• २०८१ असार २ शनिवार

दिव्य गिरीको दोस्रो कथासङ्ग्रह ‘ईश्वरको अनुहार’माथि अन्तरक्रिया

२०८१ जेठ २६ काठमाडौ,

शब्दपथद्वारा पुतलीसडकस्थित ग्रिनलिफ फुडमाआयोजित एक कार्यक्रममा साहित्यकार दिव्य गिरीको दोस्रो कथासङ्ग्रह ‘ईश्वरको अनुहार’माथि अन्तरक्रिया सम्पन्न गरिएको छ । कथासंग्रह ‘ईश्वरको अनुहार’ नै सभापति बनाइएको उक्त कार्यक्रमका प्रा.डा. गोविन्दराज भट्टराई प्रमुख अतिथि तथा अन्य विशिष्ट अतिथिहरू प्रा.डा. सुरेन्द्र के.सी., कथाकार सनत रेग्मी, कथाकार किशोर पहाडी, साहित्यकार भवानी खतिवडा, अनिता कोइराला, प्रा.डा. अञ्जना वस्ती भट्टराई तथा शारदा साहित्यिक मासिकका सम्पादक तथा कवि विमल भौकाजी रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. भट्टराईले कथाकार दिव्य गिरीसँग आफ्नो कार्यगत सम्बन्ध रहेको बताउँदै गिरीका कथाहरू उत्कृष्ट भएकाले आफूले पुस्तकमा भूमिका समेत लेखेको बताएका थिए । गिरीका कथाहरू मूल्यवान छन् भन्दै उनले गिरीलाई निरन्तर साधनामा लाग्न सुझाव समेत दिएका थिए ।
कार्यक्रममा प्रा.डा. सुरेन्द्र के.सी., कथाकार सनत रेग्मी तथा सम्पादक विमल भौकाजीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा कथाकार किशोर पहाडीले आफ्नो पाठकीय मन्तव्यमा आफ्नो भागमा परेका पाँच वटा कथाहरू ‘सनाखत’, ‘मुक्ति ‘, ‘फोटो’, ‘परिवर्तनपछि बिर्खबहादुर’ र ‘अज्ञात समूह”का बारेमा चिरफार गरेका थिए । २०३६ सालको अभिव्यक्तिको पूर्णाङ्क २१ मा प्रकाशित ‘रहर’ कथाबाट कथा लेखन यात्रा शुरू गरेका दिव्य गिरीले २०६१ मा ‘अनामिका’कथासङ्ग्रह निकालेको देखिन्छ भने दोस्रो कथासङ्ग्रह’ईश्वरको अनुहार’लिएर आएकोमा बधाई पनि दिएका थिए ।

उनले पाँचै वटा कथाहरू माओवादी द्वन्दका बेलामा भएका घटनाहरूलाई लिएर लेखिएको बताउँदै ‘सदागत’, ‘मुक्ति’,र अज्ञात समूहमा एकै किसिमको कथावस्तु रहेको बताएका थिए भने ‘मुक्ति’आफूलाई मन परेको उत्कृष्ट कथा भएको कुरा पनि बताएका थिए। दिव्य गिरीको कथामा पुरानै शैली र प्रस्तुति भए पनि रोचक भएको बताउँदै उनले गिरीले कथामा आधुनिक कथाका गुरु गुरुप्रसाद मैनालीको शैली नै पछ्याएको बताएका थिए। आफू समालोचक नभई पाठक मात्र भएकोले एकै खालका कथाहरू पाठकलाई नपच्ने हुँदा लेखनमा विविधता ल्याउन सुझाएका थिए । पुस्तक कि वक्ता भवानी खतिवडाले कथासङ्ग्रहभित्रका ‘ईश्वरको अनुहार’, ‘मनमायाको बयान’, ‘सपनाकी फेवा’, ‘भीरको उत्तिस’ र ‘कालो झोला’माथि आफ्नो पाठकीय मन्तव्य राख्दै २०५९ देखि २०७९ सम्मका कथाहरू एकै रसको एकै रफ्तारको भएको साथै ‘ एक उत्कृष्ट सन्देशमूलक कथा भएको बताएकी थिइन् ।

वक्ता अनिता कोइरालाले ‘निरूत्तर’, ‘झरी, ‘तीज र तिलहरी’, ‘तरङ्ग’, ‘भ्रम’ र ‘छत्तीस नम्बर’माथि आफ्नो पाठकीय मन्तव्यमा स्वस्थानी ब्रतकथाको प्रसङ्ग उठाउँदै ईश्वर खोज्ने क्रममा ‘ईश्वरको अनुहार’ पुस्तक हातमा परेको र त्यसमाथि मन्तव्य दिन पाउँदा खुसी लागेको बताइन् । ईश्वरको अनुहार पढेपछि ईश्वर भेटिन्छ भन्दै उनले गिरीका कथाहरू यथार्थ धरातलमा रहेको बताइन्। साथै, उनले कथाले पाठकलाई बाँधेको छ र कथाको समाप्ति नै हुँदैन भन्दै कथामा साहित्य मात्र नभई पर्यावरण,धर्म र मनोविज्ञान पनि रहेको बताएकी थिइन् ।

अन्तिम वक्ता प्रा. डा. अञ्जना वस्ती भट्टराईले कथा ‘प्रेमपत्र’, ‘गुलाम’ र ‘छुटेको साथी’माथि आफ्नो पाठकीय मन्तव्य राख्दै छत्तीस नम्बरको कथा प्रतिशोधको कथा भएको र अन्य कथाहरू विषयवस्तु, शैली र प्रस्तुतिमा नयाँ रहेको बताइन् ।