समाचार

त्रिभुवनकै श्रेष्ठतम नारी जसमा निहित छ अदम्य शक्ति ।
ईश्वरले समेत उच्च स्थान दिई गरेका थिए जसको भक्ति ।।
ईश्वरसरी यस्ती परमपूजनीयलाई तिमीपनि पुजेर त हेर ।
लौ न कठै एकपल्ट ती वृद्ध आमालाई पनि बुझेर त हेर ।।
तिमीहरूलाई हुर्काउन ढिकी र जाँतो कुटोकोदालो गरिन् ।
शीत ताप आँधी बेहरीदेखि बचाउन ढाल बनि अघि सरिन ।।
ठिक त्यसैगरी तिमीपनि हरेक परिस्थिति सँग जुझेर त हेर ।
लौ न कठै एकपल्ट ती वृद्ध आमालाई पनि बुझेर त हेर ।।
छोराछोरी भोका रहन दिइनन् बरू आफैँ भोकै बस्थिन् ।
घामपानी केही नहेरी दिनहुँ मजदूरीमा कम्मर कस्थिन ।।
आफ्नो दुःखद बाल्य कालको इतिहाससम्म पुगेर त हेर ।
लौ न कठै एकपल्ट ती वृद्ध आमालाई पनि बुझेर त हेर ।।
दाइजोको निम्ति तिम्रा फुपु र आमैको धेरै उत्पीडन सहिन ।
कयौं अत्याचार सहेर पनि छोराछोरीकै निम्ति चुप रहिन् ।।
मातृ हितका निम्ति अब तिमीपनि अरूसँग झुझेर त हेर ।
लौ न कठै एकपल्ट ती वृद्ध आमालाई पनि बुझेर त हेर ।।
अरूका झैँ सुख सयल मोजमज्जा सबै तिलाञ्जली दिइन् ।
आफ्ना सन्तानको उज्वल भविष्यको हरपल चिन्ता लिइन् ।।
यो हालतमा वृद्धाश्रम हैन घरमै राख्ने उपाय सुझेर त हेर ।
लौ न कठै एकपल्ट ती वृद्ध आमालाई पनि बुझेर त हेर ।।
बिकाश दुलाल शर्मा
विश्वनाथ, असम, भारत