• २०८१ माघ २ बुधबार

बुबा

दीपक चौलागाई

दीपक चौलागाई

हामी सानो छँदा
जब दशैं आउन शुरू हुन्थ्यो
बुबा आउने पलपल
हाम्रो लागि उत्सव हुन्थ्यो ।

गाउँको दशैं
नौलो भेष र परदेशको लवजमा
चौतारीमा गफ चुटिरहेको हुन्थ्यो
हाँडीमा धान भुटेर
ढिकीमा चिउरा कुटिरहेको हुन्थ्यो
चौर वा घरका पिंढीहरूमा
रहरको पिङ बाट्न जुटिरहेको हुन्थ्यो ।

पुरै गाउँ
थकाइको दरीमा निदाइरहेको बेला
विदेशी रेडियोमा
स्वदेशी गीत घन्काउदै
लाहुरेसंगै गाउँ फर्किरहेको हुन्थ्यो ।

लाहुरेफूलको मन्द मुस्कानसंगै
उमंगका रंगहरूले
सिंगो गाउँ रंगिसक्दा पनि
हामी भने आफ्नो दशैं पर्खिरहेका हुन्थ्यौं ।

बुबा आउनुभन्दा केही दिन अगाडि
लुगाफाटा र मरमसलासँगै
बल्ल आइपुग्थ्यो हाम्रो पेश्की दशै ।

फूलपातीको साँझ
घाम अस्ताएको डांडाबाट
स्वयं घाम जसरी उदाउनुहुन्थ्यो बुबा
र मुस्कुराउदै पस्नुहुन्थ्यो घरभित्र
बल्ल पस्थ्यो ढोकाभित्र
बुबासँगै हाम्रो दशैं ।

बुबा हुनु त दशै थियो !
बुबा गाउँमा हुँदा
गाउँभरीको दशै हाम्रै घरमा भेला हुन्थ्यो
जब बुबा काठमाडौं फर्कनु हुन्थ्यो,
हाम्रो दशैं पनि बुबासँगै
ढोकाबाट बाहिर निस्कन्थ्यो

कहिल्यै नओइलाउने
मुस्कानको फूल हुनुहुन्थ्यो बुबा
भन्नु हुन्थ्यो–
जतनले जोगाएर राख्नु आँसु
पछि काम लाग्छ,
बरू निस्फिक्री हाँस्नु
नत्र हाँसो
उमेरको रंगसँगै खुइलिएर जान्छ ।

बुबा स्वयं यसरी हाँस्नु हुन्थ्यो कि,
गाउँभरिको मुस्कान
उहाँकै ओठमा समेटिएको होस् ।
हाँस्दा बुबाका आँखा यसरी चम्कन्थे कि,
गाउँभरिको खुसी
उहाँकै आँखामा प्रतिबिम्बित होस् ।

जिन्दगीको पदमार्गमा
विश्वासको छहारी हुनुहुन्थ्यो बुबा ।
कर्तव्यको भारी बोकेर
जीवनको उकाली चढिरहेका भरियाहरू
वा टुंगोमा भारी बिसाएर
जीवनको ओराली झरिरहेका बटुवाहरू
विश्राम गर्ने साझा चौतारी हुनुहुन्थ्यो ।

बुबा त्यो गाडी हुनुहुन्थ्यो
जसलाई पुग्नु कहीं थिएन
केबल पुरयाउनु थियो
समयका प्रिय यात्रुलाई सुनिश्चित गन्तव्य ।

बुवा
सापेक्षिक ज्ञानको विश्वकोश हुनुहुन्थ्यो ।
हेरिरहुँ झैँ लाग्ने सुन्दर बिम्ब
पढिरहुँ लाग्ने परीकथा
सुनिरहुँ लाग्ने संगीतको धुन
र गुनगुनाइरहुँ लाग्ने गीतको लय हुनुहुन्थ्यो ।

बुबा सिद्धान्तमा “लोकतन्त्र”
र व्यवहारमा “समाजवाद” हुनुहुन्थ्यो,
समयको छरपस्ट उच्छ्वास टिपेर
सम्यक र एकीकृत आवाज बुन्नुहुन्थ्यो ।

समय लयमा चलिरहेको बेला
एक्कासी आयो दुर्भाग्यको आँधी
अचानक आएको आँधीले
भाँच्यो जीवनको हाँगा
घायल हुनुभयो बुबा
र समयको साँगुरो मोडमा पुगेर अडिनु भयो ।

समय, कहिले बाढी भएर आउँथ्यो
र विश्वासको बाँध भत्काएर जान्थ्यो
कहिले उकाली भएर आउँथ्यो
र सकसको भारी बोकाएर जान्थ्यो
कहिले हुरी भएर आउँथ्यो
र भरोसाको छानो उडाएर जान्थ्यो
कहिले पहिरो भएर आउँथ्यो
र शान्तिको पोखरी धमिलाएर जान्थ्यो ।

कहिले उदाउथ्यो नजरमा आशाको जुनेली
कहिले छाउँथ्यो आँखामा चकमन्न निराशा ।

बुबाका आँखाहरू
बालकका आँखा जस्तै निर्दाेष थिए ।
एकदिन
एकाएक बालहठ देखाउनु भयो बुबाले
र हामीलाई झुक्याएर
कहिल्यै नखोल्ने गरी बन्द गर्नुभयो आँखा
र धुवाँ हुनुभयो बुबा ।
हामीतिर हेर्दै नहेरी
चिम्नीबाट निस्केर
आकाशगंगातिर उड्दै–उड्दै जानुभयो ।

बर्षाैंदेखि
तिर्सनाको मरूभूमिमा
पूर्णताको मृगतृष्णा पछ्याइरहें
जब बुबा हुनु भएन
तब मात्र थाहा भयो पूर्णताको साँचो अर्थ
जतिबेला
पूर्णताको आधा हिस्सा
मबाट अलग भइसकेको थियो
बाँकी थियो
केबल अपूर्णताको आधा हिस्सा ।

बुबा हुनु त
जीवनमा मुस्कान हुनु थियो,
बुबा जाँदा मुस्कान पनि बुबासँगै गयो ।


दीपक चौलागाई