‘तरकारी लैलो, तरकारी !’
बाथरुममा लुगा धोइरहेकी म, भउजीको आवाज सुनेपछि धोइरहेको लुगा हातबाटै फालेर बर्दलीतर्फ दौडिन्छु।
‘के तरकारी ल्यायौ भउजी तिमीले ?’
‘पालुङ्गो, गोऽपी ।’
‘कस्तो छ ?’
‘ठीकै छ ।’
‘कसरी ?’
‘पचास रुपैयाँ किलो ।’
‘घटाउन मिल्दैन् ?’
‘नाइँ, मिल्दैन ।’
‘किन ?’
‘खै, यस्तै रेट छ ।’
मेरो र भउजीको मोलमोलाइका लागि एउटैप्रकारले हुने संवादहरूमा उनको अन्तिम निष्पन्न जवाफ पछि मेरो मोलमोलाइमा कुनै असर पार्दैनथ्यो । ग्राहकबाट पाएको पैसालाई सुर्केथैलीमा कस्दै अनुहारमा अरूले चाल नपाउने स्वाभाविक गाम्भीर्य बोकेर आफ्नो बाटो लाग्थिन् भउजी ।
टेरिकटनको नीलो धोतीमा रातो रङको हर्कुलसको चित्र भएको पुरानो डन्डीवाल एट्लस साइकलको पछाडि तरकारी बाँधेर सधैँ आउँथिन् उनी । हाम्रा जीवनका कतिपय कुराहरू स्वतः चलिरहे जस्तै भउजीले तरकारी बेच्न आउने र मैले तरकारी किन्ने क्रमहरू चलिरहेकै थिए । संवादहरूमा तन्काइ थिएन तर भउजी र मेरो संवादरहित आत्मीयताको सम्बन्ध गाँसिएको सिलसिला भने दिन वा महिना मात्र नभएर वर्षभन्दा बढी नै भएको थियो ।
०००
त्यो दिन भउजी अलि ढिला गरेर आइन् ।
‘दिदी तरकारी लिने भए छिटो आउनूस् तल ।’
‘के छ र ? ’तल जान अल्छी लागेर मैले माथिबाटै सोधेँ ।
‘भान्टा र बोडी अलिकति बचेको छ ।’
‘खान त मन छैन, ल त्यै पनि जोख्दै गर न, म आउँछु ।’
म उनको नजिक पुग्छु । तरकारी जोखिरहँदा भउजीको हातबाट अचानक ढक तल झर्छ । झरेको ढक उठाउन उनी निहुरिन्छिन् । मैले उनी निहुँरिदा च्यातिएको चोलीबाट स्तनवरिपरि नीला डामहरू प्रस्ट देखेँ । शरीरको अन्य भागमा चिथोरेका राता टाटाहरू पनि थिए । पिँडुलामा घाउहरू बनेका थिए ।
मनलाई चिसो बनाइरहका ती दृश्यहरू सामान्य थिएनन् । म आफ्ना सशङ्कित नजर अन्यत्र पनि दौडाउँछु । भउजीका आँखाहरू सुन्निएका थिए । कृष्णवर्णको लाम्चो आकर्षक अनुहार आज सुषुप्त थियो । उनको कस्सिएको जिउमा लेहङ्गा खुकुलो भैरहेको थियो ।
तरकारीको टोकरी हातमा लिँदै म गेटभित्र छिर्छु । जाने आतुरता उनीपनि देखाउँछिन् । सधैँ‘खै’ मा जवाफ फर्काउने उनकोे स्वभावका कारण कुनै प्रश्न गर्न सकिनँ । तरकारी लिएर बहिरी भर्यांगबाट ममाथि आइसक्दा भउजी टुटेको पाइडल हुत्याएर गइसकेकी रहिछन् । ठाउँठाउँमा च्यातिएको लेहङ्गाको फेर साइकलको तिल्लीमा अड्किन्छ जस्तो लागिरह्यो । मैले आज भउजीसँग तरकारीमा मोलमोलाई गर्नपनि बिर्सेछु ।
भउजीलाई के भएको होला ? अड्कलबाजी गर्छु । पक्कै पनि राती श्रीमानले रक्सी खाएर रगतै खान तम्सेको सिंहझैँ झम्टेर शरीर लुछ्यो होला वा अरू केही कारण ! सोचेँ- अर्कोपटक सोध्नेछु ।
०००
त्यसपछि त्यो आवाज हाम्रो टोलमा आउन छाड्यो । धेरैपटक उनको आशामा छतसम्म पुग्थेँ । झ्यालबाट हेर्दथेँ । कता गइन्, के भयो होला भउजीलाई ? एकमनले सोच्थेँ- मैले भउजीलाई रोकेर उनको अवस्थाको कारण किन सोधिनछु ? घरको ठेगानाका बारेमा सोधेको भए पनि हुने नि ! एकदिन सोधेकै त हो क्यारे ! तर बिर्सेछु ।
हाम्रो टोलमा ‘तरकारी लैलौ’ भन्दै अर्की भउजी तरकारी बेच्न आउन थालिन् अर्थात पुरानीको स्थान नयाँ भउजीले लिएकी थिइन् ।
कतै बसाइँ सरेर अन्तै गइन् वा कतै संसारैबाट त गइनन् ? मनमा नराम्रा विचार आउनु एक प्रकारले स्वाभाविक थियो । समय बित्यो । केही समयको अन्तरालपछि पुरानी भउजीको सम्झना मेरो स्मृतिबाट धुमिलिँदै गएको थियो । उनको अवस्थाकाबारेमा बिस्तारै चासो पनि घट्दै गयो । सधैँ हतारमा चलिरहेका व्यस्त जिन्दगीका दिनचर्यामा कति अरूलाई मात्र सम्झेर बस्न सकिन्छ र ?
