धेरै दिन भए सहरमा सन्नाटा छाएको छ
जता हेर्याे त्यतै मास्कैमास्कको सुनामी छ
आधा अनुहार मास्कपछाडि लुप्त छ
केवल आतङ्कग्रस्त देखिएका आँखाहरूमा मात्र
एउटा विशालकाय प्रश्नचिन्ह प्रतिविम्बित छ
आज चिनेको मान्छे पनि अपरिचित छ
चिने पनि नचिनेको जस्तो गर्छ
घर–करेँसातिर भेटिने मानिस पनि
रङ्गीबिरङ्गी मास्कको पछाडि लुकेर
छुवाछुतको भयले खुत्रुक्कै भइरहेको आभास
उसका आँखाका फैलिएका पुतलीहरूमा
छर्लङ्ग दृष्टिगोचर हुन्छ
आज मानिसको आपसको सामाजिक निकटता
छ फिटको दूरीमा जकडिएको छ
आज मुखले होइन आँखाले मात्र कुरा गर्नुपर्छ
आँखाले नै विरोध देखाउनुपर्छ
आँखाले नै सहमति जनाउनुपर्छ
मनका सारा उत्कण्ठा र उत्पीडन
आँखाबाट अविरल निस्कने
आँसुको महाकालीमा डुबाउनुपर्छ
बाह्रै घन्टा पतरपतर बोलिरहने मान्छे
एकाएक मुखमा मास्क लगाएर मूक भएको छ
जो जति आफ्नो आवाज बेचेर खाने गर्छन्
आज तिनैको आवाज कौडीको भाउमा बिक्तैन
आज आवाज होइन दृष्टि बलियो भएको छ
आज एकोहोरो र अनिमेष हेराइ व्यक्तिको पहिचान बनेको छ
आज देशका प्रमुख नाकाहरूमा मास्कैमास्क लगाएका
हजारौँहजार मानिसको समुद्र फैलिएको छ
न यता, न उता दसगजाभित्र कोरोनाको व्याधि बोकेका
उदास र हताश आँखाहरू
आफ्नो माटोमै विसर्जित हुन सङ्घर्षरत छन्
मास्कपछाडिको अनुहारमा फैलिएका
अनगन्ती क्रन्दनहरू
मास्ककै सुरुङभित्र थुनिएका छन्
अब त यस्तो लाग्छ
यस मास्कको महासागरमा
एकछेउदेखि अर्को छेउ चिप्लेटी खेल्दै
एक किनारादेखि अर्को किनारासम्म फ्रिस्टाइल पौडी खेल्दै
कोरोना दिग्विजयतिर फाड्दोल ठोकिरहेछ
हातमा विशालकाय मास्कको रङ्गीचङ्गी झन्डा बोक्दै ।
_______________________________________________________
(हाल : मेरिल्यान्ड, अमेरिका / निरोला स्थापित आख्यानकार, पत्रकार हुन् )