भक्तपुर, वैशाख २३ गते ।
विराट साहित्य सम्मेलन गुठीको १७ औँ प्रकाशन सुलोचना सैंजु जोशीको कविता सङ्ग्रह ‘क्वाजः दुनेया जिगु सासः’ (न्यानोपनभित्रको मेरो श्वास) शनिबार भक्तपुरमा विमोचन भएको छ । महेन्द्रगोपाल कर्माचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि डा. योगेन्द्र प्रधान, गुठीका अध्यक्ष कर्माचार्य, नेपाल कला मन्दिरका अध्यक्ष तिलकप्रसाद कायस्थ, वरिष्ठ कवि प्रतिसरा सायमी, रामशेखर नकःमि प्रतिष्ठानका अध्यक्ष नगेन्द्र हाडा र गुठीका सल्लाहकार त्रिरत्न शाक्यले सामूहिक रूपमा विमोचन गर्नुभयो ।
कृतिकार सैंजुले जीवनमा भोगेका दुःख, पीडाकासाथै मार्मिक विषयवस्तुलाई सङ्ग्रहभित्र समेटिएको समीक्षक कवि सायमिले बताउनुभयो । विमोचित सङ्ग्रहका ३५ कवितामध्येबाट अमिर मैया रञ्जित, रत्ना लक्ष्मी भैल र सुचिता सैंजुलगायतले कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा प्रेमशोभा प्रजापति, कृतिकार सैंजु र सञ्जय कपालीले सीतार र तबलाद्वारा साङ्गीतिक प्रस्तुति दिनुभयो ।
त्यसै गरी नेवास् हाइकु ख्यः ले गोरखापत्रका पूर्व प्रधान सम्पादक स्व। श्याम सुन्दर सैंजुको हाइकु सङ्ग्रह ‘हाइकु किचः’ पूर्व न्यायाधिवक्ता कल्याण श्रेष्ठले महान्यायधिवक्ता कार्यालयको हलमा विमोचन गर्नुभयो । कार्यक्रममा नेवास् हाइकु ख्यःका अध्यक्ष सुरेश प्रधानले हाइकुकार सैंजु पत्रकार, शिक्षकका साथै बहुआयामिक व्यक्ति भएकोले उहाँलाई राष्ट्रले सम्मान गर्नुपर्ने बताउनुभयो ।