०००
फूलबारी जाने बाटोमा पर्ने मुक्त-कमैया बस्ती बसेको निकै समय भइसकेको थियो । त्यस बस्तीमा मुक्त-कमैया लक्षित परियोजनाको काम चलिरहेको थियो । आज बिहानै सोही कामविशेषले म त्यता गएकी थिएँ । त्यस बस्तीमा स-साना झोपडीहरू आपसमा टाँसिएका थिए । साँघुरो स्थानमा मानिसको सङ्ख्या भने बढी थियो । सिँगाने कलिला बालबालिकाहरू यताउता नाङ्गै खेलिरहेको थिए । थालमा भातमात्रै बोकेका बालबालिकाहरू भातको डल्लै मुखमा हालिरहेका थिए । वरिपरि झिँगाहरू रमाइलो मान्दै भन्किरेका थिए । प्रायः सबैले त्यहाँ सुँगुर पालेका थिए । सुँगुरलाई खान राखेको भात कुहिएर प्रदूषित भएको थियो । मेरो नाकमा त्यहाँको दुर्गन्धित हावा ठोक्किएर गयो । ती छाप्राहरूका बाहिर एउटा चौतारो थियो । त्यहीँ आसपासमात्र अलि खुकुलो स्थान थियो । थोरै काम सकेर म त्यो चौतारोमा बस्न जान्छु । त्यो समय चैतको महिना सुख्खा हुरी चल्ने समय थियो । हिजो पनि अचानक हुरी आउँछ भन्ने पूर्वसम्भावना मौसमले जनाइसकेको थियो । हुरीबतास आइहालेको खण्डमा कता जाने भन्ने डर मनमा पलाउँछ । पहिलोपटक यहाँ आएकी हुनाले कसैसँग चिनजान थिएन ।
यत्तिकैमा, एकजना कमजोर र जीर्ण शरीरकी महिला मेरो अगाडि आउँदै गरेको देख्छु । छिरबिरे रङको मैलो एकसरो धोती उसको शरीरमा बेरिएको थियो । खुट्टाहरू नाङ्गा थिए भने चाल असन्तुलित थियो । निकै समयदेखि नमिलाइएका कपालमा लट्टा परेका थिए । मेरो स्मृतिपटलमा गढिएर बसेको अनुहारसँग मिलेको अनुहार थियो त्यो अनुहार । त्यो अनुहार भउजीकै थियो । तर त्यस अनुहारमा हुने गरेको गम्भीर्य थिएन् ।
‘भउजी !’ अनायासै मेरो मुखबाट निस्किन्छ ।
मसँग तर्कंदै उनी अगाडि बढ्छिन् । अझ टाढा जान्छिन् ।
म चिच्याउँछु ‘भउजी भउजी !’
