म केही दिनअघि संयुक्त राज्य इमिरेट्स्मा कोभिड– १९ लाई २९ दिनमा जितेर काममा फर्केकी एउटी महिलाको आत्मकथा प्रकाशित भएको थियो । कसरी उनी कार्यरत कार्यालयका माथिल्ला तहका हाकिमहरूले उनलाई कोरोनाविरुद्ध लड्न उत्साहित गरिरहे । कसरी स्वास्थ्यकर्मीहरूले उनमा आत्मबल सञ्चार गरिरहे र कसरी पटकपटक डाक्टरहरूले यो लडाइँ तिम्रो हो, नितान्त तिम्रो व्यक्तिगत लडाइँ हो र यसका विरुद्ध लड्न तिमीबाहेक अरू कोही हुँदैन तर यसमा तिमी सफल हुन्छौ भनेर भनेर आत्मबल बढाइरहे ?
यो पढ्दै गर्दा मथिङ्गलमा धेरैथरी विचारहरू रोटेपीङझैँ घुम्न थाले । कोभिड– १९ महामारी हो र यसको अहिलेसम्म कुनै निदान नभए पनि यसविरुद्ध सङ्घर्ष गरेर पार पाउन सकिन्छ भन्ने विभिन्न देशका घटनाहरूले पुष्टि गरेका छन् । हाम्रो देशमा पनि यसका केही उदारहणहरू बाहिर आएका छन् । खालि हामीले यसलाई बुझ्नुपर्छ । यसको प्रकृति र स्वभावलाई जान्नुपर्छ । यस कार्यमा सबैभन्दा प्रभावकारी भूमिका हुन्छ– जनचेतनाको । हामीकहाँ यसको टड्कारो अभाव छ । एक त कोभिड– १९ भनेको भाइरस हो र यसले मानिसको ज्यानै पनि लिनसक्छ भन्ने जानकारी विदेशबाट आएका हजारौँ नेपालीलाई थाहै छैन । उनीहरू क्वारेन्टाइनबाट भागेर घरमा सुत्न जान्छन् भन्ने समाचार भाइरल भइरहेका छन् । यसले तिनका परिवारलाई पनि असर गर्छ भन्ने जानकारी तिनीहरूमा छैन । जानकारी कसले गराउने ? जिम्मेवार तह र तप्का आफैँ विचलित मानसिकतामा देखिन्छ ।
तर लड्नु यथार्थ हो । हामीसँग यसको कुनै विकल्प छैन । अनुशासान र आत्मविश्वास यसको एक मात्र निदान हो, निर्विकल्प उपचार हो । यद्यपि अरूलाई उपदेश दिन सजिलो हुन्छ तर आफैँले व्यहार्नु कठिन हुन्छ । यो शाश्वत सत्य हो । मृत्यु कसैका लागि पनि प्रिय हुँदैन । अझ यस बेला अरू नै रोगको सिकार भएर मर्नु पर्दा परिवार, नातागोता, छरछिमेक र जीवनभर आफूले कमाएका प्रशंसक र शुभचिन्तकहरूले पनि साथ दिन नसक्ने अवस्था छ । सामाजिक दूरीका कारण विरामीलाई भेटेर सुस्वास्थ्यको कामना गर्नु त परको कुरा, उसको मलामीमा पनि सरिक हुननसक्ने बाध्यता छ ।
मृत्यु यति साह्रो अप्रिय भएको अनुभव हामी पहिलोपटक गरिरहेछौँ । उदाहरण दिग्गज गीतकार रत्नशमशेर थापाको निधनमा पनि उनका असङ्ख्य प्रसंशकहरू आर्यघाटसम्म पुगेर उनको पार्थिव शरीरलाई दुई थुँथा फूल चढाएर अन्तिम विदाइ गर्नबाट वञ्चित भए । उनको घरमा पुगेर उनका परिवारजनलाई समवेदनाका दुई शब्द प्रकट गर्न पनि ‘सामाजिक दूरी’ को नेल र हतकडीले रोक्यो । एउटा लामो कालखण्डपछि जन्मिने प्रतिभा थिए– रत्नशमशेर थापा । उनको शोक राष्ट्रिय रूपमा प्रकट गर्नुपथ्र्यो । उनलाई सामूहिक रूपमा श्रद्धाञ्जली दिनुपथ्र्यो । तर हामी ‘कोरोना–दूरी’ का करण यो गर्न पनि असमर्थ भयौँ । आ–आफ्ना घरबाटै मनमनै उनको आत्माको चिरशान्तिको कामना गर्न लाचार भयौँ ।
