• २०८० असोज ९ मङ्गलबार

डा. पाण्डेको निबन्धकृतिमाथि अन्तरक्रिया

वि. सं. २०५४ मा स्थापना भएको ‘गुञ्जन’ले जेठ १५ गते डा. ज्ञानु पाण्डेको निबन्धकृति ‘जीवनको अभिनन्दन’को अन्तरक्रिया कार्यक्रमका सम्पन्न गर्यो ।
गुञ्जनकी अध्यक्ष कथाकार जलेश्वरी श्रेष्ठको सभापतित्वमा सञ्चालित सो कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ समालोचक प्रा. डा. गोविन्दराज भट्टराई र विशेष अतिथिमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति कवि डा. विष्णुविभु घिमिरे, नेपाल बालसाहित्य समाजका अध्यक्ष वरिष्ठ समालोचक प्रमोद प्रधान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व केन्द्रीय अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष कवि राधेश्याम लेकाली, निबन्धकार रञ्जना निरौला र कृतिका लेखक डा. ज्ञानु पाण्डे हुनुहुन्थ्यो ।

कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. गोविन्दराज भट्टराईले पाण्डेको प्राज्ञिक व्यक्तित्वको चर्चा गर्नुभयो भने विशेष अतिथि डा. विष्णुविभु घिमिरेले गुन्जनको स्थापनापछि नारी साहित्यकारहरू थप प्रोत्साहित भएको उल्लेख गर्नुभयो । समालोचक प्रमोद प्रधानले ज्ञानु पाण्डेका निबन्धहरूले जीवनको महत्वबोध, स्वअस्तित्वप्रतिको प्रेम र सकारात्मक चिन्तनलाई सुन्तलित भाषा र कलात्मक शैलीमा प्रस्तुत गरेको बताउनुभयो । निबन्धकार रञ्जना निरौलाले पाण्डेको पुस्तकमा बौद्धिकता, तार्किकता, चिन्तन, सकारात्मकता दार्शनिकता पाइने भनाइ राख्नुभयो । अध्यक्षको आसनबाट बोल्दै जलेश्वरी श्रेष्ठले गुञ्जनले आगामी दिनमा पनि विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने जानकारी दिनुभयो ।

गुञ्जनकी महासचिव सुस्मिता नेपालले सञ्चालन गर्नुभएको सो कार्यक्रममा सचिव सन्ध्या पहाडीले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा साहित्यकारहरु भागीरथी श्रेष्ठ, अञ्जना भट्टराई, इल्या भट्टराई, सुशीला देउजा, तुलसीहरि कोइराला, रजनी ढकाल, गीता कार्की, डा. रेणु थापा सोलु, राजेन्द्र के.सी, मञ्जिला अनिल, कमला रिसाल, समीर ढकाल, कल्पना खरेल, शान्त बस्नेत, सुलोचना मानन्धर, सीता विष्ट कार्की, राधा दुलाल कार्की, इलु शर्मा, विशाल पहाडी आदिको विशेष उपस्थिति थियो ।