ती महिला मबाट टाढा पुगिसकेकी हुन्छिन् । लहरै बनेका झोपडीहरू मध्ये कुनै एउटा छाप्रामा पसिन् क्यारे । मैले उनलाई न त पछ्याउन सकेँ, न त ठम्याउन नै । म फेरि चौतारामै फर्केर बस्छु ।
एकजना अधबैँसे चौधरी महिला मतर्फ आइरहेकी देखेँ । १४-१५ वर्षकी युवतीलाई हात तान्दै कतै लगिरहेकी थिइन् । युवतीका प्रत्येक अङ्गमा यौवनको चिह्नहरू ओतप्रोत थिए । उसको अनुहारमा लाली लतपतिएको थियो तर यौवनको प्रकृतिक लालिमा भने झर्लाझैँ भैरहेको थियो ।
‘रात-रातभर कता जान्छे । कति धन्दा गर्छे । अब त गौना गरिदिने हो । आफ्नै ससुरालीमा गर्नु जे गरेपनि । मलाई त यस्को चालचलन खपिनसक्नु भैसक्यो । यस्को बापनि पोर इन्डिया काम खोज्न जान्छु भनेको अहिलेसम्म घर मरेको छैन ।’
तिनका वार्तालापले ती दुई आमा छोरी हुन् भन्ने बताइरहेको थियो । ती महिलाले भन्दै गरेको ‘धन्दा’ सामान्य धन्दा होइन भन्ने पनि मैले बुझिसकेकी थिएँ ।
‘दिदी ! एकछिन पर्खनू त !’ ती चौधरी अधबैँसे महिलालाई बोलाउँछु ।
‘के भयो र म्याडम ?’ मैले बोलाएपछि ती महिला म नजिक आउँछिन् ।
‘सुन न ! अहिले यताबाट जाने एकजना महिला कता गइन्, केही थाहा छ ?’
‘को रामकुमारी !’
‘खै नाम त थाहा भएन् ।’
‘किन म्याडम ?’
‘भेट्नुछ ।’
‘ए ल मेरो पछि आउनू न त !’
म तिनलाई पछ्याउँदै गइरहेकी हुन्छु । वरिपरि एउटा झुन्डमा महिलाहरू एकअर्काका जुम्रा हेर्नमा व्यस्त थिए । महिलाले मलाई बस्तीको छेउतिर नाली नजिकैको एउटा झोपडीभित्र लगिन् । त्यस छाप्रोको ढोकामा पातलो पारदर्शी पर्दा टाँगिएको थियो भने ठाउँठाउँमा प्वाल परेको छानो थियो । यसपालिको हुरीले छानो रहँदैन भन्ने पक्का थियो । कुनामा चुलोसँगै डेक्ची लडिरहेको थियो । दाउरामा माकुराको जालो थियो । बाँकी त त्यो स्थान धेरैकुराबाट रित्तो र खाली थियो ।
भउजी भित्तामा अडेस लाएर खुट्टा तानेर बसिरहेकी थिइन् । पर्दा खोल्दा प्रवेश गरेको उज्यालोले तिनलाई असहज भएको थियो ।
‘को हो ?’ उनले जुरमुराउँदै भनिन् ।
त्यस अनुहारलाई राम्ररी हेरेँ मैले । मैले ती आँखाहरूलाई चिनेँ ।
‘भउजी !’ म बोलाउने आँट गर्छु ।
केही नबोली उनी म तर्फ दृष्टि अड्याएर मेरो अनुहारको मध्यभागमा हेरिरहिन् । माानसिक विक्षिप्तताको लक्षण थियो त्यो हेराइमा ।
‘तिमीले तरकारी बेच्न छाडिसक्यौ ?’ भउजीतर्फ प्रश्न गर्छु ।
जवाफमा उनले मुखमा धोतीको फेर छिराउँदै टाउको झुकाइन् मात्र ।
‘रामकुमारी कहिले काहीँ मात्र बोल्छिन् म्याडम ।’ मसँग आएकी चौधरी दिदी बताउँदै हुन्छिन् ।
‘ए हो ! किन ?’
‘चार वर्ष भयो, यस्तै छ । यिनको दुर्भाग्यले यिनको जीवन बदलियो म्याडम । चर्चमा गएर प्रभुलाई प्रार्थना गर्दा पनि केही फरक भएको छैन ।’
‘किन दिदी ?’
‘यहाँ बस्तीमा हाम्रो जीवन पनि के जीवन । पहिले जातले ठग्या अनि कर्मले ।
यस्को पहिलेको लोग्ने इन्डिया काम गर्न गएको थियो, उतै बित्यो । एउटी दुई वर्षकी छोरीलाई छाडेर ।’ चौधरी महिला भन्दै थिइन् । म मूकदर्शक भएर सुनिरहेकी थिएँ ।
‘अनि ?’
‘केही समयपछि यसको टाढाको देवर नाता पर्नेसँग प्यार भयो । भागेर आई छोरीसहित । त्यसले दुई वर्षसम्म छोरी र यसको शोषण गर्यो म्याडम ।’
‘अनि !’
