रकी कोषाध्यक्ष साहित्यकार तथा समालोचक डा. बिन्दु शर्माले जानकारी दिइन् ।
शर्माका अनुसार यस प्रदर्शनीमा पुस्तक प्रकाशक र पुस्तक प्रकाशन तथा स्टेसनरी व्यवसायी सङ्घको संलग्नता रहनेछ ।
नेपालमा पहिलो पटक पारिजातको अग्रसरतामा २०४२ सालमा भारतीय पुस्तकालयमा महिला पुस्तक प्रदर्शनी सम्पन्न भएको थियो भने त्यसपछि पारिजात स्मृति केन्द्रको सक्रियतामा नेपाल पर्यटन बोर्डमा महिला पुस्तक प्रदर्शनी भएको थियो । गत चैतमा मात्रै ‘पिक्चर्स लाइब्रेरी’को आयोजनामा एक दिने महिला पुस्तक प्रदर्शनी सम्पन्न भइसकेको छ ।