यसभन्दा पनि अघि कोरोना अवधिमै प्रसिद्ध आख्यान, पत्रकार एवम् सङ्गीत समीक्षक पिटर जे कार्थक बिते । कोरोनाको यही लाचारीवश हामीले हृखयबाटै उनको आत्माको चिरशान्तिको कामना ग¥यौँ ।
हामी अहिले कति लाचार छौँ भन्ने कुरा यी घटनाहरूले प्रस्ट पारेका छन् । यस रोगबाट देश र विदेशमा निधन हुने कैयौँ नेपालीका आमाबाबुहरू आफ्नो मृतक छोराको अनुहार हेर्न नपाई खरानी भएको वेदना खेपिरहेछन् । कैयौँ दिदीबहिनी र दाजुभाइहरू आफ्ना दिदीबहिनी र दाजुभाइको मुख अन्तिमपटक हेर्नसम्म नपाई परैबाटै विदाइका आँसु झार्न बाध्य छन् । सँगै बसेर रुँदा त अलिकति पीडा शमन हुन्थ्यो होला । तर सँगै रुन पनि नसकिने अवस्था छ । समयले लक्ष्मण रेखा कोरिदिएको छ– कोही, कसैलाई भेट्न पाउँदेन । अनि आफन्तको वियोगलाई आफ्नै छातीमा एक्लै बोकेर बन्द कोठाभित्र एक्लै रुनुपरिरहेछ । संयुक्त राज्य इमिरेट्स्की ती बहादुर महिलाजस्ता भाग्यमानी कति होलान् हामीकहाँ र कोरोनाको महामारीलाई फड्केर फेरि जीवनको धरातलमा पाइला टेक्न सकून् !
तर हामीले आत्मबललाई धरमराउन र अनुशासनलाई खलबलिन दिनु हुँदैन । हामीसँग भएको एक मात्र उपचार यही हो । हामीले बुझ्नुपर्छ– यो आफैँ हामीकहाँ आउँदैन, हामी स्वयम् यसलाई लिन जान्छौँ । कोरोनारोगलाई बुझ्ने यो तत्वज्ञान हो ।
यो नश्वर शरीर हो, एक दिन सबैले अवश्य मर्नुपर्छ । कोही पनि अजम्बरी बुटी खाएर जन्मेको हुँदैन । तर कोरोनाको ताण्डवले कसैको जीवन या मृत्युलाई सामयिक हुन दिएन । यो एउटा कटुसत्य हो, जुन हामीले विगत करिब तीन महिनायता दिनहुँ बोध गरिरहेछौँ ।
यति हुँदाहुँदै पनि अनादिकालमा पेन्डोराको बाकसबाट निस्केको ‘आशा’ आज पनि हामीसँग छ । त्यही आशाको भरमा हामीले यस कोरोनाभाइरसलाई पनि प्रतिकार गर्न सक्नुपर्छ । आशा, विश्वास र निर्भय मानिसका लागि जुनसुकै समय र परिस्थितिसँग सामना गर्ने अचूक अस्त्र हुन् । हामीले यसलाई जगाउनुपर्छ, यसलाई सशक्त बनाउनुपर्छ । कुनै विपत् पनि सदाकाल हावी हुन सक्तैन । यति बेला हामीलाई परास्त गर्न यो लुकीलुकी तारो हानिरहेछ । तर यसको अन्त्य पनि अवश्यंभावी छ ।
अहिले लकडाउनलाई केही खुकलो बनाइएको छ र समाजमा फेरि बिस्तारै जीवन जुर्मुराएको आभास भएको छ । हामी लकडाउन पूर्ण खुकलो हुने दिनको प्रतीक्षामा त्यही आशा, विश्वास र निर्भयताका साथ डटिरहने छौँं । यस प्रकोपबाट पार पाएका सहासीहरूले जस्तै एक दिन हामी यसको आखेटलाई भाँजेर जीवनको पुरानै लयमा फर्किने सङ्कल्प गर्छौं ।
यत्ति सम्झौँ– लबडाउन त शरीर भएको हो । हाम्रो मन–मस्तिष्कलाई कहिल्यै लकडाउन भएको थिएन, छैन र हुन दिनु पनि हुँदैन ।