झोपडीमा मौनता । शून्यताले मेरो मनलाई चिथोरिरहेको थियो ।
भउजी मलाई देखेर उठिन् र घोसेमुन्टो लाएर थ्याच्च भुइँमा बसिन् । कैयौँ समयदेखि हाँसो बिर्सेका उनका ओठहरू कम्पित भइरहेका थिए । सायद केही भन्न आँतुर हुँदै थिए । आँसुले फाटेको उनको ब्लाउज पूरै भिज्दै गइरहेको थियो । स्तनहरू नाइटोसम्म लत्रिएका थिए । तिनमा कुनै अकर्षण गर्ने शक्ति थिएन बरु विकर्षण पैदा गराइरहेको थियो । आभा विनाको शरीर टिठलाग्दो बनेको थियो ।
‘अनि के भयो ?’ भउजीका बारेमा जान्ने मभित्रको आतुरता चरममा थियो मानौँ, म कुनै सिनेमाको दृश्य हेरिरहेकी थिएँ त्यहाँ ।
‘रक्सी खाएर यस्को र यस्को छोरीको बलात्कार गथ्र्यो । आफू मात्र होइन अरू दूरदूरबाट जन्ना ल्याउँथ्यो । ’म अवाक् सुनिरहेकी थिएँ ।’
‘एकदिन राती खै कति वेला धेरै मान्छे आए र यस्की छोरीलाई लगेर गए ।’
‘बस्तीका बस्ने तिमीहरूले विरोध गरेनौ ?’
‘बाहिरका मान्छेहरू थिए । कसैले बोल्न सकेन । रामकुमारी भने चिच्याइरहिन् । त्यसै दिनदेखि यी मरे सरह छिन् ।’
‘रामकुमारीकी छोरीलाई कता लग्यो केही थाहा भयो र ?’
‘अहँ ।’
‘पुलिसमा खबर गरेनौ तिमीहरूले ?’
‘पुलिसले के रक्षा गर्छ र म्याडम हाम्रो ? हामी ना कानुनको बात जान्छ हामी ना पुलिसको ।’
‘बस्तीमा कुनै घटना हुँदा त पुलिस आउँछ नि, बरु हाम्रै छोराहरूलाई त्यत्तिकै पक्रेर लैजान्छ । दुइचार दिन थुनामा राख्छ । फेरि छाडिदिन्छ । यस्को छोरीको बारेमा सोध्यो भने-‘तिमीहरू कति कचकच गर्छो मात्र भन्छ ।’
‘हामीलाई सरखारले मुक्त गरेको कति वर्ष भइसक्यो हेर्नू न ! के पाएका छौ यत्तिका वर्षसम्म ? एक बन्धनबाट मुक्त भएर अर्को बन्धनमा परेछौँ ।’ भउजीको सुक्कसुक्क गरिरहँदा मौनतालाई खुल्दै थियो । चोली र लेहङ्गामा चिटिक्क पर्ने भउजीको स्वरूपमा आकाश-पातालकै फरक भएको थियो ।
‘किन आएकी थियौ तिमी यस्तो राक्षससँग भउजी ?’
‘मान्छे कस्तो छ भनेर बाहिर कसरी थाहा लाग्छ ? जनमभर प्यार गर्छु भनेर जतायो । विश्वास गरेँ मैले छोरीको भविष्यका लागि आए । फेरि कहिलेकाहीँ मर्द चाहिने यस शरीरलाई कति सम्झाएर राख्न सक्थेँ । पटकपटक लुछिरहने इज्जत जोगाउन पनि त एउटा मर्द चाहिन्छ । कसैले प्यार जताएपछि शङ्का गर्न सकिनँ दिदी ।
कस्तो क्रन्दन-कुण्ठित स्वरमा बोलिन्- ‘जुन हालतमा पनि उसैका साथ आउन ठीक लाग्यो ।’
‘तिम्री छोरीको केही खबर छ ?’
‘खै कसैले बर्डरपार लगेर बेचेको छ भन्छन् । मैले कता गएर खोज्न सक्छु र उसलाई ? पासो लाउन पनि रस्सी छैन दिदी मसँग ।’
‘अनि तिम्रो तरकारीबारी ?’
‘मेरो थिएन त्यो, अँधियाको थियो । अब कस्का लागि बेच्नु ? मैले त थाहै नपाई सबैथोक त बेचिसकेछु दिदी ।’
पीडामा लतपतिएकी भउजी मतर्फ हेरिरहेकी थिइन् । त्यस हेराइले कुनै अस्फुट याचनाका भावाभेगहरू जन्माइरहेका थिए । बिल्कुलै निष्कपट यौवनबाट कत्ति छिटो रूपान्तरित भएको स्वरूप थियो त्यो । सहानुभूति जाहेर गर्नुबाहेक मैले केही गर्नसक्ने अवस्था थिएन । म बाहिर निस्कन्छु । सिमसिम बर्षात भइरहेको थियो । झोलामा छाता भएकाले झरीले भिज्ने डरबाट म सुरक्षित थिएँ तर भउजीको कहालीलाग्दो दुःखले शरीर र मन भिजिरहेको थियो ।
(शर्मा केही वर्षदेखि साहित्यमा निरन्तर कलम चलाउँदै आएका स्रष्टा हुन्)
[email protected]