हे भानु !
हटाऊ मनको कालो बादल
उठाऊ अज्ञानताको घुम्टो
पन्साऊ अनेकताका रेखाहरू
मिलाऊ अनेकतामा एकता
लेख फेरि सीता र रामका गाथाहरू
बाँध एउटा नभत्किने सेतु
किनभने अब फेरि खन्नु छ
तिर्खाएका काकाकुलहरूको प्यास बुझाउने
भावनाका इनारहरू ।
धेरै खनिए काव्य र साहित्यका कुवाहरू
कविताका धारा र पाटी पौवाहरूको त हिसाब छैन
तर छन्द र अलङ्कार अनुप्रास र विभक्ति
सन्धि र विच्छेद
बर्खा सितै सुक्यो,
अर्को हिउँदमा
हलन्त र विसर्गलाई
बेहोस पार्ने
इन्द्र जीत फेरि देखा पर्ने छ ।
हे रवि !
अझै एउटा हनुमान जन्माउन
पवन बन, नभएपनि
कम से कम विभीषण त बन
अनि इनार खन्न लगाऊ
सुमेरु पर्वत निर्माण गर
चाहे त्यहाँ सञ्जीवनीबुट्टी होस् या नहोस् ?
हे कवि !
कागज र पर्चीमा बनिए
अनगिन्ती पाटी, फलैंचा र ढुङ्गेधाराहरू ,
रामसेतु, निषाद नरेशको नौका १
तर सोध्ने र खोज्ने को ?
रामायण, प्रश्नोत्तर र बधूशिक्षा लेखेँ भनेर
हल्ला मच्चाउनेहरूको कमी पटक्कै छैन
तर,
के आजका बधूहरूले ,
तिमीले दिएको शिक्षा
तिमीले तारापतिकी श्रीमतीका घरमा बास बसेर
लेखिदिएको त्यो विशालकाय बधूशिक्षा
अङ्गीकार गरेर पढ्दै छन् त ?
यसैले बिन्ती छ भानु
एकपल्ट तिमी प्रत्यक्ष ब्ल्याक एन्ड ह्वाइट (बनेर आऊ)
अर्को रामायण रचना गर
तर अब तारापतिका घरमा होइन,
कमलापति अथवा सूर्पणखाकै घरमा
बास बसेर
बधूशिक्षालाई आधुनिकीकरण गर
राम र सीतालाई
बनवास नजाने करारनामा गर
किनभने यहाँ अब
रामराज्यको आवश्यकता छ ,
किनभने यी सुकामहरू गर्न सक्ने क्षमता
तिमी बाहेक अरूको छैन् ।
हे प्रकाश पुञ्ज !
के तिमीलाई थाहा छ ?
सीताले वर्षौँ रामलाई पर्खिएर बसेको रूख
कहाँ छ ?
बिहानै पिच्छे सीताले स्नान गर्ने पोखरी
कता पुग्यो ? कसले सुकायो ?
मर्यादा पुरुषोत्तमले पठाएको चिनो लिएर गएका हनुमानले
खाएका अम्बक, आरू, अङ्गुर र मेवा /मिष्टान्नका फलफूल त
रावणले निर्माण गरेका अट्टालिकाका
कौसी र छतमा मात्र सीमित छन् ।
हे अन्धकार नाशक !
सेताम्मे हिमनदीहरू बिलाएर
घर घरमा पुगिसके ।
प्रत्येक गाउँ कान्तिपुरी भएको छ
अवलाहरू चपला भएका छन्
छायाँ प्रकाश बनेको छ,
अशोकको वाटिका र बन/जङ्गल
नानीहरूको कल्पनाको खातामा
राता/सेता,हरिया/पहेंला र गुलाबीभएर
सजिएर बसेका छन् ।
हे भानु !
तिमी अब
तेह्र जुलाई र उनन्तीस असारमा मात्र होइन
प्रत्येक दिन, प्रत्येक साँझ र
बाह्र महीना चौबीसै घण्टा
हाम्रा पुस्तकालय र अध्ययन कक्षमा पसिदेऊ
सबैका हातहातमा रामायण र राम/सीता बनेर
मानवता र अमानवताको
रावण र बालिको कथा
दशरथ र राजा जनकको सूत्रधार बनेर
कैकेयी, कौशल्या र सबरी
राजा दशरथ र जनक नरेशको
सम्बन्ध बाँधिदेऊ
किष्किन्धार अयोध्याको
पाठ लेखिदेऊ ।
हे प्रकाश पुञ्ज, काव्यधाराका असीमित थोपा
आऊ एक पल्ट फेरि
राम र रावणको
लक्ष्मण र भरतको
जामामन्त र सुग्रिवको
मानवता र अमानवताको
तिम्रो भाषामा
नयाँ लालित्य छरिदेऊ !
गीताश्री शर्मा, गान्तोक, सिक्किम