सिरक ओढेर सुतेको छ आकाश
चिसो थपिएको छ संसारैभर
कतै कसैले उघार्न सकेको छैन आँखा
कसैले कतै छाम्न सकेको छैन एकार्कालाई ।
यति चिसो छ संसार कि
भर्खर कसैले आफ्नो मुटु छामेको छ ।
भर्खरै कतै एउटा गुड खसेको छ ।
भर्खरै कतै एउटा कुकुर भुकेको छ ।
भर्खरै कतै एकोहोरो शंख बजेको छ ।
एउटा अँध्यारो छ जमिनैभर
छायाँ हराएको छ आत्मबोधको !
एउटा चकमन्नता छ धरतीभर
घाँटी बसेको छ स्वविवेकको !
चराहरूले भनेका हुन्, गुहार गुहार !
ताराहरूले भनेका हुन्, बचाऊ, बचाऊ !
चङ्गाहरूले भनेका हुन्, नउडाऊ, गुजुल्टाऊ !
सोधौँ, बोल्दैन कोही
बोलाऔँ, सुन्दैन कोही ।
जान्दैन धरती, किन सुत्यो आकाश ?
भन्दैन आकाश, कहिलेसम्म सुत्नेछ ऊ ?
कोही भन्दै छ, अब घुर्ने छ आकाश !
कोही भन्दै छ, हेर, कोल्टे फेर्दै छ आकाश !
कोही भनिरहेछ, अब सपना देख्दै छ आकाश !
डर छ-
यति नै बेला ब्युँझिदियो भने आकाश ?
राजु झल्लु प्रसाद, नैकाप