• २०८२ बैशाख ७ आइतबार

उत्तम शान्ति पुरस्कार रोशन शेरचनको ’गल्ली संसार’लाई

काठमाडौँ ।

गैरआख्यान कृतिका लागि प्रदान गरिने प्रख्यात पुरस्कार उत्तम शान्ति पुरस्कार- २०८० निबन्धकार रोशन शेरचनको निबन्ध संग्रह ’गल्ली संसार’लाई प्रदान गरिने भएको छ । उत्तम शान्ति पुरस्कार गुठीको आज बसेको बैठकले उक्त निर्णय गरेको हो । पुरस्कारको राशि एक लाख रुपैयाँ तथा ताम्रपत्र रहेको छ । कविता र निबन्ध विधामा कलम चलाउने रोशन शेरचन (विद्यावारिधि, वातावारणीय विज्ञान) को गल्ली संसार छैटौं साहित्यिक पुस्तक हो । यो निबन्ध संग्रहको भाषा मनमोहक छ । निबन्ध विधाको मर्मअनुसार आकर्षक शैलीमा लेखिएको छ । पुस्तकलाई वैचारिकी, पर्यावरण, स्मृति र यात्रा गरेर चार खण्डमा तयार गरिएको छ ।

विचारखण्डमा साहित्य, विज्ञान, समाज, व्यवस्था र प्रविधिको अन्तरसम्बन्धबारे १४ वटा निबन्ध लेखिएको छ । पर्यावरणीय खण्डमा वन, वन्यजन्तु, वातावरण र साहित्य गरेर ८ वटा रोचक निबन्ध लेखिएको छ । होमोस्यापियन्सको उद्भवमा होमोइरेक्टसको योगदानदेखि कला र विज्ञानको अन्तरसम्बन्ध यो खण्डको प्रमुख विशेषता हो । स्मृति संझ्यालमा लेखकले भोगेका घटना, भेटेका पात्र र स्थान विशेष समेटिएको छ । स्मृतिले आफूमाथि परेका विविध प्रभाव सुललित शैलीमा लेखिएको छ । यसमा १२ वटा अर्थपूर्ण निबन्ध संग्रृहित छन् ।

यात्रा र यात्राहरु खण्डमा धार्मिक, सांस्कृतिक, पर्यटकीय, सह अस्तित्व तथा स्थान विशेषका नियात्राहरु समाबेश छन् । यात्रामा अनुभूत गरेका भाव र विचारहरु यस खण्डमा समेटिएको छ । यस खण्डमा पाठक स्वयम् पुस्तकसँगै यात्रा गरेको अनुभूत हुन्छ । यसमा १४ वटा यात्रा साहित्य निबन्धपरक शैलीमा लेखिएको छ । पुस्तक बुकहिल प्रकाशनले बजारमा ल्याएको हो ।